बाढीबाट ४१ करोड बढीको क्षति

बक्राहामा ३ हजार ३७० मिटर कटान गर्दा १६ करोड ८६ लाख रुपैयाँको नोक्सानी

विराटनगर । मोरङका चार नदीमा यहि कात्तिकको पहिलो साता आएको बाढीले कूल ४१ करोड ६१ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

कोशी बक्राहा नदी व्यवस्थापन आयोजनाका अनुसार वर्षा र बाढीले बक्राहामा ३ हजार ३७० मिटर कटान गर्दा १६ करोड ८६ लाख रुपैयाँको नोक्सानी भएको छ ।

लोहन्द्रा नदीमा ३ हजार २५० मिटर कटान गरी ८ करोड २५ लाख, चिसाङ खोलामा १२ करोड ६ लाख र दसबरहा नदीमा १ हजार ११० मिटर कटान गरी ४ करोड ४४ लाख रुपैयाँ बराबरको क्षति भएको आयोजना प्रमुख कैलाश श्रेष्ठले जानकारी दिए । यी नदीमा समयमै नियन्त्रण र तटबन्धको काम भएन भने आउने वर्षा एवं मनसुनको समयमा थप जनधनको क्षति भई नदी क्षेत्र र आसपासका बासिन्दाले नोक्सानी व्यहोर्नुपर्ने श्रेष्ठले बताए ।

कोशीसहित ५ नदी व्यवस्थापनका लागि स्थापना गरिएको उक्त आयोजनाले प्रारम्भदेखि नै अध्ययन गरी काम गर्दै आएको थियो । काम गर्न पर्याप्त बजेट अभाव भएको आयोजनाका इञ्जिनियर कृष्ण खतिवडाले बताए ।

यसैगरी चालु आवका लागि बक्राहामा ६ स्थानमा ४ करोड ६६ लाख ६६ हजार, चिसाङ खोलामा एक स्थानमा १ करोड १ लाख ४ हजार, लोहन्दा नदीमा एक स्थानमा ५० लाख ९७ हजार र बक्राहा नदीमा ८३ लाख ३९ हजार रुपैयाँ बराबरको नदी नियन्त्रण एवं व्यवस्थापनको काम भइरहेको खतिवडाले जानकारी दिए । वर्षा र बाढीका कारण सुनसरी र मोरङ औद्योगिक करिडोरअन्तर्गत ४१ उद्योगमा २ अर्ब ४७ करोड ८९ लाख ८ हजार बराबरको क्षति भएको उद्योग सङ्गठन मोरङले जनाएको छ ।

मेसिन औजारतर्फ ९८ करोड १७ लाख १८ हजार, कच्चा मालवस्तुतर्फ ७१ करोड २५ लाख ७० हजार, तयारी वस्तुतर्फ ७६ करोड ४ लाख ५ हजार र सरसफाइ तथा फोहर व्यवस्थापनतर्फ १ करोड ७१ लाख ६५ हजार बराबरको क्षति भएको छ । यस्तै वर्षा र बाढीले चतरा मूल नहरको चार स्थानमा र २० शाखा अन्तर्गत १४ स्थानमा नहर भत्किँदा करिब १० करोडको क्षति भएको सुनसरी मोरङ सिँचाइ आयोजनाका प्रमुख भीलानन्द यादवले जानकारी दिए ।

बाढीपहिराका कारण प्रदेशमा ७२ जनाले ज्यान गुमाएका थिए भने १२ जना बेपत्ता, ४० घरमा पूर्णरूपमा क्षति, १ हजार ८२५ घरमा आंशिक क्षति, १० हजार हेक्टर जग्गामा लगाइएको धानबाली नष्ट भएको थियो ।

बुधबार, १७ कार्तिक, २०७८, बिहानको १०:३३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर