विराटनगर । नेपाली कांग्रेसको प्रदेश नम्बर १ को मतगणना पुनः गर्नुपर्ने मागको सम्बन्धनमा निर्वाचन समितिले के गर्ने भनि केन्द्रसंग राय लिन पत्राचार गरी राय लिने भएको छ ।
सोमबार बिहान आएको मत परिणामअनुसार सभापति पदमा संस्थापन इतर समूहका गुरुराज घिमिरे संस्थापन पक्षका उद्धव थापासंग दुई मतले पराजित भएका छन् । त्यसपछि घिमिरेले पुनः मतगणना गर्न माग गर्दै निर्वाचन समितिमा आवेदन दिएका हुन् । निर्वाचन समिति समक्ष आफूले पुनः गणनाको प्रक्रिया थाल्न माग गरेको घिमिरेले बताए ।
काङ्ग्रेसको प्रदेश निर्वाचन समितिका प्रमुख भरत थापाले पुनः मतगणनाका लागि आवेदन आएको र यस विषयमा केन्द्रीय निर्वाचन समितिसंग राय लिएर मात्र के गर्ने नगर्ने भन्ने निर्णयमा पुग्ने बताए ।
“मत गणनाका लागि घिमिरेले निवेदन दिनु भएको छ तर अब केन्द्रीय निर्वाचन समितिलाई पत्राचार गर्छौ उताबाटद जे निर्णय हुन्छ सोहीअनुरुप गर्छौ’, प्रमुख थापाले भने । थापा विजयी भएको घोषणा गरिसकेकाले न्यायको सिद्धान्तअनुसार फेरि आफैँले पुनः गणनाको प्रक्रिया थाल्न नमिल्ने भएकोले उमदेवार घिमिरेको निवेदन निर्णयार्थ केन्द्रीय निर्वाचन समितिमा पठाउने थापाले बताए ।
सभापतिका प्रत्याशी उद्धव थापाले ८ सय ४४ मतले ल्याएर विजयी बने । घिमिरेले ८ सय ४२ मत प्राप्त गरे । प्रदेश नं १ मा कांग्रेस पदाधिकारीमा संस्थापन–सिटौला समूहका अधिकांश विजयी भएका छन् ।