पाथीभरा र हलेसी दर्शन बन्द

ताप्लेजुङ । कोरोना भाइरसको संक्रमणको कारण प्रदेश नं. १ को प्रशिद्ध तीर्थस्थल ताप्लेजुङको पाथीभरा र खोटाङको हलेसी मन्दिर दर्शन स्थगित गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा शनिबार बसेको सरोकारवालाको बैठकले केही समयका लागि दर्शनका लागि नजान अनुरोध गरेको हो ।

कारोना संक्रमणको जोखिमलाई वेवास्ता गर्दै पाथीभरा दर्शन गर्ने जानेको ताँती लागेपछि जिल्ला प्रशासन कार्यालयले बन्द गर्ने निर्णय गरेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिनुभयो । शनिबार मात्र १ हजार ६ सय तीर्थयात्री पाथीभरा मन्दिर पुगेका थिए ।

नेपालको विभिन्न भूभागसहित भारतको सिक्किम, दार्जिलिङ, विहारसम्मका नागरिकले पाथीभराको दर्शन गरेका छन् । सरकारले सकेसम्म घरमै बस्न र अत्यावश्यक काम वाहेक हिडडुल नगर्न आग्रह गरिरहेका बेला पाथीभरामा भने तीर्थयात्रीको भीड लागेकोले दर्शन बन्द गरेको हो ।

कोरोनाको जोखिमकै कारण खोटाङको त्रिधार्मिकस्थल हलेसी मन्दिर अनिश्चितकालका लागि बन्द गरिएको छ । दैनिक आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने विश्व प्रसिद्ध हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसी मन्दिर शनिबारदेखि अनिश्चितकालका लागि बन्द गरिएको हो ।

विश्वभरका दर्शनार्थी तथा पर्यटक भित्रने त्रिधार्मिकस्थल हलेसी मन्दिर नगरपालिका, विकास समिति र मन्दिर व्यवस्थापन समितिबीच छलफल गरेर अनिश्चितकालका लागि बन्द गरिएको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले जानकारी दिनुभयो । त्रिधार्मिकस्थलको रुपमा विश्व प्रसिद्ध हलेसी अनिश्चितकालका लागि बन्द गरिएको यो पहिलो घटना हो ।

आइतबार, ०९ चैत, २०७६, बिहानको ०७:५९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर