प्रदेश १ : नेपाली कांग्रेसको १४औं महाधिवेशन

मोरङका सूयर्माराज राईले गरे सहमहामन्त्रीमा उम्मेद्वारी दिने घोषणा

विराटनगर । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका सचेतक सूयर्माराज राईले प्रदेश १ नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट सहमहामन्त्रीमा उम्मेद्वारी घोषणा गरेका छन् ।

राईले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो उम्मेद्वारी घोषणा गर्दै समृद्ध नेपाल निर्माण गर्नुपर्ने अभिभारा पूरा गर्न आफू लाग्ने बताएका छन् । मोरङ निर्वाचन क्षेत्र नम्बर ३ (क)बाट निर्वाचित सांसद राई सोही क्षेत्रबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा चयन भएका छन् ।

‘नेपाली कांग्रेसको १४औं महाधिवेशनमा प्रदेश नं.१, कार्यसमितिको सहमहामन्त्री पदको उम्मेदवारमा मैले आफूलाई उभ्याएको कुरा सहर्ष जानकारी गराउँछु,’ उनले भने, ‘एक हिसाबले मेरो उम्मेदवारी तिनै योद्धाहरुको सम्मान र एमाले चरमताको बहिर्गमनको लागि हो ।’

राई नेविसंघमा लामो समय काम गर्दै कांग्रेसमा सक्रिय थिए । उनी बौद्धिक र तार्किक नेताको रुपमा स्थापित छन् ।

‘मैले जितेको निर्वाचन क्षेत्र मोरङ ३ (१) एमालेको अत्यन्तै बलियो पकड क्षेत्र हो,’ उनले भने, ‘झन्डै ३ दशकमा पहिलोपटक नेपाली कांग्रेसको तर्फबाट मैले निर्वाचन जित्दै गर्दा म मात्रै होइन, त्यस क्षेत्रमा संगठन गरिरहनुभएका र दशकौंदेखि एमालेको कडा प्रहार खेप्न बाध्य लोकतान्त्रिक विचारसँग निकट र कांग्रेसका स्थानीय नेताहरू बढी खुसी र आनन्दित हुनुहुन्थ्यो ।’

सोही खुसी र एमाले विस्थापित गर्ने आफ्नो चाहना रहेको उनले बताएका छन् । ‘आज मैले सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गर्दैगर्दा म तिनै अनुहार र होनाहार कांग्रेसी योद्धाहरुलाई स–सम्मान स्मरण गरिरहेको छु,’ उनले भनेका छन् ।

आफूले पार्टीमा खेलेको भूमिका र पु¥याएको योगदान सदैव सकारात्मक र संस्थागत रहेको उनले बताए । ‘यतिबेला पार्टीमा सैद्धान्तिक र वैचारिक रुपान्तरणमार्फत लोकतन्त्रको जग बलियो बनाइ समृद्ध नेपाल निर्माण गर्नुपर्ने अभिभारा हाम्रो पुस्तामा जबर्जस्त आइपरेको छ,’ उनले भने, ‘त्यस सत्यको गहिरो अनुभूतिसहित उक्त कार्यभारलाई म सहजरुपले ग्रहण गर्ने र एउटा परिणाममुखी निष्कर्षमा पुर्याउन महत्वपूर्ण योगदान पुर्याउन सक्छु भन्ने अठोट र विश्वासका साथ प्रदेश १ कार्यसमितिको सहमहामन्त्री पदमा मैले आफूलाई उभ्याएको हुँ ।’

को हुन् सूयर्माराज राई ?

जन्म : २०३६-२-६ मोरङ कानेपोखरी ५ (साविक केरौन–१)
मातापिताको नाम : स्व.सावित्री राई एवम् स्व.सर्वधन राई
शिक्षा : एम.ए. नेपाली (केही वर्ष क्याम्पसमा प्राध्यापन)
राजनीतिक यात्रा : २०५२ सालबाट नेविसंघ इकाई सदस्य, २०६२ स्नातकोत्तर क्याम्पस विराटनगरको स्ववियु कोषाध्यक्ष तथा नेविसंघको जिल्ला तहमा बसेर काम
हाल : मोरङ ३(१) निर्वाचन क्षेत्रबाट निर्वाचित प्रदेश नं. १ को सदस्य तथा सचेतक, नेपाली कांग्रेस संसदीय दल, प्रदेश १, मोरङ ३ बाट दोस्रो सर्वाधिक मत प्राप्त गरी केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित

सैद्धान्तिक र वैचारिक धारको राजनीतिलाई मुख्य रुपले अंगिकार गर्दै कांग्रेस रुपान्तरणको मुद्दामा सक्रियता र स्पष्ट दृष्टिकोण रहेको ।

बुधबार, १५ मंसिर, २०७८, दिउँसोको ०४:४१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर