अपाङ्गता भएका व्यक्तिद्वारा कोसेली घर सञ्चालन

विराटनगर । विराटनगरमा अपांगता भएका व्यक्तिहरु आफैंले उत्पादन गरेका सामग्री राखेर कोशेली घर सञ्चालनमा ल्याएका छन् ।

विराटनगरको राष्ट्रिय अपाङ्ग महासंघको कार्यालय छेउमा सञ्चालन भएको कोसेली घरको सोमबार उद्घाटन भएको छ ।

प्रदेश १ सरकारका सामाजिक विकासमन्त्री बलबहादुर साम्सोहाङले कोशेली घरको उद्घाटन गरे । अपाङ्ग महासंघ प्रदेश १ का अध्यक्ष पार्वता श्रेष्ठका अनुसार प्रदेशका १४ वटै जिल्लाका अपाङ्गता भएका व्यक्तिहरुले उत्पादन गरेका सामग्रीहरु कोशेली घरमा राखिएको छ । अपांगता भएका व्यक्तिहरुले स्वरोजगार बन्नको लागि उत्पादन गरेको सामग्री बिक्री वितरणमा समस्या भइरहेकोले त्यसको समाधान कोशेली घरले गरेको उनको भनाइ छ ।

कार्यक्रममा सामाजिक तथा विकासमन्त्री साम्सोङले अपाङ्गता भएका व्यक्तिलाई दक्ष बनाउन तालिम सञ्चालन गर्न प्रदेश सरकारले बजेट व्यवस्था गर्ने बताए । उनले अपांगता भएका भएका व्यक्तिले उत्पादन गरेका सामानको बजारीकरण गर्न पनि सहयोग गर्न बताएका छन् ।

शारिरिक अपांगता भएका व्यक्ति दिनेश कोइरालाले अपाङ्ग भएपनि आत्मनिर्भर भएको बताउँदै आफूहरुले उत्पादन गरेको सामग्री बिक्रीको लागि कोशेली घर सञ्चालन भएकोमा खुशी व्यक्त गरे । उनका अनुसार यस्ता सामग्री बनाएर आफ्नो खर्चको लागि घरपरिवारसँग माग्नु परेको छैन ।

आफूले उत्पादन गरेको सामान कसरी बेच्ने भन्ने चिन्ता भएको बेला कोशेली घर सञ्चालन भएपछि ढुक्क भएको उनले बताएको छन् । कोशेली घरमा अपांगता भएका व्यक्तिहरुले उत्पादन गरेको घरायसी सामानहरु, सजावटका सामान, कपडा, फिनेल, अगरबत्तीलगायत राखिएको छ ।

सोमबार, २८ भदौ, २०७८, दिउँसोको ०२:३३ बजे

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर