विराटनगर । विराटनगर महानगरपालिका– ११ केशलियाका ५० वर्षीय माधवकुमार बस्नेतले उपचारको लागि सहयोगको आग्रह गरेका छन् । उपचार गर्दा भएभरको सम्पत्ति सकिएपछि उनले थप उपचारको लागि सहयोगको आग्रह गरेका हुन् ।
दुर्घटनामा गम्भीर घाइते उनी उपचार अभावमा एक वर्षदेखि थला परेका छन् । उनको दैनिकी ओछ्यानमै बित्छ । ओछ्यानमै खाना खान्छन् । शौचका लागि डाइपर लगाउँछन् । सवारी चालक अनुमतिपत्रसमेत नभएका शम्भु सदायले चलाएको ट्याक्टरले किच्दा उनको दुवै खुट्टा नचल्ने अवस्था छ । दुर्घटना गराउने सवारीका धनीले उपचार खर्च नब्योहर्दा उनी छटपटाइरहेका छन् ।
‘अप्रेसन गर्नुपर्ने छ । तर मसँग खर्च छैन,’ उनले भने, ‘गाडी साहुले वास्ता गरेनन्, प्रशासन पनि गाडी साहुकै पक्षमा लाग्यो ।’ उनका अनुसार जिल्ला प्रशासन कार्यालय सिरहामा १३ लाख रुपैयाँभन्दा बढीको बिल पेस भएको छ । दुई लाखभन्दा बढीको बिल घरमै छ । खुट्टाको अप्रेसन गर्न अझै ५–६ लाख लाग्ने डाक्टरले बताएका छन् ।
आफ्नो उपचार गराउन नसक्ने अवस्थामा पुगेका बस्नेतले प्रहरी र प्रशासनको सहयोग नपाएको बताए । सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले पीडककै पक्ष लिएको उनको गुनासो छ । ‘मैले आफ्नो घाउ देखाउन चाहेको थिएँ । तर सिडिओले तपाईँको कथा सुन्ने फुर्सद छैन भन्नुभयो,’ उनले भने, ‘सिडिओ साबले सहयोग गर्नुभएन ।’ इलाका प्रहरी कार्यालय लहानका प्रहरीले पनि आफ्नो गुनासो नसुनेको उनले बताए । आयस्रोत कमजोर भएकाले माधवका २१ वर्षीय छोराले कक्षा १२ पछि पढ्नै छाडे । कानुनले तोके अनुसारको उपचार आफूले पाउनुपर्ने उनले बताए ।
सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेल कानुनी जटिलताका कारण उपचार खर्च जुटाउन नसकिएको बताउँछन् । बस्नेतको स्वास्थ्य अवस्थाका बारेमा आफूलाई जानकारी भएको बताउँदै उनले गाडी धनी पक्षलाई उपचार गर्न भनिएको बताए । उपचार खर्चको विषयमा कुरा नमिलेका कारण उनले मुद्दाको किनारा लगाएका छैनन् । कँडेल सोमबारबाट उमेरहदका कारण अवकाश लिँदै छन् । अब आउने प्रमुख जिल्ला अधिकारीले मुद्दाको विषयमा छिनोफानो गर्ने उनले बताए ।
गाडी धनी प्रदीप महतोले घाइतेको उपचारमा दुई लाख रुपैयाँ आफूहरूले खर्च गरेको बताए । अदालतमा मुद्दा परेको बताउँदै उनले थप खर्च नदिने बताए । उनका अनुसार गाडी सोरुमबाट निकालेको केही समयपछि दुर्घटना भएको थियो ।
उपचारको फलोअपका लागि मोटरसाइकलमै काठमाडौं पुगेका उनी फर्किने क्रममा सिरहाको लहानमा दुर्घटनामा परेका थिए । उनी सवार को ८ प ९३७ नम्बरको मोटरसाइकललाई अनटेस्ट लेखिएको ट्याक्टरले ठक्कर दिएको थियो । होस आउँदा उनी नोबल मेडिकल कलेजको आइसियुमा थिए । १२ दिनपछि होस खुल्दा खुट्टामाथिबाट ट्याक्टर कुदेको थाहा पाए ।