म सरकारी प्रकोपमा परें : गुरु घिमिरे

विराटनगर । नेपाली कांग्रेसको प्रदेश १ अधिवेशनबाट अध्यक्षमा २ मतले पराजित भनिएका गुरु घिमिरेले आफू सरकारी प्रकोपमा परेको बताएका छन् ।

संचारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । घिमिरेले आफूविरुद्ध सरकारी शक्ति नै प्रयोग भएको आरोप लगाए । ‘म सरकारी प्रकोपमा परें,’ उनले भने ‘आन्तरिक प्रतिष्पर्धामा राज्यशक्तिको यो हदको दुरुपयोग गलत हो ।’

उनले पुनः मतगणना हुनै पर्नेमा जोड दिएका छन् । ‘खसेको मतमध्ये मेरो २ मत कम देखियो, भनियो । मलाई यसमा चित्त बुझेको छैन । निर्वाचन आयोगलाई पुन गणनाका लागि माग गरेको छु । आयोगले सकारात्मक कुरा गरेको छ’, उनले भने, ‘भोट हाल्न नआएका ५१ जनाको बारेमा चर्चा गर्नु निरर्थक छ । के कारणले भ्याउनुभएन । मेरो माग भनेको पुन मतगणना हो ।’

मतगणनामा कमि–कमजोरी भएको हुनसक्ने भन्दै उनले पुनः मतगणनापछिको परिणाम सहजै स्वीकार गर्ने बताए । ‘त्यहाँ केही कमि कमजोरी भएको हुनसक्छ भनेर मलाई साथीहरूले भनेका छन् । फेरि पनि गणना गर्दा उहाँको मत बढी देखिए म सहजै स्वीकार गर्छु’, उनले भने । नेता घिमिरेले मतदानमा सहभागी नभएका ५१ जनाको बारेमा चर्चा गर्नु निरर्थक रहेको भन्दै पुनः मतगणनाको माग गरेका छन् ।

उता केन्द्रीय सदस्य शेखर कोइरालाले प्रदेश नम्बर १ को अधिवेशनमा मतदान नगरेकोमा क्षमा मागेका छन् । प्रदेश अधिवेशनमै गएका पौडेल पक्षका शीर्ष नेताहरूले घिमिरेलाई मतदान गरेका थिएनन् ।

प्रदेशस्तरसम्म केन्द्रीय नेताहरूले मतदान गर्न पाउने वा नपाउने विषयमा प्रष्ट नहुँदा आफूले मतदान नगरेको कोइराला बताउँछन् । ‘कांग्रेस १४ औं महाधिवेशनमा प्रदेशस्तरसम्म केन्द्रीय नेताहरुले मतदान गर्न पाउने वा नपाउने विषय शुरु देखि नै ‘संशय’ थियो । कानुनी परामर्शबाट मतदान गर्दा भविष्यमा जटिलता आउन सक्ने बुझियो,’ उनले ट्वीट गर्दै भनेका छन्, ‘तसर्थ मतदान नगर्नु उपयुक्त ठानेँ । यसक्रममा मबाट भएको कमजोरीप्रति सचेत रहँदै गल्ती भए क्षमाप्रार्थी छु ।’

कांग्रेस प्रदेश अधिवेशनमा प्रदेश सभा क्षेत्रीय प्रतिनिधि, महाधिवेशन प्रतिनिधि, सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य, भातृ तथा शुभेच्छुक संघसंस्थाका प्रमुख मतदाता रहने विधानको व्यवस्था छ ।

सोमबार, २० मंसिर, २०७८, साँझको ०५:३६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर