‘१० हजार मेगावाट विद्युत् खपत गर्न सक्नुपर्छ’

मोरङ व्यापार संघलाई अर्थमन्त्रालयको सल्लाहकार घोषणा

विराटनगर । सरकारका अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले १० हजार मेगावाट विद्युत् खपत गर्न सक्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।

मोरङ व्यापार संघले आज आयोजना गरेको ६५ औं साधारणसभा समुद्घाटन समारोहमा आफ्ना धारणा राख्दै शर्माले जलविद्युत्को अत्याधिक खपत देशमै भएमात्रै आर्थिक समृद्धि हासिल हुने बताएका हुन् । देशको विकासका लागि नीजि क्षेत्र र सरकारबीचको सहकार्य आवश्यक भएको बताउँदै उनले मोरङ व्यापार संघलाई अर्थमन्त्रालयको सल्लाहकार घोषणासमेत गरे । ‘सरकार र नीजि क्षेत्रको सहकार्यले मात्रै विकास सम्भव छ,’ शर्माले भने, ‘सरकारलाई साथ दिन तपाईहरु तयार हो ? हो भने म पनि तयार छु । तर, भाषणमा मात्रै होइन व्यवहारमा पनि चाहियो ।’

माओवादीका नेतासमेत रहेका अर्थमन्त्री शर्माले देश विकास नहुनुको मुख्य समस्या दूरदृष्टिको र ईच्छाशक्ति नहुनु रहेको बताउँदै सत्ताको होडबाजीमा सबै नेताहरु लागेको कारण समस्या भएको बताए । ‘देश र जनताप्रति होइन, प्रतिस्पर्धा गरेर सत्तामा जाने होडबाजी मात्रै भयो,’ उनले भने, ‘सत्तामा गएर के गर्ने कसरी काम गर्ने भन्ने विषयमा कसैको इच्छाशक्ति देखिएन, तर, हाम्रो पार्टी माओवादीले त्यो विचार र दृष्टिकोण बनाएको छ ।’

सरकारले गति लिन नसक्नुको पछाडि प्रदेश र स्थानीय तहलाई बलियो नबनाउनु पनि रहेको शर्माले संकेत गरे । ‘संघले सबै आफ्नै हातमा राख्न खोज्ने, प्रदेश र स्थानीय तहलाई अधिकार दिनबाट वञ्चित गर्ने काम भएको छ,’ उनले भने, अब प्रदेशलाई र स्थानीय तहलाई बलियो बनाउनु पर्छ, जनतासँग जोडिएका स्थानीय तहलाई बलियो नबनाएसम्म विकास असम्भव छ ।’ संस्थाहरुलाई बलियो बनाउँदै लैजानुपर्नेमा उनले जोड दिए । अहिलेको कार्यान्वयन गर्ने तरिका पनि बदल्नुपर्ने बताउँदै उनले जनतालाई एकाकार गरेर काम गर्नुपर्ने बताए । ‘नेपालको विकास समुदायमा आधारित छ, त्यसलाई आजको आवश्यकताका आधारमा सदुपयोग गर्नुपर्छ,’ शर्माले भने ।

बैंकको ब्याजदर घटाउने विषयमा उद्योगी व्यवसायीले राखेको जिज्ञासाको उत्तर दिँदै मन्त्री शर्माले बैंकहरुबीचमा पनि एउटा कुरा नभएको बताए । ‘एउटाले ब्याजदरको स्थायित्वको कुरा गर्छ, अर्कोले स्वतन्त्र छाड्नुपर्नेमा जोड दिन्छ,’ उनले भने, ‘यस विषयमा छलफल गरिरहेका छौं ।’

सुनसरीको अमडुवामा रहेको सरकारको ६ सय २५ विघा जग्गामा उद्योग स्थापनाका लागि चाहिने आवश्यक पूर्वाधार, विद्युत, श्रमशक्ति र जग्गा लिज लिने भए प्रक्रिया मिलाएर दिन आफूू तयार रहेको मन्त्री शर्माले बताए । उनले प्रदेश १ मा नयाँ औद्योगिक क्षेत्र निर्माण गर्ने, शैक्षिक टुरिजमको विकास गर्ने र स्वास्थ्य टुरिजमको विकास गर्नुपर्नेमा जोड दिए । देशको विकासका लागि अब असमानतालाई अन्त्य गर्ने खालको सुधारिएको पूँजीवाद आवश्यक रहेकोमा जोड दिँदै शर्माले सगरमाथाको फेदिमा लाखौं मानिस पुग्ने वातावरण बनाउनुपर्ने बताए । उदयपुरको लिम्चिङबुङमा पर्यटकीय क्षेत्र बनाउने विषयमा नीजि क्षेत्रले सहयोग गर्नुपर्ने उनले बताए ।

इतिहास रच्ने अर्थसचिवको दाबी

सोही कार्यक्रममा अर्थ सचिव मधुकुमार मरासिनीले सरकारले लिएको ७ प्रतिशत आर्थिक वृद्धिदर पु¥याउने लक्ष्य पुरा हुने बताए । ‘यसपटक पूँजीगत खर्चमा इतिहास रच्छौं,’ उनले भने, ‘आर्थिक वृद्धिदर ७ प्रतिशत हुन्छ, अहिलेसम्म २७ प्रतिशत पूँजीगत खर्च भइसकेको छ ।’

उनले अर्थतन्त्रमा नकारात्मक अवस्था नरहेको बताउँदै ४४ लाख घर (सेना, प्रहरी, कर्मचारी तथा पेन्सन र सामाजिक सुरक्षाको नाम)मा अहिले पनि मासिक पैसा गइरहेको बताए । सरकारलाई सहयोग गर्ने कुरामा बैंकहरु उदारतापूर्वक नआएको भन्दै मरासिनीले बैंकहरूले सरकारलाई सहयोग गर्नुपर्नेमा जोड दिए । व्यापार घाटा कम गर्न अनुशासित आयात आवश्यक रहेको बताउँदै उनले एयरपोर्टबाट अवैध रुपमा आएको २१ किलो सुन काण्डले कति पैसा हुण्डीबाट जाँदो रहेछ अनुमान गर्न सकिने भन्दै उद्योगीलाई सचेत तुल्याए । कार्यक्रममा उद्योगी व्यवसायीहरूले लगानीमैत्री वातावण बन्नुपर्नेमा जोड दिएका थिए ।

शुक्रबार, १७ मंसिर, २०७८, साँझको ०५:२७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर