उद्घाटन कसरी गर्ने भन्ने विवादले कांग्रेसको प्रदेश १ अधिवेशन स्थगित

विराटनगर । नेपाली कांग्रेस प्रदेश १ को अधिवेशन उद्घाटन कसरी गर्ने भन्ने विषयमा सहमति नहुँदा भोलीसम्मका लागि स्थगित भएको छ । निर्वाचन कार्यक्रम भने यथावत रहेको कांग्रेस नेताहरुले बताएका छन् ।

विराटनगरस्थित विराट नर्सिङ होमछेउको खाली जग्गामा अधिवेशन आज उद्घाटन गर्ने कार्यक्रम थियो । उद्घाटन समारोहमा कार्यकर्ताको भीडभाड बढेको भएपनि कार्यक्रम भर्चुअल माध्यमबाट सभापति शेरबहादुर देउवाले गर्ने कि शेखर कोइरालाले गर्ने भन्ने विषयमा विवाद भएको स्रोतको भनाइ छ । ‘नेताहरुबीच कार्यक्रम उद्घाटन समारोह कसरी गर्ने भन्ने विषयमा विवाद हुँदा स्थगित भएको जानकारीमा आएको छ,’ कांग्रेसका एक नेताले भने, ‘एउटा पक्षले शेरबहादुर देउवाले भर्चुअल माध्यामबाट कार्यक्रम उद्घाटन गर्ने भनेका थिए भने अर्को पक्षले शेखर कोइराला वा कृष्ण सिटौलामार्फत नै कार्यक्रम उद्घाटन हुनुपर्ने अडान राखेपछि विवाद भयो ।’

उद्घाटनको विषयमा दुवैपक्ष छलफलमा बसेपछि समय लम्बिएको ति नेताले बताए । यता विराटनगर महानगरपालिकाका कांग्रेस सभापति दीपक चापागाईंले भने प्रतिनिधिहरुको नाम लिष्ट नआइपुगेको कारण अधिवेशनको उद्घाटन समारोह विहानसम्मका लागि स्थगित भएको बताए । ‘प्रतिनिधिहरुको नाम लिष्ट नआइपुगेको र केही प्राविधिक तयारी नपुगेको कारण अधिवेशनको उद्घाटन समारोह स्थगित भएको हो,’ चापागाईंले भने, ‘अन्य कुनै कारण होइन, निर्वाचनका अरु कार्यक्रम यथावत छ ।’ भोली बिहान ८ बजेदेखि कार्यक्रम उद्घाटन हुने चापागाईंले बताए । भोली बिहान ९ बजेदेखि नै उम्मेदवारीको मनोनयन दर्ताको कार्यक्रम छ।

प्रदेश १ सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट केन्द्रीय सदस्य गुरूराज घिमिरे उठ्ने लगभग पक्का भएको छ भने सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री सिटौला पक्षबाट उद्धव थापा प्रदेश सभापति पदमा उठ्ने बताइएको छ ।

बिहिबार, १६ मंसिर, २०७८, साँझको ०५:१६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर