किन अचाक्ली बढ्यो तेलको मूल्य ?

भारत लगायत अन्तर्राष्ट्रिय क्षेत्रमा माग उच्च भएको र उत्पादनमा गिरावट आएकै कारण तोरीको मूल्य बढेको उद्योगीहरुको भनाइ छ

विराटनगर । दसैंतिहार जस्ता ठूला चाडपर्वमा अधिक खपत हुने तेलजन्य वस्तुको मूल्य अधिक बढेको छ । अघिल्लो वर्ष प्रतिलिटर २ सयभन्दा कममा पाइने तोरी तेलको मूल्य बढेर झण्डै तीन सय पुगेको छ ।

तोरी तेलमात्र होइन रिफाइनरी तेलमा झण्डै दोब्बर र घ्यूको मूल्यमा पनि भारी वृद्धि भएको छ । सरकारी स्वामित्वको दुग्ध विकास संस्थानले दसैंकै मुखमा घ्यूको भाऊ बढाएको छ भने तेलजन्य वस्तुमा भएको मूल्यवृद्धिको सबैभन्दा बढी असर उपभोक्ताहरुमा परेको छ ।

महंगीको मारमा पिल्सिएका सर्वसाधारणको भान्सा तेलकै कारण महंगीएको छ । किसानले उत्पादन गरेको दूधको मूल्य नबढाई सरकारले घ्यूको मूल्य बढाएर उपभोक्ताको ढाड सेक्ने काम गरेको आरोप उपभोक्ताहरुले लगाएका छन् । घ्यूको मूल्य बढ्नुमा अन्तर्राष्ट्रिय प्रभाव नभएपनि तोरी र अन्य तेलको मूल्य वृद्धिमा भने अन्तर्राष्ट्रिय कारण रहेको व्यवसायीहरुले बताएका छन् ।

यसकारण बढ्यो तोरी तेलको मूल्य

भारत लगायत अन्तर्राष्ट्रिय क्षेत्रमा माग उच्च भएको र उत्पादनमा गिरावट आएकै कारण तोरीको मूल्य बढेको उद्योगीहरुको भनाइ छ । प्रतिटन ४६० डलरमा पाइने तोरीको मूल्य बढेर अहिले ८६० डलर पुगेको घरेलु तेल उत्पादक श्रवण अग्रवालले बताएका छन् । उनले भने ‘तेलको मूल्य बढ्नुको एउटै कारण भारत र विदेशमा तोरीको मूल्य बढेर हो, तोरीको मूल्य दोब्बरले बढेपछि तेलको मूल्य बढ्नु स्वभाविक हो ।’

तोरी बाहेक अन्य रिफाइनरी तेलको मूल्य पनि अन्तर्राष्ट्रिय बजारकै कारण बढेको अग्रवालले बताएका छन् । ‘पहिले ब्लेण्डिङ आयलको अवधारणा थियो । अब ब्लेन्डेड तेल पाइन्थ्यो । सरकारले तोरीको तेलमा मिसावट गर्न बन्देज लगाइदियो जसले भारतमा तोरीमा माग बढ्यो । पहिले ८० प्रतिशतसम्म मिसावट गर्न पाइन्थ्यो,’ भारतमा उत्पादित तोरी अब भारतलाई नै पुग्न छोड्यो जसले गर्दा तोरीको मूल्य बढ्यो । तोरीको मूल्य बढेपछि स्वभाविक रुपमा तेलको पनि मूल्य बढ्यो ।’

नेपालमा भारत, अष्ट्रेलिया, युक्रेन र क्यानाडाबाट तोरी आयात हुने गरेकोमा पछिल्लो समय भारतबाट तोरीको आयात घटेको छ । भारत सरकारले तोरीको तेलमा रिफाइन तेल मिसावट गर्न बन्देज लगाएपछि भारतमा तोरीको खपत बढेको छ । जसले गर्दा भारतमा प्रतिकिलो ३५ रुपैयाँमा पाइने तोरीको मूल्य बढेर ८० रुपैयाँ भारु पुगेको अग्रवालले जानकारी दिए ।

उता क्यानाडामा तोरीको उत्पादनमा भारी गिरावट आएका कारण विश्वभर तोरीको माग बढेको व्यापारीहरुले बताएका छन् । क्यानाडामा ठूलो परिमाणमा तोरी उत्पादन हुने र उसले विश्वभर तोरी निर्यात गर्ने गर्दछ । उत्पादन घटेपछि विश्वभर आपूर्ति कमभई तेलको मूल्य बढाएको हो ।

सरकारले सहयोग गरे मूल्य घट्नसक्छ

तेल उत्पादन गर्दै आएका उद्योगीहरुले सरकारले सहयोग गरे उपभोक्तालाई महंगीको मारबाट थोरै भएपनि जोगाउन सकिने व्यवसायीहरुले बताएका छन् । मूल्य बढ्न नदिन सरकारले भन्सार दरमा छुट र भ्याट रकम फिर्ता सम्बन्धी निर्णय गरेको खण्डमा मूल्य १० प्रतिशतसम्म घट्न सक्ने उनीहरुले बताएका छन् । सरकारले गतवर्षबाट तेल उद्योगीहरुले पाउँदै आएको मूल्य अभिवृद्धि कर फिर्ताको व्यवस्था खारेज गरेकोले पनि त्यसको अतिरिक्त भार उपभोक्तामाथि नै थपिएको उद्योगी अग्रवालले बताए ।

छैन तोरीको उत्पादन

नेपाल तोरी उत्पादनमा पूर्ण परनिर्भर देखिएको छ । नेपालमा उत्पादित तोरी उद्योगसम्म आइनै नपुग्ने गरेको व्यवसायी अग्रवालले बताए । उनले भने ‘नेपालमा तोरीको उत्पादन नगन्य मात्र छ । नेपालको उत्पादनले एक दिनका लागि पनि पुग्दैन । मैले उद्योग सुरु गरेको ८ वर्ष भयो नेपालको तोरी एक गेडो पनि किनेको छैन ।’

नेपालको दाङ, नवलपरासी, चितवन आदि जिल्लामा उत्पादित तोरी पहिले उद्योगसम्म आइपुग्ने गरेको भएपनि अहिले उत्पादन घटेको छ । ‘नेपालमा उत्पादित तोरी उद्योगमै आउँदैन र उद्योगका लागि नेपाल तोरीमा पूर्ण परनिर्भर छ,’ अग्रवालले भने ।

बुधबार, २७ असोज, २०७८, बिहानको ११:०७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर