गोञ्जालोलाई साँचो श्रद्धाञ्जली !

 गणेश लम्साल

पेरू कम्युनिष्ट पार्टी साइनिङपाथका अध्यक्ष दार्शनिक डा.अभिमायल गुज्मान रेनोसो (गोञ्जालो) को २६ भदौ २०७८ (शनिबार विहान) जेलभित्रै निधन भयो । डिसेम्बर १९३४ मा पेरूमा जन्मिएका गोन्जालोलाई पेरुको निरंकुश फुजिमोरी सरकारले देशमा आतंकवाद फैलाएको आरोपमा पक्राउ गरेर २९ सैनिक जेलमा राखेको थियो । गोञ्जालोको मृत्युको खबर बाहिरिएपछि विश्व नै दुखी भयो । उनका समर्थक र शुभचिन्तकहरुले उनलाई रिहा गराउने अभियान सफल बनाउन नसकेकोमा धेरै दुःख व्यक्त गरे । पेरुभियाली नागरिकहरुले आफूहरुले एउटा असल शिक्षक मात्र नभएर क्रान्तिका नायकलाई गुमाएको महशुस गरे । विश्वभरिका क्रान्तिकारीहरुले पनि गोञ्जालोको मृत्युमा शोक प्रकट परे । र, नेपालमा पनि गोञ्जालोको मृत्युप्रति श्रद्धाञ्जली व्यक्त गरिए ।

धनी परिवारमा जन्मेका गोञ्जालोले दर्शनशास्त्रमा विद्यावारिधि गरेका थिए । १२ वर्ष विश्वविद्यालयमा प्रोफेसर भएका उनी समाज परिवर्तनका लागि सशस्त्र राजनीतिमा होमिएका थिए । पेरुमा गोञ्जालोकै नेतृत्वमा सन १९९० देखि समाजवाद स्थापनाका लागि सशस्त्र आन्दोलन सुरु भएको थियो । उनले गाउँ कब्जा गरेर शहर घेर्ने नीति लिएका थिए । र उनी धेरै सफल पनि भएका थिए । तर, सन् १९९२ मा पेरु सरकारले गोञ्जालो र उनलाई शरण दिनेलाई पक्राउ गरेर सैनिक हिरासतमा राख्यो । उनलाई नृत्य प्रशिक्षक मार्तिजा गारिडोले आफ्नो घरमा शरण दिएकी थिइन् । फुजिमोरी सरकारले मार्तिजालाई पनि २५ वर्षको कैद सजाय सुनाएको थियो ।

गोञ्जालोका जीवनका धेरै आयामहरु छन् । उनको जिवनी विश्व कम्युनिष्ट आन्दोलनका लागि एउटा विश्वविद्यालय नै हुन सक्नेछ । यसैले उनको जिवनीतर्फ भन्दा पनि उनको योगदानबारे चर्चा गर्नु उपयुक्त हुन्छ । किनभने हामीले जेलभित्रै जीवन गुमाउन बाध्य भएका एक क्रान्ति योद्धाबाट केही शिक्षा अवश्य लिनैपर्छ ।

गोञ्जालो साँचो समाजवादका पक्षपाती दार्शनिक थिए । उनले कहिल्यै पद प्रतिष्ठाका लागि सत्ताको लोभ गरेनन् । कहिल्यै धन सम्पत्तीको लोभलालचमा फसेनन् । बरु १२ वर्षदेखि पढाउँदै आएको विश्वविद्यालयको प्रोफेसरको जागिर त्यागेर पेरुमा कम्युनिष्ट पार्टी निर्माण गर्न लागिपरे । सशस्त्र जनयुद्धको नेतृत्व गरे । गोञ्जालो पेरुको जनयुद्धका शिक्षा हुन् भने विश्व क्रान्तिकारी आन्दोलनका विश्व सहिद हुन् । विश्व कम्युनिष्ट आन्दोलनका महान् नेता पनि हुन् । २५ वर्षसम्म सैनिक हिरासतको कालकोठरीमा बस्दा पनि उनी कहिल्यै गलेनन् । विस्तारवादी निरंकुश सत्ताको अगाडि उनी झुकेनन् । उनले क्षमादान स्वीकार गरेनन् । र, गोञ्जालोले आफूले नेतृत्व लिएर हिँडेको ‘साइनिङ पाथ’ को विचारलाई कहिल्यै डगमगाउन दिएनन् ।

गोञ्जालो बलिदान र वीरताका अनुकरणीय शिक्षक हुन् । उनी सबैको एउटै प्रतिज्ञा हुनुपर्छ भन्ने विश्वास गर्थे । पार्टीको विचार र क्रान्तिपथमा समर्पित हुनसके मात्र वास्तविक क्रान्तिकारी बन्न सकिन्छ भन्थे । यसैले उनी भावना र खिन्नता हैन बोध र संकल्पलाई प्राथमिकता दिन्थे । उनी जैविक आशाबादी थिए । अन्तराष्ट्रिय सर्वहाराकरणलाई जोड दिन्थे ।

गोञ्जालो पक्राउ परेपछि उनलाई रिहा गराउन विश्वभरिका कम्युनिष्टहरुले दबाब अभियान चलाए । यसैले उनलाई पेरुको निरंकुश विस्तारबादी सरकारले हत्या गर्न सकेन र आजिवन सैनिक जेलमा राख्यो । उनको मृत्यु हुने दिन पनि गोञ्जालोलाई जेलमुक्त गराउन अभियान फैलिरहेको थियो । नेपालमा पनि हरेक वर्ष १२ सेप्टेम्बरमा उनको रिहाईको लागि दबाबमुलक कार्यक्रम हुने गरेको थियो । जेलबाट मुक्त हुन नपाई ८६ बर्षको बृद्ध उमेरमा जेलभित्र उनी सहिद भए ।

कमरेड गोञ्जालोको मृत्युले हामीलाई धेरै पाठ सिकाएको र बुझाएको छ । पहिलो त क्रान्ति भनेको सजिलो हुदैन र त्यसका लागि लामो अथक त्याग, बलिदान र संघर्ष चाहिने रहेछ भन्ने प्रष्ट भएको छ । अर्को सबैतिर एकैप्रकारको क्रान्ति, एउटै मोडलमा सफल पार्न धेरै चुनौती हुँदोरहेछ भन्ने पनि सिकाई भएको छ । क्रान्तिलाई जडसुत्रवादी, एकल जातिवादी बनाइरहेमा वा एकल नेतृत्व मात्र हावी भैरहेमा पनि सफल हुन गाह्रो पर्दोरहेछ भन्ने बुझाई भएको छ । हामीले पाएको यो व्यवस्था र राजनीतिक परिवर्तन गोञ्जालोजस्ता हजारौंको त्याग र बलिदानीबाट प्राप्त भएकोले त्यसलाई सधै अग्रगमनका लागि उपभोग गर्नुपर्नेछ ।

क्रान्तिबाट प्राप्त परिवर्तनलाई दिगो बनाउन सहिद, घाइते र बेपत्ताहरुको सम्मान गर्न सक्नुपर्दछ । परिवर्तनलाई संस्थागत गराउन सधै सुशासनको पक्षधर हुनुपर्छ । आफूलाई क्रान्तिकारी मार्गको र कन्युनिष्ट विचारधाराप्रति प्रतिबद्ध कार्यकर्ता हुँ भन्नेहरु लाखौं छन् । तर, के हामीले एउटा क्रान्तिकारीमा हुनुपर्ने गुणलाई आत्मसात गरेका छौं ? के हामी गोन्जालोले जस्तै समर्पित भएर त्याग गर्न सक्छौ ? पद र पैसाको आशक्तिलाई हामी त्याग्न सक्छौ ? आफूलाई सामाजिक आडम्बरबाट मुक्त गरेर समाजलाई साँस्कृतिक रुपान्तरण गराउन अग्रसर बन्नसक्छौ ? पक्कै पनि हामीलाई निक्कै गाह्रो हुनेछ । हामीले बिर्सिसकेका छौं, हाम्रा सहिदहरु । वर्षाैदेखि भोग्दै आएको अमानवीय जातीय र लैंगिक विभेद, छुवाछुत, असमानता, अन्धविश्वास, कुशासन, थिचोमिचो र चरम गरिबीबाट मुक्ति पाउन लडेको लडाई भुलिसकेका छौं ।

पेरुभियाली जनताका मात्र नभएर विश्व क्रान्तिकारीहरुका अगुवा कमरेड गोञ्जालोको त्यागी मृत्युलाई हामीले शिक्षाका रुपमा ग्रहण गर्नुपर्छ । उनले देखाएको सर्मपण र निष्ठालाई हामीले पनि जीवनको पथप्रर्दशक बनाउन सक्नुपर्छ । यति मात्र गर्न सक्यांै भने हामीले विश्वका आदर्श नेता गोञ्जालोका लागि व्यक्त गरेकोे श्रद्धाञ्जली साँचो हुनेछ । त्यसले हाम्रो समाजवादको यात्रालाई अगाडि बढाउन सहयोग गर्नेछ ।

सोमबार, २८ भदौ, २०७८

प्रतिक्रिया:

सम्बन्धित खवर