परीक्षा रोकिएपछि सास्ती

विराटचोक । बुधबार साँझपख मात्र सरकारले एसईई परीक्षा स्थगित गरेकोको कारण त्यसबारे जानकारी नहुँदा विद्यार्थीहरुले सास्ती पाएका छन् ।
बिहान साढे ६ बजे सुकुना माध्यमिक विद्यालयमा केही विद्यार्थी गेटबाहिर बसेर परीक्षा रोकिएकोमा चिन्ता व्यक्त गरिरहेका थिए । ७ बजेसम्ममा परीक्षा स्थगित भएको जानकारी नपाएका करिब सय जना विद्यार्थी उपस्थित भएका थिए ।

उपस्थित भएका धेरैजसो विद्यार्थीलाई परीक्षा स्थगित भएको थाहा थिएन । कतिपयले भने बाटोमा आउँदा अरुले भनेको सुनेपनि कन्फर्म गर्न विद्यालय आएको बताए ।

‘एसईई चाहिँ नसार्नु नि अरु परीक्षा सारे पनि’, सरकारप्रति आक्रोशित भएकी जनता मावि सुन्दरहरैंचा– १ की तारा साहले भन्नुभयो, ‘अब पछि परीक्षा सारेपछि अहिले पढेको बिर्सिहालिन्छ नि ।’ सो विद्यालयबाट १ सय २० जना परीक्षार्थी थिए ।

सुकुना माध्यमिक विद्यालयमा सुकुना, जनता तथा बुद्ध माध्यमिक विद्यालय केराबारीका परीक्षार्थी उपस्थित भएका थिए । उनीहरुमध्ये कोही आश्चर्यचकित भावमा कोही कुरा गरिरहेका थिए भने कोही आक्रोशित भइरहेका थिए ।

सुकुनामै अध्ययनरत दावा शेर्पा पनि परीक्षा रोकिएकोमा आक्रोशित थिए । मोटो ज्यानका उनले सोही विद्यालयका सहायक प्रधानाध्यापक राजेन्द्रप्रसाद गिरीसँग रातभरी करायो, दक्षिणा हरायो भनेजस्तै भयो भन्दै गुनासो गरे ।

सुकुना माध्यमिक विद्यालयमा ३ ओटा सामुदायिक विद्यालयसहित ९ ओटा विद्यालयका ४ सय १८ जना परीक्षार्थीको परीक्षा केन्द्र तोकिएको थियो ।
परीक्षा केन्द्रमा पैदलै हिँडेर, सार्वजनिक सवारी साधनमा चढेर तथा साइकल र मोटरसाइकल तथा स्कुटरमा जाने विद्यार्थी धेरै भेटिन्थे । परीक्षा सरे पनि परीक्षा कहिले हुने हो भन्ने टुङ्गो नभएका कारण उनीहरू थप प्रताडित भएको बताइरहेका थिए ।

बिहीबार अङ्ग्रेजी भाषाको परीक्षा हुने कार्यतालिका थियो । चैत १७ गतेसम्म सञ्चालन हुने परीक्षामा ४ लाख ८२ हजार ७ सय ७ परीक्षार्थी सहभागी हुँदै थिए । बुधबार दिनभर परीक्षा केन्द्रको तयारी भइरहे पनि साँझमा सरकारले परीक्षा रोकिएको सूचना जारी गरेको थियो ।

बिहिबार, ०६ चैत, २०७६, रातीको ११:५९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर