विराटनगर । पार्टी सभापतिको उम्मेद्वार घोषणा गरेर देशदौडामा रहेका कांग्रेस नेता शेखर कोइरालाको भूमिका प्रति कार्यकर्ता नै रुष्ट बनेका छन् । आफ्नै जोडबलमा आफू निकटका नेता तथा कार्यकर्तालाई चिढ्याउँदै प्रदेश १ का सभापतिको उम्मेद्वार बनाइएका गुरु घिमिरे पराजित भएसँगै यहाँ कोइरालाको आलोचना तीब्र बनेको छ ।
त्यति मात्रै होइन आफूले नै उठाएको उम्मेद्वार घिमिरेलाई शेखर कोइराला, सुजाता कोइराला र महेश आचार्यले भोट समेत नदिएको निर्वाचन समितिले पुष्टिसमेत गरेपछि उनै पक्षधर कार्यकर्ता रुष्ट बनेका छन् ।
दुई भोटले पराजित बनेका घिमिरेलाई उनीहरु तीनै जनाले भोट दिएका थिए भने जित्ने थिए । तर मतदानमा सहभागी नै नभएर आफ्ना उम्मेद्वार पराजित गर्न उनै तीन नेता लागेको पुष्टि समेत भयो ।
‘देउवा पक्षले जितका लागि सभापति पद नै सिटौला पक्षलाई सुम्पिए, चर्चित मेयर फागोलाई समेत ताने, तर ईतर पक्षले पहिले नै तय भईसकेको भनेर चर्चित र सफल नेताहरुलाई पाखा लगाए, आफ्नै पक्षका कुरा मान्न तयार भएनन्,’ कांग्रेस कार्यकर्ता तथा प्रदेश प्रतिनिधि डाक्टर बालकृष्ण साहले भने, ‘जसको परिणाम हाम्रा सामुन्ने छ ।’
अधिवेशन उद्घाटन समारोहमा प्रदेश १ कांग्रेस संसदीय दलका नेता राजिव कोइरालाले नेताहरुप्रति तीब्र आक्रोश व्यक्त गरेका थिए । सोही आक्रोशको परिणाम मतमा पनि देखियो । शेखर, सुजाता र महेश जस्ता शीर्ष भनिएका नेताहरुले आफ्नै समूहमा राम्रो तालमेल गर्न सकेनन् ।
दुई मत अन्तरले उद्धव थापासँग पराजित घिमिरेले पुनः मतगणनाको माग गर्दै निर्वाचन समितिमा निवेदन दिएका छन् तर, यसबारे केन्द्रले टुंगो गर्ने छ । झापाका थापाले ८४४ मत प्राप्त गर्दा गुरुले भने ८४२ मत मात्रै पाए ।
संस्थापन पक्षका नेताहरु उपसभापति विजय गच्छदार, कृष्णप्रसाद सिटौला, अमृत अर्याललगायतले मतदान गर्दा निर्वाचनस्थलमै रहेका शेखर, सुजाता र महेश आचार्यले मतदान गरेनन् । कार्यक्रममा उपस्थित नेता बलबहादुर केसी पनि मतदानमा सहभागी भएनन् ।
नेपाली काँग्रेस प्रदेश १ सभापति पदमा घिमिरेलाई उम्मेद्वार बनाउन डा. शेखर कोइरालासहितका नेताहरु जोडतोडले लागेका थिए । तर, उनको उम्मेद्वारलाई पराजित गर्ने रणनीतिमा एकाकार भएका कृष्ण सिटौला, विजय गच्छदार, अमृत अर्याल सफल देखिए ।
आफ्नै उम्मेद्वारलाई शीर्ष नेताले मतदान नगर्दा अन्ततः गुरु पराजित भएको भन्दै कार्यकर्ताले रोष प्रकट गरिरहेका छन् । ‘गच्छदार, सिटौला सबैले भोट हाल्दा हाम्रा नेताहरु ठूलो मान्छे भएर मतदानमा नआउनु आपत्तिजनक रह्यो,’ कोइराला समूह मोरङका एक नेताले भने, ‘यो एकदमै अराजनीतिक र अपरिपक्व कदम थियो ।’
मतदान हुने दिन शनिबार बिहान महेश आचार्यले आफ्नै निवासमा पत्रकारहरुसँग कुरा गर्दै उपसभापति पदमा उम्मेद्वारी घोषणा गरेका थिए । लगत्तै उनी काठमाडौं हानिएका थिए । प्रदेश १ मा पौडेल कोइराला पक्षधरको बर्चश्व भनिए पनि अत्याधिक विश्वास र जितिहालिन्छ नि भन्ने दम्भका कारण सो पक्ष पराजित बनेको छ । कोइराला पक्षको व्यवहारकै कारण नेतृत्व हस्तान्तरण र सशक्त उम्मेद्वारलाई जिताउनु पर्छ भन्ने जनमत पराजित हुन पुगेको छ भने गुरु घिमिरेजस्तो एक उर्जाशिल युवा नेतृत्वमाथि राजनीतिक ‘कु’ भएको छ ।
सही कुरा हो मलाइ पनि चित्त बुझ्यो।गुरुराज घिमिरे लाई हराउन कोइराला पक्ष्य नै लागि परेको देखियो।