काँग्रेस प्रदेश १ अधिवेशन : सभापतिमा घिमिरे र थापा भिड्ने

विराटनगर । पहिलोपटक पार्टीभित्र प्रादेशिक संरचनाका लागि चुनावी अभियानमा रहेको सत्तारुढ नेपाली काँग्रेसको प्रदेश १ सभापतिमा गुरुराज घिमिरे र उद्धव थापाबीच प्रतिष्पर्धा हुने भएको छ ।

प्रदेश १ मा संस्थापन पक्षबाट झापाका थापा र संस्थापन इतर पक्षबाट मोरङका घिमिरे प्रदेश सभापतिमा भिड्ने तय भएको हो । काँग्रेस नेताहरुका अनुसार वरिष्ठ नेता रामचन्न्द्र पौडेल र नेता डा. शेखर कोइराला प्यानलबाट नेपाल विद्यार्थी संघका पूर्व सभापति घिमिरेलाई उम्मेद्वार बनाउने सहमति भएको छ ।

‘गुरुराज घिमिरेको नाममा सहमति भइसकेको छ,’ विराटनगर काँग्रेस सभापति दीपक चापागाइँले भने ‘अहिले नेतृत्व तहका नेताहरु बसेर अन्य पदमा कसलाई पठाउने भन्ने छलफल भइरहेको छ ।’ संस्थापन इतर पक्षबाट काँग्रेस प्रदेश १ संसदीय दलका नेता राजीव कोइराला पनि सभापतिको दौडमा थिए ।

दुई जना नेताहरुको दाबी परेपछि सहमति जुटाउन बिहीबार बिहानैदेखि नेता महेश आचार्यको विराटनगरस्थित निवासमा बैठक चलेको थियो । त्यसक्रममा नेता घिमिरेलाई उम्मेद्वार बनाउने सहमति भएको महानगर सभापति चापागाइँले बताए ।

संस्थापन पक्षले प्रदेश १ सभापतिमा झापाका उद्धव थापालाई अघि सारेको छ । नेता कृष्णप्रसाद सिटौला निकट नेता थापा नै देउवा–सिटौला प्यानलको उम्मेद्वार बन्ने टुंगो लागेको काँग्रेस नेताहरुले बताएका छन् । प्रदेश अधिवेशनमा देउवा र सिटौला पक्ष मिलेर चुनाव लड्ने भएका छन् । देउवा र सिटौला पक्षबीच वागमती र प्रदेश १ मा सभापति पद भागबण्डा गर्ने सहमति अनुसार प्रदेश १ सिटौलाको भागमा परेको हो ।

शुक्रबार, १७ मंसिर, २०७८, बिहानको ०९:५२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर