विराटनगर । शरीरका प्रायः सबैतिर मासुका डल्ला छन् । ढाडमा मासुको डल्ला झुण्डिएको छ । दाहिने हात, अनुहार र कानमा पनि मासुकै डल्ला छन् ।
मोरङको मिक्लाजुङ गाउँपालिका – ५ खोलीटारका ३५ वर्षीय सुवास राई भन्छन्, ‘आफूलाई आफैले हेर्दा, हिँडडुल गर्दा दिक्क लाग्छ ।’ उनले यस्तो कष्टकर जीवनयापन गरेको वर्षौ भइसकेको छ ।
उनको घाँटीदेखि कम्मरसम्मको विभिन्न भागमा मासुको पोका (डल्ला) छन् । अनुहारमा साना दाना, घाँटीदेखि ढाडसम्म झुण्डिएको अजङ्गको मासुका थैलाले राती सुत्दा र बस्दा पेलिएर असह्य पीडा हुने गरेको उनले सुनाए । सुत्न बस्न नमिलेर छट्पटिएर रात काट्दाको सकस बयान गरी साध्य नभएको उनी सुनाउँछन् । ‘छटपटीमा रात बित्ने गरेको छ । उत्तानो परेर नसुतेको वर्षौै भइसक्यो,’ उनले ढाडमा झुण्डिएको मासुको डल्ला देखाउँदै सुनाए, ‘खाटमा मज्जाले सुत्न पनि मिल्दैन । कोल्टे परेर सुतेको वर्षौ भइसक्यों । यसरी सुत्दा निद्रा पनि लाग्दैन । छटपटीमा रातदिन बित्ने गरेको छ ।’
उनलाई लाग्छ, मलाई देखेर अरुले फर्कीफर्की कुरा नकाटुन्, बालबालिका नडराउन्, कसैले छिछी र दूरदूर नगरुन् । तर, वर्षाैंदेखि उही पीडाले पछ्याइरहेको छ उनलाई । शरीरमा पलाएको मासु देखेर स्कुलका साथीहरुले समेत घृणा मानेपछि सात कक्षा पढेर उनले आफ्नो पढाइको यात्रा टुङ्ग्याउनुप¥यो । ‘साथीहरु मलाई देखेर परपर भाग्न थाले, घिनाउन थालेको सहनै सकिनँ, त्यसपछि स्कुल जानै छाडेँ । सँगै पढेका साथीहरु अहिले कहाँ–कहाँ पुगिसके’, उनले भने ।
‘मेरो पीडा बुझ्ने यो संसारमा भगवान त छैनन’ उनी भन्छन्, ‘आमा वित्नुभो, बुवा र भाइको साथ सहयोगले बाँचिरहको छु ।’ एउटा सामान्य मानिस भएर बाँच्ने रहर सुवासमा नहुने कुरै भएन । ‘भगवानले मलाई त्यो लायक नै बनाएनन्’ उनी भन्छन् ‘शरीरको कुनै पनि ठाउँ मासुको डल्लो नभएको छैन । ढाडमा झुण्डिएको ठूलो डल्लो त म अडेस लाग्दा, सुत्दा पेलिएर घाउ नै भएको छ । कहिलेकाँही रगतसमेत आउँछ, तर सहेरै बस्नुपर्ने बाध्यता छ ।’
सुरुवातमा उनको अनुहारमा मासुको डल्ला आएको थियो । बिस्तारै मासुको डल्ला शरीरभरी फैलियो । उनका ३० वर्षीय भाइ केवल राईको पनि दाहिने हातमा मासुको डल्ला आउन सुरू गरेको छ । तर, भाइको सुवासको जस्तो शरीरभरी मासुको थुप्रो झुण्डिएको छैन । बेलैमा उपचार गर्न सके शरीरमा मासुको डल्ला नफैलिने चिकित्सकहरुले बताउने गरेको उनीहरू सुनाउँछन् । आर्थिक अवस्था नाजुक रहेको राई परिवारमा उपचार गर्ने पैसा नहुँदा दाजुभाइ शरीरभरी मासुको डल्ला लिएर कष्टकर जीवनयापन गर्न बाध्य छन् । ज्याला मजदुरी गरेर गुजारा चलाउँदै आएका उनीहरू खेती किसानी गर्दछन् । ‘बिहान बेलुका दुई छाक खान मुस्किछ छ । उपचार गर्ने त परको कुरा भयो,’ सुवासले भने, ‘ठूलो ठाउँमा दक्ष चिकित्सकलाई देखाउन पाए ठिक हुने थिएँ कि !’
दिनदिनै सुवासको शरिरभरी मासुको डल्ला फैलिन थालेपछि स्थानीय युवाहरुको समूहले उपचारको लागि रकम संकलन गर्न थालेका छन् । शरीरभरि मासुको डल्ला फैलिएको देखेपछि सुवासको उपचारको लागि सहयोग संकलन गर्न सुरु गरिएको स्थानीय युवा शंकर बजगाइँले बताए । ‘सुवासको उपचार सम्भव हुने चिकित्सकहरुले बताएको कारणले हामीले सहयोग संकलन गर्न सुरु गरेको छौं,’ उनले भने, ‘सुवासको उपचारमा सबैले साथसहयोग गर्न आग्रह गर्दछु ।’