देउवा बलियो बन्दै, प्रदेश १ मा पनि देउवा पक्षकै थापा विजयी

विराटनगर । नेपाली कांग्रेसको प्रदेश अधिवेशनबाट विजयी अधिकांश अध्यक्षका उम्मेद्वार देउवा पक्षका विजयी भएका छन् । अहिलेसम्मको परिणाम अनुसार ६ वटा प्रदेशमा कांग्रेसको प्रदेश कार्यसमिति निर्वाचित भइसकेको छ । जसमध्ये प्रदेश १, बाग्मती प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशमा देउवापक्षले बाजी मारेका छन् ।

यस्तै रामचन्द्र पौडेल पक्षले भने गण्डकी र लुम्बिनी प्रदेशमा विजयी भएको छ । कोइराला–पौडेल पक्षको बर्चस्व रहेको भनिएको प्रदेश १ मा पनि देउवा–सिटौला पक्षका उम्मेद्वार उद्धब थापा विजयी भएका छन् । यसले आगामि अधिवेशनबाट सभापतिमा दाबी गरिरहेका डाक्टर शेखर कोइरालाई निराश बनाएको छ ।

कुन प्रदेशमा को सभापति ?

प्रदेश नम्बर १

प्रदेश नम्बर १ मा उद्धव थापा प्रदेश सभापति चुनिएका छन्। उनले २ मत अन्तरले केन्द्रीय सदस्यसमेत रहेका गुरूराज घिमिरेलाई पछि पारेका छन्। यद्यपी घिमिरे पक्षले फेरि मतगणनाको माग गरेका छन्।

थापा सिटौलानिकट हुन्। प्रदेश १ सभापतिमा उनलाई सभापति शेरबहादुर देउवा पक्षको पनि समर्थन थियो। थापाले ८४४ मत ल्याएका थिए। अर्का उम्मेदवार गुरूराज घिमिरेले ८४२ मत ल्याए। सभापतिसहित अधिकांश पदमा देउवा–सिटौला पक्षले जितेका छन्।

उपसभापतिमा रमेशजंग रायमाझी र टंकप्रसाद राई निर्वाचित भए भने महामन्त्रीमा भूपेन्द्र राई र उमेश थापा निर्वाचित भएका छन्। थापा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका मानिन्छन्। सहमहामन्त्रीमा प्रमिला गच्छदार, खड्ग फागो र बिनोदकुमार बस्नेत निर्वाचित भएका छन्।

बागमती प्रदेश ?

बागमतीको सभापतिमा ईन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन्। बानियाँ सभापति शेरबहादुर देउवानिकट हुन्। उनी बागमती प्रदेश संसदीय दलका नेतासमेत छन्।

बागमतीमा पहिलो चरणमा त्रिपक्षीय प्रतिस्पर्धा भएको थियो। देउवा पक्षबाट बानियाँ, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट नुवाकोट कांग्रेसका निवर्तमान सभापति जगदीश्वरनरसिंह केसी र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षबाट नेता भीमसेनदास प्रधान सभापति पदमा भिडेका थिए।

पहिलो चरणमा धेरै भोट बानियाँले ल्याए। बानियाँले ९९२ मत ल्याएका थिए भने केसीले ८७२ मत ल्याएका थिए। तेस्रो बढी मत ल्याएका प्रधानले भने दोस्रो चरणमा भएको निर्वाचनमा बानियाँलाई साथ दिएका थिए। प्रधानले १९७ मत ल्याएका थिए। बागमतीमा कूल २१५१ मतमध्ये २०२५ मत खसेको थियो। बानियाँले १०८५ मत ल्याएर निर्वाचित भए भने केसीले जम्मा ९२७ मत पाएका थिए।

गण्डकी प्रदेश

गण्डकी प्रदेशको सभापतिमा कास्कीका नेता शुक्रराज शर्मा निर्वाचित भए। संसदीय चुनावमा लगातार पराजित शर्मा पार्टीको चुनावमा भने सफल देखिएका छन्। उनी तीन कार्यकाल कास्की कांग्रेस सभापति थिए।

शर्माले ६१२ मतसहित सभापति जितेका थिए। शर्मा वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट छन्। गण्डकीमा एक हजार एक सय ४६ मत खसेको थियो। सभापतिका अर्का उम्मेदवार अर्जुन जोशी पराजित भए, उनी सभापति शेरबहादुर देउवानिकट हुन्। जोशीले जम्मा ५२८ मत मात्रै ल्याएका थिए।

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशमा पनि वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट रोल्पाका अमरसिंह पुन मगर प्रदेश सभापति निर्वाचित भएका छन्। उनी यसअघि रोल्पा कांग्रेस सभापति थिए।

अमरसिंहले ८५२ मत ल्याएर सभापति निर्वाचित भए भने सभापतिका अर्का प्रतिस्पर्धी भरतकुमार शाहले ७६७ मत ल्याएर पराजित भए। शाह प्रतिनिधि सभा सांसदसमेत छन्। उनी सभापति शेरबहादुर देउवानिकट छन्।

कर्णाली प्रदेश

कर्णाली प्रदेशमा त्रिपक्षीय प्रतिस्पर्धा भएको थियो। सभापति देउवा पक्षबाट जुम्लाका ललितजंग शाही, वरिष्ठ नेता पौडेल पक्षबाट कालीकोटका भूपेन्द्रजंग शाही र उपसभापति विमलेन्द्र निधिका तर्फबाट कालीकोटकै मोतीलाल बमले सभापति पदमा प्रतिस्पर्धामा उत्रिएका थिए।

देउवा पक्षका ललितजंगले ४२२ मत ल्याएर सभापति जिते भने भूपेन्द्रजंगले ३१७ मत र तेस्रो भएका मोतीलालले जम्मा ७ मत मात्रै ल्याएका थिए।

सुदूरपश्चिम प्रदेश

सभापति देउवाको गृह प्रदेश सुदूरपश्चिममा देउवा निकटकै केन्द्रीय सदस्य बीरबहादुर बलायरको प्यानल नै जितेको छ। यहाँ वरिष्ठ नेता पौडेल पक्षले नारायणदत्त मिश्रलाई सभापति उठाएका थिए। यहाँ एक हजार ३ मत खसेको थियो। बलायरले ६८८ मतसहित सभापति जिते भने मिश्रले जम्मा २८० मतमात्रै पाएका थिए।

प्रदेश २ मा अझै अन्यौल

प्रदेश नम्बर २ मा भने उद्घाटनपछि निर्वाचनको प्रक्रिया नै अगाडि बढेको छैन। केही जिल्लामा वडा र पालिका तथा प्रदेश सभा र प्रतिनिधि सभा क्षेत्रकै अधिवेशन नसकिएकोले प्रदेश अधिवेशन अगाडि नबढेको हो।

सोमबार, २० मंसिर, २०७८, बिहानको १०:३२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर