विराटनगर । सत्ता गठबन्धन दल जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पेट्रोलियम पदार्थको अहिलेको मूल्य वृद्धि जनताले धान्न नसक्ने खालको भएको बताएका छन् । उनले यस विषयमा सरकारले पुनःविचार गर्नुपर्ने पनि बताए ।
विराटनगर विमानस्थलमा आज संचारकर्मीहरुसँग कुरा गर्दै यादवले यस्तो बताएका हुन् । ‘ पेट्रोलियम पर्दाथको मुल्य वृद्धि अन्तराष्ट्रिय स्तरमा भएको मूल्य वृद्धिका कारण भएको हो,’ यादवले भने, ‘तर अहिलेको मूल्य वृद्धि जनताले धान्न नसक्ने भएकाले मुल्य वृद्धि घटाउनुपर्छ ।’
अर्को प्रसंगमा यादवले न्यायलय भित्र देखिएको अहिलेको समस्या आफ्नो दायर भित्र रहेर न्यायलय आफैले सामधान खोज्नुपर्ने बताए । न्यायलय भित्रको समस्यामा राजनीतिक हस्तक्षेप गर्दा त्यसको प्रभाव अन्य क्षेत्रमा पनि पर्ने भएकाले राजनीतिक हस्तक्षेप गर्न नहुने उनको भनाइ थियो ।
उनले पाँचदलीय गठवन्धन आगामी संसदीय निर्वाचनसम्म एकतावद्ध भएर जाने दाबी गर्दै नेपाली काग्रेसका सभापती एंव प्रधानमन्त्रीको शेरवहादुर देउवाको चाहना पनि गठवन्धनलाई एकतावद्ध वनाएर लैजाने नै भएको दाबी गरे । त्यसैका लागि उच्च्स्तरीय राजनीतिक संयन्त्र गठन गरिएको उनको भनाइ थियो । ‘राष्ट्रसभाको निर्वाचनदेखि संसदीय निर्वाचनसम्म हामी एक भएर जान्छौ, अर्लि इलेक्सन अहिले आवश्यक छैन, निर्वाचन निर्धारित मितिमा नै हुन्छ’, उनले भने ।