नक्कली परीक्षार्थी भएर कक्षा १२ को परीक्षा दिने २२ जना फेला, कारबाही नगरि छोडियो

विराटनगर । मोरङ कटहरीको एक परीक्षा केन्द्रबाट कक्षा १२ को *नेपाली विषयको परीक्षामा सहभागी २२ जना नक्कली परीक्षार्थीलाई बाहिर निकालिएको छ ।

कटहरी–७ स्थित जनता माविमा नक्कली परीक्षार्थी बनेर अर्कैको नाममा कक्षा १२ को परीक्षा दिनेलाई बाहिर निकालिएको हो । भदौ *३१ गतेको परीक्षामा भएको यो घटना विद्यालयले भने गुपचुप राखेको छ ।

विद्यालयका पूर्व प्राचार्य एवम् शिक्षक झमक दाहालका अनुसार २ जना नक्कली परीक्षार्थी निकालिएको बताए । तर, त्यहाँ अध्यनरत विद्यार्थीले भने कक्षाबाट २२ जनालाई बाहिर निकालिएको बताएका छन् । ‘परीक्षाको निरीक्षण गर्दा २२ जनाले अरु कसैको नाममा परीक्षा दिइरहेका रहेछन्,’ नाम नबताउने शर्तमा एक शिक्षकले भने, ‘उनीहरुको नाम सार्वजनिक गरिएन ।’

नक्कली परीक्षार्थीलाई कारबाही गर्नुको साटो उन्मुक्ति दिएको भन्दै विद्यार्थीले भने असन्तुष्टि जनाएका छन् । घटनामा स्कुल प्रशासनको पनि मिलेमतो भएको विद्यार्थीको आरोप छ ।

कक्षा १२ कै परीक्षार्थी आस्मा श्रेष्ठ तथा सुमित्रा तिमल्सिनाले स्कुल प्रशासनले लापरबाही गरेको बताएका छन् । नक्कली परीक्षार्थीलाई परीक्षा दिन लगाउने विद्यार्थीलाई परीक्षाबाटै निष्काशित गर्नुपर्ने शिक्षकहरुले कुरा उठाउँदा पनि स्कुल प्रशासनले भने अस्वीकार गरेको एक शिक्षकले बताए । स्कुलमा कार्यरत एक कर्मचारीले पनि २२ जना नक्कली परीक्षार्थी भेटिएको पुष्टि गरे ।

– प्रशिक्षार्थी

शुक्रबार, ०१ असोज, २०७८, साँझको ०५:२३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर