कुमार लुईंटेल
‘के को चुनावमा उठ्नु ? चुनाव त आएकै छैन नी ! फेरि नेपाल पत्रकार महासंघको चुनाव सकिएको भर्खरै ६ महिना त बित्दैछ । त्यो बेला त उठिएन । अब के मा उठ्नु ?’
‘चुनावमा उठ्नु भएन ?’ भन्ने मेरा एक मित्रको प्रश्न भुइँमा खस्न नपाउँदै मैले प्रतिप्रश्न तेस्र्याएँ । एक हिसाबले भन्दा जवाफ नै फर्काइदिएँ । विगतमा प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा मत खसालिएकै हो । स्थानीय तहका जनप्रतिनिधि छान्न पनि मत हालेको थिएँ ।
नेपाल पत्रकार महासंघको केन्द्र, प्रदेश र जिल्लाको चुनावमा मत खसालेको धेरै भएको छैन । शुभेच्छुक संगठनको चुनावमा पनि मताधिकार प्रयोग गरिएकै हो । आम नागरिकमा भएजस्तै मताधिकार ममा पनि सुरक्षित छ ।
पछिल्लो दुई सातासम्म पत्रकारहरुलाई खुब चुनाव लाग्यो । यो न प्रतिनिधिसभा, न प्रदेशसभा नत स्थानीय तहकै चुनाव थियो । खासमा नेपाली कांग्रेसको वडा अधिवेशनको सन्दर्भले पत्रकार दीर्घामा चुनावी माहोल तात्तिएको थियो । चुनावका बेला राम्रा समाचार लेख्न पत्रकार तानिन्छन् । जनजनमा चुनावसँग सम्बन्धित विषयवस्तु पस्कनु पत्रकारको कर्तव्य नै हो । तर, यो पटकको परिवेश अलि फरक थियो । को–को पत्रकार उठे ? कसले कहाँ मनोनयन दर्ता गराए ? कसको जित्ने संभावना छ ? को कुन गुटबाट उठेको छ ? अनि पछि को–को विजयी भए ? को हारे ? भन्ने हिसाबको लेखाजोखा यद्यपि अहिले पनि चलिरहेको छ । चुनावले वास्तबमै बजार गर्माएकै हो ।
सामाजिक सञ्जाल, चियागफ र प्रत्यक्ष भेटघाटमा चुनावी परिचर्चाले प्राथमिकता पायो । सामाजिक सञ्जालका भित्ता र समूह हुँदी पत्रकारले प्रचारका प्रशस्तै सामग्री राखे । मत मागे । लगत्तै विजयी भएकाहरुको सन्देशहरु आउन थाले । धन्यवाद ज्ञापन गरिएका धेरै ‘स्टाटस पोस्ट्याए’ । पदस्थापनका तस्विरहरु पनि हेर्न पाईयो ।
सिद्धान्ततः पत्रकार कुनै पनि दलको पक्षधर हुँदैनन् । उनीहरु तटस्थ बस्नुपर्छ । पत्रकार कसैको पक्षधर भए भने ‘आवाज विहीनहरुको लागि गरिने पत्रकारिताको मुखमा बुझो लाग्छ ।’ पत्रकारले गर्ने प्रश्नहरु मर्छन् । भन्नु नै पर्दा उनीहरु प्रश्नविहीन बन्छन् । पत्रकारको पहिलो र अन्तिम काम नै प्रश्न गर्ने हो ।
हाम्रो परिवेश भने पत्रकारिताको सिद्धान्त र नैतिक आचारण भन्दा ठ्याक्कै उल्टो दिशामा छ । पत्रकारहरु पार्टीका बनेका छन् । पार्टीका नेता जस्तै बोल्छन् । त्यस्तै गहकिला भाषण गर्छन् । नेताको लोलीमा बोली मिलाएर हिँडेका छन् । कलमजीवीको रुपमा भन्दा पनि उसको पहिचान फलानो वा चिलानो पार्टीको हो भन्ने भएको छ । यो र त्यो पार्टीको । समूह र फलानो गुटको आदि यस्तै यस्तै । हिजोआज पत्रकारले सामाजिक रुपमा कमाएको ख्याति यही नै हो ।
भनिन्छ, मानिस विचारशील प्राणी हो । उसले कुनै न कुनै सिद्धान्तको पैरवी गर्छ । पक्षधरता पनि राख्न पाउँछ । पक्ष र विपक्ष लिनसक्छ । उसो भए, के पत्रकार विचारविहीन हुन सक्दैनन् ? आम रुपमा धेरै सोधिने प्रश्न हो, यो । ‘तिमीले पस्कने विषयवस्तुमा तिम्रो विचारको गन्ध आउनुहुँदैन’ पत्रकारिताका दिग्गज गुरुहरुले हामीलाई पढाएको विषयको सार यही हो । तर, व्यवहारमा हेर्ने हो भने यो मर्म मुर्छित मात्र होइन, मृतप्रायः देखिन्छ । पत्रकार पक्ष विपक्षको कित्तामा उभिका छन् । आवाजविहीन भन्दा पनि चर्को आवाज भएकाहरुको पिच्छलग्गु भएर दौडिएका छन् । उनीहरुकै आवाज बुलन्द बनाउन तम्सिएका छन् । कांग्रेसको चुनावमा झल्किएको पत्रकारको व्यवहार यही हो ।
के, कांगे्रसको मात्र यसअघिको स्थानीय चुनावमा पनि भएको यही हो । प्रतिनिधिसभा, प्रदेश र स्थानीय चुनावमा पार्टीको टिकट लिएर उठेकाहरु हारेर फेरि पत्रकारितामै फर्किएका छन् । फर्किएर उनीहरु पनि समाचार लेख्न व्यस्त छन् । र व्यवसायिक पत्रकारिताको रटान लगाउन भ्याएकै छन् । काँग्रेससहित नेकपा (एमाले), नेकपा समाजवादी, नेकपा (माओवादी केन्द्र) आदि धेरै पार्टीका आ–आफ्नै पत्रकार छन् । उनीहरुले पार्टी र नेताको भजन गाएकै छन् । समर्थनमा समाचार पस्किएकै छन् । रित्ततो छ त केवल जनताको हात । उनीहरुको आवाज मुखरित गरिदिने पत्रकार न न उनीहरुको भएका छन् न त हामी तिमीहरुकै हौं भन्न छाडेका छन् ।
पत्रकारको टाउकोबाट पार्टीको टोपी फुस्काउने हो भने पहिले नेपाल पत्रकार महासंघको शुद्धिकरण जरुरी छ । पार्टीगत र झन्डागत रुपमा चुनावी मैदानमा ओर्लने संस्कार क्रमभंग गरिनुपर्छ । पार्टीका भातृ र शुभेच्छुक भनिएका प्रेस चौतारी, प्रेस संगठन, प्रेस युनियन, समाजवादी प्रेस युनियन सबै संगठन भंग गरिनुपर्छ । व्यक्तिगत र पार्टीको पैरवी गर्न पत्रकारितालाई भजाउने वर्गलाई पत्रकार महासंघको गेट बन्द गरिनुपर्छ । जय पत्रकारिता !