विराटनगर । अध्यक्ष केपी शर्मा ओलीले चाहे छानिने नचाहे फालिने भयले त्रस्त नेकपा एमाले प्रदेश १ का १० बुँदे पक्षधर नेताहरु उम्मेद्वारी घोषणामै हच्किरहेका छन् ।
एमालेको १० औं महाधिवेशन शुक्रबार चितवनमा सुरु हुँदैछ । तर, महाधिवेशन सुरु हुने अघिल्लो दिनसम्म पनि प्रदेश १ का १० बुँदे पक्षधर नेताहरु कुन पदमा उठ्ने भन्नेबारे पूरै मौन छन् । ओली पक्षका नेताहरु १० बुँदे पक्षधरले पार्टी र नेतृत्वविरुद्ध अपराध गरेका कारण त्यही अपराधबोधले उनीहरु बोल्न सक्ने अवस्थामा नरहेको बताउँछन् । ‘उहाँहरुले विगतमा पार्टी र अध्यक्षका विरुद्धमा अपराध गर्नुभएको छ,’ ओली पक्षका एक नेताले भने ‘नत्र हामीले उम्मेद्वारी घोषणा गर्दा उहाँहरु किन मौन रहनुहुन्थ्यो ?’
प्रदेश १ का ओली पक्षका नेताहरुले भने धमाधम उम्मेद्वारी घोषणा गरिरहेका छन् । यसक्रममा प्रदेश १ का पूर्व मुख्यमन्त्री शेरधन राईले सचिवमा उम्मेद्वारी रहने घोषणा गरेका छन् । यसअघि पूर्व आन्तरिक मामिला मन्त्री हिक्मत कार्कीले पनि सचिवमा आफ्नो दाबी रहने बताएका थिए । तर, कार्कीले भने स्थायी कमिटी सदस्य पद सुरक्षित गर्न सचिवमा दाबी गरेको उनी निकट स्रोतले जनाएको छ ।
एमाले प्रदेश १ का सहइन्चार्जसमेत रहेका शेरधन राईले आफू सचिवको दाबेदार रहेको बताएका छन् । आफू सचिवका लागि योग्य रहेको र त्यो क्षमता राख्ने उनले बताए । पार्टीमा सहमतिको लागि प्रयास हुँदा पनि आफ्नो दाबी सचिवमै रहने र निर्वाचन भएमा पनि सचिवमा उम्मेद्वारी दिने उनले बताए ।
‘अधिवेशन उद्घाटन कार्यक्रम सकिएपछि पार्टी केन्द्रीय कमिटी बैठक बस्छ । त्यो बेलामा यसबारेमा छलफल हुन्छ होला,’ उनले भने, ‘अन्तिमसम्म पनि सहमतिको लागि प्रयास जारी रहन्छ । सहमति हुने अवस्थामा आवश्यक परेमा पदाधिकारीको संख्या बढाउन सकिन्छ ।’ नेता राई र कार्की एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वास पात्र हुन् । पूर्व मुख्यमन्त्री राई राष्ट्रपति विद्यादेवी भण्डारीसँग अझै निकट मानिन्छन् ।
ओली पक्षकै नेताहरु सुवाष नेम्बाङले वरिष्ठ उपाध्यक्षमा, देवराज घिमिरेले उपाध्यक्षमा, गुरु बरालले सचिवमा उम्मेद्वारी घोषणा गरिसकेका छन् । उनीहरुले धमाधम उम्मेद्वारी घोषणा गरिरहँदा १० बुँदे पक्षधरहरु भने तै चुप मै चुपको अवस्थामा छन् ।
एमाले विभाजन अघिसम्म वरिष्ठ नेता माधव नेपाल समूहमा रहेका र १० बुँदे सहमति गरेर नेपालको साथ त्यागेर ओलीकै पछि लागेका सचिव भीम आचार्य पूरै मौन छन् । अर्का सचिव योगेश भट्टराईले सचिव पदमै बलियो दाबी पेश नगरी ‘सचिवमा दोहोरिन सक्ने सम्भावना’ रहेको भन्दै सांकेतिक भाषा प्रयोग गरेका छन् । यसअघिका केन्द्रीय सदस्यहरु जीवन घिमिरे, रबिन कोइराला, धर्म निरौला, भाष्कर काफ्लेलगायतका नेताहरु कुन पदमा उठ्ने भन्ने बताउनसमेत सक्ने अवस्थामा छैनन् ।
१० बुँदे पक्षधरहरु तितरवितर भइसकेका कारण पनि उनीहरु खुल्न सक्ने अवस्थामा नरहेको एमाले नेताहरु बताउँछन् । तीमध्ये योगेश भट्टराई ओलीको विश्वास जित्न भरमग्दुर प्रयासमा लागेका छन् । यद्यपि प्रदेश १ का पूर्व मुख्यमन्त्री भीम आचार्य मौन छन् । यसबारे प्रतिक्रिया लिन सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमै आएनन् ।
ओली पक्षका नेताहरु भने उनीहरुको मौनता एकदमै स्वाभाविक ‘उहाँहरु पार्टीले दिने उपयुक्त जिम्मेवारी स्वीकार गर्छौं भन्ने अवस्थामा हुनुहुन्छ,’ प्रदेश १ सरकारका पूर्व मन्त्रीसमेत रहेका एमालेका एक नेताले भने ‘यसपटक उहाँहरुले निरीह नै भएर रहनुपर्छ ।’
तर, १० बुँदे पक्षधर नेताहरुले भने अवस्था त्यस्तो नभएको र आफू्हरु छलफलमा रहेको बताएका छन् । ‘यो महाधिवेशनलाई एकताको महाधिवेशन बनाउने भनेर भन्ने अनि उम्मेद्वारी घोषणा गर्दै हिँड्ने ?’, केन्द्रीय सदस्य जीवन घिमिरेले भने, ‘त्यसैले एकताको महाधिवेशन बनाउन हामीले घोषणामा हतार गरेका छैनौं ।’
अध्यक्ष ओली र उनको पक्षको त्रासले मौन रहनु भएको हो भन्ने प्रश्नमा नेता घिमिरेले त्यसलाई अस्वीकार गरे । ‘त्रासले मौन रहेको भए भीम रावलले अध्यक्षमा उम्मेद्वारी घोषणा कसरी गर्नुहुन्थ्यो । उहाँ पनि १० बुँदे पक्षधर नै हो नि,’ घिमिरेले भने ‘सहमतिमा पार्टीलाई एकताबद्ध तुल्याउन पार्टीले उपयुक्त जिम्मेवारी दिनेछ ।’