विराटनगर नगर प्याब्सनको अधिवेशन : अध्यक्षमा बुढाथोकी र अधिकारी भीड्दै

विराटनगर । प्याब्सन नगर कार्यसमिति विराटनगरको दोस्रो अधिवेशन भोली (बिहीबार) विराटनगरमा हुँदैछ । प्याब्सन नगर कार्यसमितिको दोस्रो अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

यसअघि पनि निर्वाचनबाट नयाँ नेतृत्व चयन गरेको नगर प्याब्सनमा यसपटक पनि निर्वाचन हुने देखिएको छ । अध्यक्षमा आकांक्षी बढ्दा प्याब्सन नगर कार्यसमितिको निर्वाचन हुने देखिएको हो । अध्यक्ष बाहेक अन्य पदमा सर्वसम्मत नेतृत्व चयन हुने देखिएको छ । अध्यक्षमा दुई जनाले उम्मेदवारी घोषणा गरेका छन् । वर्तमान उपाध्यक्ष मोहन बुढाथोकी र कोषाध्यक्ष शिव अधिकारीले उम्मेदवारी घोषण गरेका हुन् ।

बुढाथोकी विराटनगरस्थित मदरल्याण्ड एकाडेमीका प्रिन्सिपल पनि हुन् भने अधिकारी नमूना विद्यालयका प्रिन्सिपल हुन् । यसअघि अध्यक्ष पदमा उम्मेदवारी दिने चर्चा भएको सचिव अर्जुन श्रेष्ठ उपाध्यक्षमा सर्वसम्मत हुने सम्भावना रहेको छ । सो पदमा अहिलेसम्म श्रेष्ठ बाहेक कसैको नाम आएको छैन । सचिवमा वर्तमान कार्यसमिति सदस्य अशोक लामा, कोषाध्यक्षमा वर्तमान सहसचिव नन्दलाल मण्डलको उम्मेद्वारी रहेको छ । सचिवमा लामाको मात्र नाम चर्चा रहेको छ भने कोषाध्यक्षमा गोपाल रिजालले पनि उम्मेदवारी दिने चर्चा रहेको छ । सह–सचिव सर्वसम्मत हुने देखिएको छ । अहिलेसम्म सह–सचिवमा हीरा थापाले मात्र उम्मेदवारी घोषणा गरेका छन् । उनी वर्तमान कार्यसमिति सदस्य हुन् । विराटनगर नगर प्याब्सनमा ५६ जना निजी विद्यालयले सदस्य रहेको सचिव अर्जुन श्रेष्ठले जानकारी दिए ।

यस्ता छन् चुनावी एजेण्डा

अध्यक्षमा उम्मेदवारी घोषणा गरेका मोहन बुढाथोकीले निजी विद्यालयहरूको एकता र सहकार्यमा हाम्रो प्रथामिकता रहने बताएका छन् । पेशागत हकहित र प्रवद्र्धनमा आफू क्रियाशिल भएर लागि पर्ने उनले बताए । ‘निजी विद्यालयको हकहित र प्रवद्र्धनमा आफू सँधैभरी लागि पर्नेछु,’ प्याब्सन नगरको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका बुढाथोकीले भने, ‘प्याब्सनमा असमानता हुनुहँुदैन भन्ने मेरो मान्यता हो । प्याब्सनको समानतामा जोड दिनेछु ।’ उनले शिक्षा नीतिमा सुधार गर्दै सम्पूर्ण सदस्य विद्यालयहरुको सेवामा सँधैभरी समर्पित भएर लाग्ने बताए । ‘आफूलाई प्याब्सन अध्यक्ष पदको लागि प्रस्तुत गर्दै गर्दा यसको स्थापना र निरन्तरताका लागि समर्पित रहेनछु,’ उनले भने, ‘निजी विद्यालयहरुलाई सबल र सक्षम बनाउन आफू सँधैभरी भूमिका खेल्नेछु । यहाँहरुको साथ, सहयोग, सुझाव एवम् समर्थन सदैव प्राप्त हुने कुरामा विश्वस्त रहँदै आफ्नो भूमिकालाई सशक्त बनाएर अगाडि लैजानुछ ।’

यसैगरी अध्यक्षमा उम्मेदवारी घोषणा गरेका शिव अधिकारीले निजी विद्यालयहरुको समस्या अन्त्य गर्न आफू सँधैभरी लागि पर्ने बताएका छन् । ‘अहिले निजी विद्यालयहरूको कर स्थानीय सरकारले चर्को लिने गरेको छ । यसको सुधारको पक्षमा आफू क्रियाशिल भएर लागि पर्नेछु ।’ उनले शिक्षकहरूलाई समयसापेक्ष ट्रेनिङको व्यवस्था गरेर निजी विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारमा आफू लाग्ने बताए । आफू निजी विद्यालयहरुको हकहितमा लागि परेर अगाडि बढ्ने उनले बताए ।

बुधबार, ३० भदौ, २०७८, रातीको ०८:५२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर