विराटगनर । कक्षा १२ को उत्तरपुस्तिका जाँच गर्दा राष्ट्रिय परीक्षा बोर्ड प्रदेश १ कार्यालयको प्रमुखसमेतको मिलेमतोमा अनियमितता भएकोमा उनलाई कारवाही गर्नुको साटो सरुवा गरेर बोर्डले झारो टारेको छ ।
विराटनगरका केही नाम चलेका विद्यालयहरुसँगको मिलेमतोमा बोर्डका प्रादेशिक कार्यालय प्रमुखले तिनै विद्यालयका शिक्षकलाई कपी जाँच्ने व्यवस्था मिलाइदिएका थिए । सो प्रकरण सार्वजनिक भएपछि प्रमुख डम्बरकुमार बतास विवादमा परेका हुन् ।
बोर्डले सम्बन्धित विद्यालयका शिक्षकलाई आफ्नै विद्यार्थीको कपी जाँच गर्न रोक लगाएको अवस्थामा बतासले सेटिङ गरेर त्यस्तो व्यवस्था मिलाएका थिए । झण्डै आधा जति कपी जाँच गरिसकेपछि घटना सार्वजनिक भएको थियो । घटनापछि अहिलेसम्म ती विद्यालयको जाँच्न बाँकी रहेको उत्तरपुस्तिका त्यतिकै थन्क्याएर राखिएको छ ।
कक्षा १२ को उत्तरपुस्तिका असोज १६ गतेदेखि जाँच गर्न थालिएको थियो । असोज २३ गते सम्बन्धित विद्यालयका शिक्षकले उत्तरपुस्तिका जाँच गर्दै गरेको फेला परेको थियो । त्यस घटनामा परीक्षा बोर्ड प्रादेशिक कार्यालयका प्रमुख बतासको प्रत्यक्ष संलग्नता पाइएपछि उनीमाथि कारवाही हुने अनुमान गरिएको भएपनि बोर्डले उनलाई काठमाडौस्थित केन्द्रीय कार्यालयमा हाजिर गर्न झिकाएर कारवाहीमा पर्नबाट जोगाउने प्रयत्न गरेको बताइएको छ ।
उत्तरपुस्तिका जाँचमा सेटिङ गरेर अनियमितता गरेका बतासलाई पहिलो यस्तो आरोप लगेको भने होइन । यसअघि पनि उनीमाथि यस्तै भ्रष्टाचार र अनियमितताको आरोप लागेको थियो । केन्द्रीय परीक्षा नियन्त्रकबाट कारवाहीमा परेर उनको घटुवा भएको बताइएको छ ।
घटुवामा परेपछि बतास प्रादेशिक प्रमुख भएर विराटनगर आएका थिए । ‘तर, नानीदेखि लागेको बानी हटदैन र नेपाल गए कपालसँगै’ भन्ने उक्ति जस्तै बतासको बानी रहेको एक शिक्षकले बताए । उनले भने ‘उनी जहाँ गएपनि अनियमिता र सेटिङ नै गर्ने हुन्, कटहरीको काण्डदेखि विराटनगरसम्मको घटनाले त्यसलाई नै पुष्टि गर्छ ।’
पटक–पटक अनियमितता गर्ने बतासलाई जोगाउने र कारबाहीबाट बचाउनु पर्ने कारणको विषयमा भने बोर्डका केन्द्रीय अधिकारीहरु यस विषयमा मुख खोल्न चाहदैनन् । केन्द्रीय परीक्षा कार्यालयका प्रमुख कुष्णप्रसाद शर्माले देशभरका यस्ता घटनाका बारेमा हामीलाई जानकारी नहुने बताउँदै बतासलाई केन्द्रमा हाजिर गर्नेगरी कार्यालयले बोलाएको बताए । उनीविरुद्ध कुनै उजुरी भए बोर्डले कारवाहीको प्रक्रिया बढाउने शर्माको भनाइ छ ।
शर्माले राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालबाट त्यसबारे थप जानकारी लिन आग्रह गरे । तर, अर्यालले टेलिफोन नै रेस्पोन्स गरेनन् । बोर्डको प्रादेशिक कार्यालय प्रमुखको रुपमा भर्खरै आएका जीवन गड्तौलाले यसअघि सेटिङमा गरिएको भनिएको उत्तरपुस्तिकाको पुनःपरीक्षण हुने जानकारी दिएका छन् । उनले केही समयका लागि मात्र आफू कार्यालय प्रमुखको जिम्मेवारीमा आएको भन्दै बतासको विषयमा आफूलाई थप केही जानकारी नभएको भन्दै पन्छिए ।