यो ठगहरूको गठजोड हो : विप्लव

२७ गते अमेरिकाले एमसिसी नेपालमा के गर्ने भन्ने विषयमा निर्णय गर्ने तयारी गर्नु र नेपालमा २८ गते संसदको अधिवेशन बोलाउनुमा साँठगाँठ भएको विप्लवको आशङ्का

विराटनगर । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष नेत्रविक्रम चन्द विप्लवले वर्तमान शासन व्यवस्थाका पक्षपाति दलहरु ठग भएको आरोप लगाएका छन् । उनले आफ्नो पार्टीसँग गरेको तीन बुँदे सहमति कार्यान्वयन नभएकोप्रति पनि तीब्र असन्तोष व्यक्त गरे । विराटनगरमा सो पार्टीद्वारा आज आयोजित जनसभालाई सम्बोधन गर्दै उनले भने, ‘यो ठगहरुको गठजोड हो, यसलाई मूला उखेले जसरी उखल्नुपर्छ ।’

आक्रामक भाषण गरेका उनले आफूले गरिरहेको क्रान्ति र संघर्ष झिल्को भएको र डढेलोमा परिणत हुने दाबी गरे । ‘हरेक क्रान्ति झिल्कोबाट सुरू हुन्छ,’ उनले भने, ‘कुनै दिन डढेलोमा बदलिन्छ ।’ उनले थपे, ‘आफ्नो देशमा रोजगारी नदिने तर, जनतालाई कोठिमा बेच्ने ? ललिता निवास पनि बेचेर खाने मान्छे को हो भन्ने थाहा नपाउने ? यो ठगहरूको गठजोड हो । यिनलाई मुला उखेलेजस्तो जुरूकजुरूक उखेल्नु पर्छ ।’

आफ्नो राजनीति र क्रान्ति मन्त्री, सांसद बन्नका लागि नभएर उत्पीडित गरिव, दलित, आदिवासी, क्षेत्रीबाहुनको मुक्तिको लागि भएको बताए । उनले समाजवादलाई भोट हाल्ने चाहना राख्नेहरु बढीरहेको तर्क गर्दै संसदीय व्यवस्था कि वैज्ञानिक समाजवादी व्यवस्था चाहने हो भन्ने विषयमा जनमत संग्रह गर्नुपर्नेमा जोड दिए ।

नेपालको युवा–युवतीलाई विदेश पठाएर व्यापार गरिरहेको तर्क गर्दै उनले अब क्रान्तिकारीहरुले अँध्यारोमा गुडुल्किएर होईन राँको बाँधेर हिंड्नु पर्ने बताए । माओवादीले चलाएको १० वर्षे जनयुद्ध नौलो जनवादका लागि भएको दाबी गर्दै जनताले साथ दिएको पनि सोही एजेण्डाका लागि भएको जिकिर गरे ।

‘हामी अराजकता र अस्थिरता चाहँदैनौं तर, यसको मतलब जनतालाई नरकमा राख्ने, विदेशीको कठपुतली बनाउने कुरा मान्य हुँदैन,’ उनले भने, ‘हामीले युद्ध चाहेको होइन, तर, राज्यले बन्दुकको बलमा जनताको आवाज दबाउन खोज्दै कुशान गरिरहे मान्न तयार छैनौं ।’

तीन बुँदे सहमति पालना गर्न शेरबहादुर देउवा नेतृत्वको सरकार इमान्दार हुनुपर्नेमा उनले जोड दिए । ‘तीनबुँदे जनताको माग हो । त्यसलाई कार्यान्वयन गर्नुपर्छ,’ उनले भने । जेलमा रहेका आफ्ना कार्यकर्ता नछाड्ने, अल्मल्याउने, दबाब दिने, घेराबन्दी गर्न खोजे विद्रोह हुने उनले पटकपटक दोहोर्याए । ‘जनमत संग्रह पनि नगर्ने, सम्झौता सहमति पालना पनि नगर्ने, बन्दीहरू पनि नछोड्ने हो भने हामी फेरि लडाइँ चल्छ,’ उनले भने, ‘यो धम्की होइन, राज्य हिंसाको बाटो नहिंडोस् ।’

फरक प्रसंगमा उनले अमेरिकाले एमसिसी जबर्जस्ती पास गर्न दबाब दिइरहेको दाबी गरे । ‘२७ गते अमेरिकाले एमसिसी नेपालमा के गर्ने भन्ने विषयमा अन्तिम निर्णय गर्दैछ,’ उनले भने, ‘देउवा सरकारले २८ गतेका लागि संसदको अधिवेशन आव्हान गरेको छ, कतै साँठगाँठमा एमसिसी पास गर्ने तयारी त हुँदैछैन ? ।’ सरकारले कालापानी क्षेत्रमा जनगणना गर्न डराएको दाबी गर्दै हेलिकप्टरबाट छाङ्रूङमा कर्मचारी पठाएर जनगणना गर्नु पर्नेमा उनले जोड दिए ।

शनिबार, १८ मंसिर, २०७८, साँझको ०७:०५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर