लीलावल्लभ घिमिरे
‘बा’ को क्रेज साचिकै अजीवको छ । बा ले नेपालको राजनीतिक इतिहासमा जे गर्नु भयो त्यो सहि गर्नु भएन भन्नेहरुको जमात ‘बा’ कै घर भित्र पनि ठूलो छ । हुन सक्छ ‘बा’ अहंकारी बन्नु भयो होला । ‘बा’ लाई सत्ताको मात चढ्यो होला । ‘बा’ ले प्रचण्डलाई मात्र हैन माधवकुमारहरुलाई पनि घरबाट निकाल्नु भयो होला । तरपनि ‘बा’ क्रेज अहिलेपनि छ ।
‘बा’ ले आफ्नो शिरबाट मात्र हैन अरु पाँच भैयाको शिरवाट पनि श्रीपेज निकाली दिनु भयो तरपनि ‘बा’ को क्रेज पार्टी भित्र उतीकै छ । ‘बा’ भनेर मरिहत्ते गर्नेहरुको लाम निकै लामो छ । हिजोसम्म धारेहात लगाएर सतीको सराप गर्ने भिम रावलदेखि योगी भट्टहरु समेत यतिबेला लम्पसार परेर ‘बा’ को भक्तिमा तल्लिन छन् ।
केही दिनअघि ‘बा’ विराटनगरको पाञ्चालीमा आउनु भएको थियो । ‘बा’ का भाषणको बारेमा मेरो कुनै टिकाटिप्णी छैन । किन भने मैले बुझेको राजनीति भनेको दर्शनको हुनु पर्ने हो । नेताका भाषणले जनता र राष्ट्रलाई मार्ग निर्देश गर्नु पर्ने हो । तर आज भोलि नेताका भाषणा कुनै विवाहमा रात कटाउन भनिने मनोरञ्जनात्मक श्लोक भन्दा अलि कतिपनि फरक छैन । ‘बा’ ले यो देशको राजनीति र माक्र्सवादलाई राम्रोसँग अध्ययन गर्नु भएको छ । तर ‘बा’ ले त्यो माक्र्स भाषणमा सुनाउन छाड्नु भएको धेरै भइसक्यो । ‘बा’ लाई के थाहा छ भने अहिलेका नेता कार्यकर्ताहरुलाई पार्टी सिद्धान्त अनुशासन सिकाउनु भनेको भालुलाई कथा सुनाउनु जस्तै हो ।
हुन त यो कुरा ‘बा’ को पार्टी मात्र हैन शेरवहादुर दाई र प्रचण्डदेखि कमल थापाको पार्टीमा समेत लागु हुन्छ । हाम्रो देशका कुनैपनि दल आफ्नो दलीय आचरण र सिद्धान्त अनुसार चलेका भए यो अवस्था आउने नै थिएन । चाहे जे होस् मलाई आज ‘बा’ को क्रेजका बारेमा खुलेर प्रसंशा गर्न मन लाग्यो । ‘बा’ कुरा पाञ्चालीको हो । ‘बा’ ले राम्रोसँग भाषण गर्नुभएको कार्यकर्ताहरु प्रफुल्ल भए । कार्यक्रमपनि चियापानको व्यवस्था थियो । ‘बा’ त्यही कार्यक्रमका लागि आउनु भएकाले चाडै विमानस्थलतर्फ जाने तयारी भइरहेको थियो । ‘बा’ सँग सेल्फी खिच्न चाहनेहरुको बाढी नै लागेको थियो ।
एकातर्फ सम्झे ‘बा’ चालेका हरेक कदम । अर्को तर्फ सम्झें ‘बा’ को उमेर अनि ‘बा’ को स्वास्थ्य । ‘बा’ लाई यी कुनै कुराले पिरोलेको छैन । ‘बा’ को अनुहार झन् झर्झर् छ । ‘बा’ मा एउटा अनौठो खाले उर्जा छ । ‘बा’ छँदाखाँदाको गगनचुम्बी महललाई चरैदेखि ढालेर नयाँ गगनचुम्बी महल बनाउने अभियानमा हुनुहुन्छ । त्यसमा लामवद्ध हुनेहरुको जमातपनि निकै ठूलो देखिन्छ । हुन त ‘बा’ ले भनिसक्नु भएको छ । ‘बा’ को कर्मले धेरै थोकमा नेपाल र नेपालीको नाम गिनिज बुकमा दर्ज भइसकेको छ । त्यति मात्र हैन चारवटा किड्नी भएको प्रधानमन्त्री पनि विश्वमा अन्य कुनै मुलुकमा छैन अरे यो पनि ‘बा’ ले नै भन्नु भएको । यो पनि गिनिज बुकमा चढीसकेको होला । तर ‘बा’ को गिनिज बुकमा लेख्नु पर्ने तर ‘बा’ ले नै छुटाउनु भएको अर्कोपनि कुरा छ । त्यो भनेको आफ्नो महल आफैं भत्काएर पनि यति सहास र उर्जाका साथ फेरी बनाउन लाग्ने ब्यक्ति पनि यो विश्वमा ‘बा’ मात्र होलान् । यसलाई पनि गिनिज बुकमा लेख्नुपर्छ । चाहे जे हो ‘बा’ को कार्यकर्तामा क्रेज अहिलेपनि छ भन्ने उदारण भरर्खरै मात्र पाञ्चालीले दिएको छ । ‘बा’ को साहस र हिम्मतलाई म पनि सेलुट गर्छु । धेरैतिरबाट सम्झन्छु वास्तवमा ‘बा’ एउटा अद्भूत क्षमता भएको नेता हो । कसैलाई मन पर्नु नपर्नु उसको निजी ममला हो । तर ‘बा’ भनेको ‘बा’ नै हो । मलाई भित्रैबाट मन परेर आयो । ‘बा’ को अघिल्तिर उभिएर शिर निहु¥याएर ‘बा’ लाई नमन गर्न मन लाग्यो । ‘बा’ लाई कार्यकर्ताहरुले डाइना मौरीले रानोलाई घेरामा परे जस्तै घेरिरहेका छन् । ‘बा’ सम्म पुग्ने साहस आएन । फेरि ‘बा’ का बारेमा आफ्नो मनलाई नै प्रश्न गरे आखिर ‘बा’ को यतिका क्रेज किन । हुन त मलाई त्यसमा केको टाउको दुखाइ अनि किन इस्र्या पनि गर्नु परो र ! फेरि सम्झे ‘बा’ तपाईँले यो जति पनि अहिले भत्काएर बनाउन बल प्रयोग गरी रहनु भएको छ । यदि नभत्काइ त्यसैलाई सिंगारपटार गरेको भएको कस्तो राम्रो देखिन्थ्यो होला । तपार्इँसँग सुन थियो । ‘बा’ त्यसलाई सुगन्ध दिन छोडेर फलाम बनाइ दिनुभयो ।
आज मेरो मुलुकपनि अरु विकसित मुलुकसँग कुम जोडाउन पुग्ने हुने थियो । ‘बा’ यो के पो गर्नुभयो । यस्तै धेरै प्रश्नहरु अघिल्तिर आउन लागे अनायसै ‘बा’ प्रति रिस उठेर आयो । आफूलाई कन्ट्रोल गर्दै सम्झें आखिर ‘बा’ को क्रेज चाही कि न त ? यो प्रश्नको उत्तर मलाई धेरैले दिनुहुन्छ थाहा छ । धेरैको यसमा तर्क आउँछ उखाने भएर । अझ धेरैको आउँछ ‘बा’ राजनेता हो त्यसैले । यी दुवै उत्तर मेरा लागि सहि हुने छैन । किन कि म ‘बा’ को वास्तविक क्रेजको राज पत्ता लगाउन चुनावसम्म कुर्नेछु । यदि आउने जुनसुकै चुनावमा पनि सूर्य उदायो भने दोस्रो उत्तरलाई सहि मान्ने छु, अनि अस्ताउँदै गयो भने पहिलो उत्तरलाई सही मान्ने छु । भविश्यमा मैले जे मानेपनि वर्तमानमा ‘बा’ को क्रेज छ । सबैको जय होस् ।