पथरीशनिश्चरेको हरियालीले नयाँ बर्षबाट पर्यटन भित्र्याउने

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा स्थापित पर्यापर्यटन क्षेत्रमा आगामी नयाँ बर्षदेखि पर्यटक भित्र्याउने योजना पास भएको छ ।

हरियाली सामुदायिक वन पब्लिक लिमिटेडको सोमबार आयोजित दोस्रो वार्षिक साधारण सभाले आगामी २०७९ बैशाख १ बाट आन्तरिक पर्यटकहरुको लागि खुल्ला गर्ने निर्णय भएको छ ।

कार्यक्रममा पथरीशनिश्चरे नगर प्रमुख दिलिपकुमार राईले हरियाली सामुदायिक वनमा बन्न लागेको पर्यटन क्षेत्रले नगरमा सबैभन्दा ठूलो आम्दानीको स्रोत बन्ने बताए । बिदेश भिजिट हङ्कङ जाँदा बिग बुद्ध लगायत र पूर्बी नेपालको बिभिन्न स्थान घुमेको अनुभव सुनाउँदै हरियालीमा बन्न लागेको पर्यटन क्षेत्रको उच्च संभावना रहेको बताए ।

सभामा हरियाली सामुदायिक वन पब्लिक लिमिटेडका अध्यक्ष अशोककुमार राईले बार्षिक प्रगति र भावि कार्ययोजना पेस गरेका थिए ।
शेयरधनीबाट संकलन भएको रकम र संघीय सरकार संस्कृति, पर्यटन नागरिक उड्ययान मन्त्रालयबाट परेको दुबै गरी चार करोड १६ लाखको लागतमा स्वीमिङ पुल, शौचालय, बोटिङ पोखरी, प्रवेश द्वार, सुरक्षाको लागि प्रहरी विटलगायतको १२ प्रकारको भौतिक संरचना निर्माण भइरहेको छ ।

साधारण सभामा शेयरधनीहरुले आम्दानी हुने काम तुरुन्त सुरु गर्न माग गरेपछि काम तीव्र रुपमा गराएर आगामी नयाँ वर्षमा पर्यटकको लागि खुल्ला गर्ने लक्षसहित कम्पनी अघि बढ्ने अध्यक्ष अशोककुमार राईले बताए ।

साधारणसभामा हरियाली सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष काबुलबहादुर मगर, पथरी उद्योग वाणिज्य संघका अध्यक्ष धनकुमार तामाङ, नगरपालिका ३ नम्बर वडा अध्यक्ष डम्बर चेम्जोङ लिम्बू, कम्पनीको पूर्ब अध्यक्ष देवि भेटवाल लगायतले शुभकामना दिएका थिए ।

कम्पनीमा ८६१ जना शेयर सदस्यहरु रहेका छन् । २० करोड अधिकृत पुँजी रहेको कम्पनीले पहिलो किस्ता एक करोड संकलन गरी पर्यापर्यटन क्षेत्र विकासमा लागेको हो । शेयरधनीहरुबाट आवश्यकता अनुसार पाँच किस्तामा रकम संकलन गर्ने योजना बनाएको छ । पहिलो किस्ताबाट काम भइसक्न लागेकोले दोस्रो किस्ता संकलन गर्न प्रकृया सुरु गरिने कम्पनी संचालक समितिको सदस्य गणेश बाछना राईले बताए ।

सोमबार, २० मंसिर, २०७८, साँझको ०७:०४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर