किन रोकियो प्रदेशसभाको बैठक ? प्रमुख सचेतक कार्कीले ‘बार्गेनिङ’ गरेको आरोप

‘अनावश्यक किचलो झिकेर सरकारको आयु काँग्रेसले बढाइदियो’

विराटनगर । प्रदेश १ प्रदेशसभाको बैठक यसअघि तय भएको कार्यसूची अनुसार आइतबार बसेको भए नेकपा एमालेबाट संसदमा अल्पमत रहे पनि मुख्यमन्त्री बनेका भीम आचार्य पदमुक्त हुने अवस्था थियो । तर, यसअघि संविधानको गलत व्याख्या गरेर आयु लम्ब्याएको आरोप खेपेका उनलाई विपक्षी दल नेपाली काँग्रेसले थप एक साता मुख्यमन्त्री बन्ने अवसर जुटाईदिएको छ ।

नेपाली काँग्रेसका प्रमुख सचेतक केदार कार्कीले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको भ्रमणको बहानामा बैठक स्थगित गर्न प्रदेशसभामा निवेदन दिएका थिए । फोनमा कुरा गर्दा इटहरीमा रहेको बताउने कार्कीको निवेदन उनका सहयोगीले प्रदेशसभामा दर्ता गरेपछि सुरु भएको अन्यौलबीच बैठक कात्तिक १५ गतेसम्मको लागि स्थगित भएको सूचना प्रदेशसभाले निकालेको छ ।

सतहमा देउवाको भ्रमण भनिएपनि प्रदेशसभाको बैठक स्थगित हुने अवस्था आउनुको कारण काँग्रेसभित्रको किचलो रहेको काँग्रेस सांसदहरु बताउँछन् । ‘प्रदेशसभा बैठक स्थगित हुनुपर्ने कारण थिएन, आजै मतदान हुनुपर्ने थियो’ काँग्रेस सांसद प्रकापप्रकाश हाङगामले भने, ‘अनावश्यक किचलो झिकेर सरकारको आयु काँग्रेसले बढाइदियो ।’

निवेदनमा यसो भने पनि उनले निवेदन दिनुको कारणमा चाहिँ ‘फ्लोर क्रस’ को कुरा गरेका थिए । ‘हाम्रा केही सांसदले फ्लोर क्रस गर्ने सूचना पाएरै मैले निवेदन दिएको हुँ,’, गठबन्धनका अन्य घटक दलहरुसँग कार्कीले भनेका थिए ‘यदि आज बैठक भएर मतदान भएको भए हाम्रा केही साथीहरुले फ्लोर क्रस गर्थे ।’

त्यसो त बैठक स्थगित गर्ने निवेदन कार्कीको नामबाट प्रदेशसभामा दर्ता भएको विषय काँग्रेसकै अन्य सांसदहरुलाई पनि जानकारी थिएन । काँग्रेस संसदीय दलका उपनेता हिमाल कार्कीले संसदमा बुझाएको पत्र दलको आधिकारिक धारणा नभएको जानकारी दिए । यद्यपि त्यसमै टेकेर आयु लम्ब्याउने सरकारको चाहनामा सभामुखले सदर गरेको उनको भनाइ छ ।

देउवाको भ्रमणको बहानामा प्रदेशसभा बैठक स्थगित गर्न काँग्रेसले निवेदन दिएको भएपनि काँग्रेसका कोही पनि सांसद देउवासँग गएनन् । हेलिकप्टरबाट विराटनगर ओर्लिएका देउवालाई विराटनगर विमानस्थलमा भेटेपछि काँग्रेसका सबै सांसद प्रदेशसभामा फर्किएका थिए । त्यसैले प्रमुख सचेतक कार्कीले दिएको निवेदन बहाना मात्र थियो भन्ने स्पष्ट हुन्छ ।

बैठक स्थगित गर्न दिएको निवेदनबारे काँग्रेसभित्र फरक–फरक धारणा आएका छन् । काँग्रेस नेता शेखर कोइरालाले आफू निकट नेताहरुलाई उचालेर गठबन्धन टुटाउन खेल खेलेको आरोप संथापन पक्ष निकट सांसदहरुले लगाएका छन् । कोइराला निकट सांसदहरुले भने काँग्रेस सभापति देउवा निकट सांसदहरुले फ्लोर क्रस गर्ने संभावना देखिएकोले बैठक स्थगित गरेको प्रचार गरिरहेका छन् ।

बैठक स्थगित भएकोबारेमा काँग्रेस संसदीय दलको बैठकमै चर्काचर्की भएको थियो । प्रमुख सचेतक कार्कीले काँग्रेस सांसदले फ्लोर क्रस गर्ने संभावना रहेकोले बैठक स्थगित गरेको प्रचार गरेकोप्रति आपत्ती जनाउँदै सांसदहरुले कसले फ्लोर क्रस गर्न लागेको हो स्पष्ट पार्न माग गरेका थिए । उनीहरुले दलमा सल्लाह नगरी बैठक स्थगित गर्ने पत्र किन बुझाएको भन्दै कार्कीमाथि खनिएका थिए ।

‘काँग्रेसका सांसदले फ्लोर क्रस गर्छन् भन्ने हल्ला हाम्रा माननीयहरुलाई बद्नाम तुल्याउन गरिएको दुष्प्रचार हो, त्यसमा कुनै सत्यता छैन,’ काँग्रेस संसदीय दलका उपनेता हिमाल कार्कीले भने ‘आज दर्ता भएको निवेदन पनि काँग्रेस दलको आधिकारिक होइन ।’ काँग्रेसकै अन्य सांसदहरुले पनि संसद् रोक्न निवेदन दिने काम गलत भएको बताएका छन् ।

बैठक संसदीय दलका नेता राजीव कोइरालाले बैठक स्थगनको कारणबारे सञ्चारकर्मीले प्रतिक्रया माग्दा प्रदेशमा आफूहरुले पनि आलोपालो सरकारको नेतृत्व पाउनुपर्ने विषय रहेको बताए । बाग्मतीमा आलोपालो भएकोले यहाँपनि हुनुपर्ने उनको भनाइ थियो । तर, उनै कोइरालाले दशैअघि विपक्षी गठनबन्धनले गरेको पत्रकार सम्मेलनमा केन्द्रको सहमति अनुसार नेकपा एकीकृत समाजवादीको नेतृत्वमा सरकार बन्ने बताएका थिए ।

नेताहरुको फरक फरक प्रतिक्रिया आउँदा काँग्रेसका संथापन निकट सांसदहरुले भने केदार कार्कीले मन्त्री बन्न नपाउने खतरा देखेपछि बैठक स्थगन गराएको आरोप लगाएका छन् । ‘राजेन्द्र राई नेतृत्वमा सरकार बन्दा मन्त्रीहरु कसलाई बनाउने भन्ने बारेमा देउवाले नै लिष्ट दिने र आफू नपर्ने भय उनमा छ’ एक सांसदले भने, ‘त्यसैले मन्त्रीको ‘बार्गेनिङ’ गर्न आफूखुसी बैठक स्थगनको पत्र दिएर काँग्रेसलाई बद्नाम गराए ।’

सचेतक कार्कीले सत्तारुढ एमालेसँग मिलेर बैठक स्थगन गराएको आरोप पनि लागेको छ । त्यही भएर उनको निवेदनपछि एमालेको निवेदन प्रदेशसभामा गएको आरोप काँग्रेसका एक सांसदले लगाए ।

एमालेसँग मिलेको र मन्त्री हुन ‘बार्गेनिङ गरेको’ भन्ने आरोपको प्रमुख सचेतक कार्कीले भने खण्डन गरेका छन् । ‘प्रधानमन्त्री प्रदेशमा आउँदा बाढी पहिरोले पीडित नागरिकसित उहाँलाई भेट गराउनु थियो, समस्याहरु देखाउनु थियो, त्यही भएर हामीले सदन स्थगनको माग गरेका थियौं’, उनले भने ‘व्यक्तिगत रुपमा मन्त्री हुने–नहुने सवालै होइन ।’ कात्तिक १५ मा हुने मतदानमार्फत एमाले नेतृत्वको सरकार बिदा गरिने उनले बताए ।

आफ्नो मन्त्री पद सुरक्षित गर्न दलका नेता कोइरालाको सोझोपनको फाइदा कार्कीले उठाएको दावी काँग्रेसका एक सांसदले गरे । त्यसमा काँग्रेस नेता डा.शेखर कोइरालाको पनि हात रहेको उनीहरु बताउँछन् । डा.कोइरालाले प्रदेशमा काँग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने बताउँदै आएका छन् ।

काँग्रेस सचेतक कार्की मुख्यमन्त्री भीम आचार्यले संविधान उल्लंघन गर्दै कार्यकाल लम्ब्याएको भन्दै खरो आलोचना गर्ने गर्दथे । गत शुक्रबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तारुढ एमालेले ११ मात्र अर्को बैठक राख्न आग्रह गर्दा संविधान मिचेर कार्यकाल लम्ब्याएको भन्दै तत्काल विश्वासको मतबारे छिनोफानो हुनुपर्ने अडान उनले राखेका थिए । उनीसहित विपक्षीको अडानकै कारण सभामुखले आजको लागि बैठक तोकेका थिए । तर, उनकै कारण आचार्य सरकारको आयु ८ दिन लम्बिएको छ ।

काँग्रेसभित्रको किचलोका कारण नै मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने बैठकको कार्यसूची नै सार्वजनिक भइसकेको थियो । तर, अचानक बैठक स्थगित भएको हो । काँग्रेस प्रमुख सचेतक कार्कीको निवेदनसँगै सत्तारुढ नेकपा एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले १५ गतेसम्म बैठक स्थगित गर्न अर्को निवेदन दिएका थिए । सभामुख प्रदिप भण्डारीले त्यसलाई नै सदर गर्दै बैठक स्थगन गरे ।

सत्तारुढ एमालेले पनि गठबन्धनभित्रैको समस्याका कारण आज विश्वासको मत लिन नसकेको बताएको छ । ‘हामी आजै विश्वासको मत लिने तयारी गरेर आएका थियौं,’ एमाले नेता हिक्मत कार्कीले भने ‘गठबन्धनकै दलहरुका कारण रोकिने अवस्था भयो । हामीले केही समय थप माग्यौं । सभामुखले त्यो निर्णय लिनुभएछ ।’

प्रदेशसभामा सत्तारुढ एमाले प्रष्ट अल्पमतमा छ भने विपक्षी गठबन्धन आरामदायी बहुमतको अवस्थामा छ । मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धि प्रस्तावमा मतदान भएको भए आजै आचार्य पदमुक्त हुने थिए । किनकी ९२ सदस्यीय प्रदेशसभामा बहुमतको लागि ४७ मत आवश्यक पर्नेमा आचार्यले ३९ मत मात्र पाउने अवस्था छ । प्रदेशसभामा एमालेका ४१ सांसद रहेपनि सभामुख प्रदिपकुमार भण्डारीले निर्णायक मत मात्र दिन पाउने र गुलेफुन मियाँ फरार छन् ।

विपक्षी गठनबन्धन भने ५० मतसहित नयाँ सरकार निर्माणको तयारीमा थियो । गठबन्धनमा नेपाली काँग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ सांसद छन् । राप्रपाका १ सांसद भने कतै खुलेको अवस्था छैन ।

आइतबार, ०७ कार्तिक, २०७८, साँझको ०५:५१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर