विराटनगर । विराटनगर– १३ स्थित ताजुल इस्लाम नमुना आधारभूत विद्यालय (मदरसा) का व्यवस्थापन समिति अध्यक्ष हैदर अलीले किर्ते हस्ताक्षर गरेर शिक्षक नै नभएकालाई प्रधानाध्यापकमा नियुक्त गरेर लाखौं रूपैयाँ हिनामिना गरेको आरोप लागेको छ ।
उनले एकलौटी तरिकाले विद्यालयको लेटरप्याड दुरूपयोग गर्दै किर्ते हस्ताक्षर संकलन गरेर शिक्षक नभएका मोहम्मद जावेदलाई प्रधानाध्यापकमा नियुक्त गरेका हुन् । त्यसक्रममा मदरसाको लाखौं रुपैयाँ हिनामिना गरेको आरोप उनीमाथि लागेको हो ।
अलीले २०७६ साल चैतमा मदरसामा जावेदलाई नियुक्त गरेको खुलेको छ । अध्यक्ष अलीले व्यवस्थापन समितिको अन्य सदस्यहरू, विराटनगर १३ का वडाअध्यक्ष झरिलाल महतोसमेतको किर्ते हस्ताक्षर गरेर मदरसाको प्रधानाध्यापक नियुक्त गरेका हुन् । अलीले किर्ते हस्ताक्षर संकलन गरेर सो पदमा नियुक्ति भएको पत्र र व्यवस्थापन समितिको निर्णायको पत्रको आधारमा विराटनगर महानगरपालिकाको शिक्षा शाखाले २०७७ सालको असार ३० गते जावेदलाई नियुक्त गरेको थियो ।
गैरकानुनी तरिकाले नियुक्ति भएपछि जावेद र व्यवस्थापन समितिका अध्यक्ष हैदर अली मिलेर मदरसामा आएको अनुदान रकम र १२ जनाको शिक्षक तलब पनि हिनामिना गरेको पाइएको छ । जावेद र अली मिलेर मदरसाको १० लाख रुपैयाँ हिनामिना गरेको आरोप छ । अली र जावेदले लाखौं रूपैयाँ हिनामिना गरेपछि १२ जना शिक्षकले दुई वर्षदेखि तलब नपाएको मदरका शिक्षक सम्सत बरेजले जानकारी दिए ।
व्यवस्थापन समितिका बहुमत सदस्यहरुले अलीलाई व्यवस्थापन समितिको अध्यक्षबाट २०७६ सालको माघ ११ गते हटाएका थिए । तर, अली र जावेदले एकलौटी तरिकाले विद्यालयको लाखौं रुपैयाँ हिनामिना गरेको मदरसाका शिक्षकहरु बताउँछन् । किर्ते हस्ताक्षर प्रयोग गरेर लाखौं रुपैयाँ हिनामिना गरेपछि व्यवस्थापन समितिका पदाधिकारी र शिक्षकहरू मिलेर अहिले उच्च अदालत विराटनगरमा मुद्दा दायर गरेका छन् । समितिले अली र जावेदविरूद्ध अदालतमा ‘किर्ते जालसाज र आर्थिक हिनाहिना’ मुद्दा दायर गरेको छ । मुद्दा अदालतमा बिचाराधीन छ ।
यसरी किर्ते हस्ताक्षर प्रयोग गरी विद्यालयको लाखौं रुपैयाँ हिनामिना गरेको वडा कार्यालय, विराटनगर महानगरपालिकाको शिक्षा महाशाखा र स्थानीय प्रशासनलाई जानकारी गराउँदा पनि चासो नदेखाएको शिक्षकहरू बताउँछन् । ‘हैदर अली र जावेदले किर्ते हस्ताक्षर गरी विद्यालयको लाखौं रूपैयाँ हिनामिना गरेको प्रमाण सहित उजुरी गर्दा पनि सम्बन्धित निकायले ध्यान नदिएपछि हामी अदालतको सहारा लिन बाध्य भयौ,’ शिक्षका रम्भा पण्डितले भनिन्, ‘प्रशासनबाट नपाएको न्याय अदालतबाट पाउनेमा हामी आशाबादी छौं ।’ कक्षा आठसम्म पढाइ हुने विद्यालयमा १ सय ३५ जना विद्यार्थी अध्ययरत छन् ।
विराटनगर १३ का वडाअध्यक्ष झरीलाल महतोले निक्ष्काशित अध्यक्ष अलीको बैठकमा आफू नगएको र कुनै पनि निर्णायमा हस्ताक्षर नगरेको बताएका छन् । गत जेठ २ गते मदरसाको नाममा पत्र काट्दै वडा अध्यक्ष महतोले भनेका छन्, ‘बैठकको निर्णय पुस्तिकामा मेरो हस्ताक्षर रहेको भन्ने बुझिएकोमा मैले हामसम्म उक्त पुस्तिकामा सक्कल देख्न नपाएको र सोको छायाप्रति हेर्दा हस्ताक्षर मेरो नभएको भन्नेमा म विश्वस्त छु ।’
मुद्दा परेपछि जावेद र हैदर फरार
अदालतमा मुद्दा परेपछि जावेद र हैदर अलीे फरार भएका छन् । उच्च अदालतमा उनीहरूविरुद्ध मुद्दा परेपछि फरार भएका हुन् । उनीहरू सम्र्पकविहीन रहेको मदरसाका शिक्षकहरु बताउँछन् ।
फरार भएका जावेदसँग नेपाल र भारत दुवै देशको नागरिकता छ । विराटनगर – १७ मा बस्दै आएका जावेदले १७ वर्षको उमेरमा २०६२ चैत २८ गते वंशजको नागरिकता लिएका थिए । नेपाली नागरिकता नं. ७८६७१ रहेको उनले भारतीय नागरिकता पनि त्यागेका छैनन् । उनको भारतीय मतदाता परिचय पत्र नं. ७१६ रहेको छ । मतदाता हेल्पलाइनमा उल्लेख भएको विवरण अनुसार जावेदको भारतको विहार राज्य, अररिया जिल्ला फारविसगंज निर्वाचन केन्द्र तोकिएको छ । अररिया जिल्लाको फारविसगंज र जोगवनीमा पनि उनको घर छ । विराटनगर १७ इलास्मपुरमा चार कठ्ठा जग्गा रहेको देखिएको छ ।