कविता

युगको अन्तिम रात

युगको अन्तिम रात
अस्ताउनु अघि डाँडामा टुक्रुक्क बसेर
अन्तिम पटक विदाइको हात
हल्लाउनेछ घामले ।

उड्नु अघि एकैठाउँ भेला भएर
गाउनेछन् चराहरूले दुःख–सुखका गीत
पग्लनु अघि हिउँको शिरमा
बल्नेछ समयको अन्तिम आगो ।

जीवनको पल्लो छेउ पुग्न
हतार हुने छैन बतासलाई
सबै थकाई बिर्सिएर
चौतारीमा निस्केर सुस्ताउनेछ नदी
मन्दिरका ताला तोडेर
सडकमा निस्कनेछन्, देउताहरू ।

युगको अन्तिम रात–
आँगनमा निस्किएर
खेल्ने छैनन् केटाकेटी
बन्द हुनेछ वृद्धवृद्धाको खोकी
अनि, रोकिनेछ भ्mयाउँकिरीको आवाज ।

रोगले ग्रस्त पृथ्वीलाई
छिचिमिराझैं भेला भएर मान्छेले
काखमा राखेर हल्लाउनेछन्
अन्तरीक्षबाट ओर्लेर
ताराहरूले सुम्सुम्याउनेछन्
र, हतासिंदै अन्तिम पटक चुम्बन गर्नेछ जूनले
पृथ्वीको मृत्यु हुनु अगावै
आत्महत्या गरिसकेको हुनेछ विज्ञानले ।

छोपेर अवसानको पर्दाले पृथ्वीलाई
काँधमा बोकेर
मलामी जाने मान्छेहरू हुने छैनन् अन्त्येष्टिमा
र, त्यही रातदेखि हुनेछ खोजी
मान्छेविहीन अर्को पृथ्वीको ।

शुक्रबार, ०७ चैत, २०७६, बिहानको ०८:२५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर