भरतपुर महानगरको उदाहरणीय काम
काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको नेतृत्वमा ७२ घण्टाभित्र ७० शैयाको कोरोना विशेष अस्थाई अस्पताल निर्माण भई सञ्चालनमा आएको छ।
तीन दिन अगाडि निर्माण थालिएको अस्पताल शुक्रबार बिहान शुभारम्भ भएसँगै सञ्चालनमा आएको भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले जानकारी दिनुभयो ।
अस्पतालमा ५० वटा जनरल, १० वटा आइसियू र १० वटा एचडियू बेड छन् । भरतपुर महानगरपालिका १० स्थित प्रदर्शनी केन्द्रको तीनटा भवनमा अस्पताल स्थापना गरिएको हो । अस्पताल सञ्चालनको जिम्मा महानगरले लिएको छ ।
अस्पताल तयार पार्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वास्थ्यकर्मी र सर्वसाधरण समेत गरेर १ सय ५० जना जनशक्ति खटिएका थिए । ५० वटा जनरल बेड राख्ने काम बिहीबार नै सकिएको थियो । अस्पतालमा आइसियू र एचडियू बेड शुक्रबार राखिएको महानगरले जनाएको छ ।
७२ घण्टाको समयसीमा तोकेपछि काम सक्न प्रेसर भएको र सबैको सहभागितमा काम सम्पन्न भएको मेयर दाहालले बताउनुभयो । कोरोना संक्रमणको उच्च जोखिम नियन्त्रणका लागि बनेको अस्पतालले चितवन र आसपासको क्षेत्रलाई राहत पुग्ने उहाँको भनाइ छ ।
अस्पतालका प्राविधिक संयोजक डा. भोजराज अधिकारीका अनुसार चीनले उहान शहरमा २ दिनमा एक हजार बेडको अस्पताल बनाएर विश्वलाई चकित बनाएकोले सोही शैलीमा अस्पताल निर्माण गरिउको हो । अस्पतालमा विरामी आएमा शुक्रबारबाटै उपचार सुरु गर्न सकिनेगरी सबै उपकरण पनि जडान गरिएको उहाँको भनाइ छ ।
कोरोनाको शंका लागेका विरामीलाई मात्र त्यहाँ राखिनेछ । महानगरले तोकिएकै समयभित्र अस्पताल निर्माणमा सहयोग गर्ने स्थानीय जनता, स्थानीय प्रशासन, सुरक्षाकर्मी र व्यवसायीहरुलाई धन्यवाद दिएको छ । ७० बेडको अस्पताल आवश्यकता अनुसार विस्तार गरेर ३ सय बेडसम्मको बनाउने महानगरको तयारी छ ।