विराटनगर । विश्वभरी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को कारण सबै क्षेत्र प्रभावित भएको छ । सरकारको निर्णयपछि शैक्षिक संस्था बन्द भइसकेका छन् भने पर्यटकहरूको आवागमन ठप्प छ । होटल, हवाइ र यातायत क्षेत्र सबैभन्दा नराम्रोसँग प्रभाविगत भएको छ ।
सरकारको बिहीबारको निर्णयपछि सबै शैक्षिक संस्था बन्द भएका छन् । एसईईसहित सबै परीक्षा स्थगित भएको छ । सभा, सम्मेलन र अन्य ठूला कार्यक्रम यसअघि नै बन्द भइसकेका छन् । जिमक्लब, स्वीमिङपुल, चिडियाघर बन्द भएका छन् । बजारमा पनि चहलपहल कम हुँदै गएको छ ।
पर्यटन क्षेत्र सबैभन्दा मारमा
प्रदेश १ को राजधानी रहेको विराटनगरसहित प्रदेशको होटल व्यवसाय कोरोनाको असरले थला परेको व्यवसायीहरूले बताएका छन् । पर्यटक आउने मुख्य सिजनमै कोरोनाको मार झेलेका व्यवसायीहरुलाई बैंकको ब्याज र सावा कसरी तिर्ने भन्ने चिन्ताले सताउन थालेको छ ।
प्रदेशमा ठूला र साना गरि करिब ५ सयको संख्यामा होटल रहेको क्षेत्रीय होटल संघ प्रदेश १ का अध्यक्ष राजन श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार १० अर्बभन्दा बढीको लगानी रहेको होटल क्षेत्र सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० सँगै उत्साहित थियो । भ्रमण वर्ष लक्षित करोडौंको लगानी थपिएको होटल क्षेत्र अहिले सुनसान जस्तै बनेको छ ।
‘कोराना भाइरसको त्रासको कारण व्यवसायमा संकट सिर्जना भएको छ’ श्रेष्ठले भन्नुभयो, ‘दैनिक ७ देखि १० करोड रूपैयाँसम्मको कारोबार हुने प्रदेशभरीका होटलको व्यापारमा अहिले ९० प्रतिशत गिरावट आएको छ । करिब ३० हजार पर्यटकलाई सेवा सुविधा पु¥याउने प्रदेश १ मा होटलहरुका अधिकांश कोठा खाली छन् ।
व्यवसायीको लगानीसँगै मजदुर र कर्मचारीको रोजगारीसमेत जोखिममा परेको पर्यटन व्यवसायी भबिस श्रेष्ठले बताउनुभयो । होटल क्षेत्रमा १५ हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । ‘पूर्वको रमणीय ठाउँहरूमा घुम्न आउने पर्यटक आउन छोडेका छन्,’ उहाँले भन्नुभयो, ‘प्रदेशको पशुपतिनगर, काँकडभिट्टा र जोगबनी नाकाबाट दैनिक १ हजारभन्दा बढी भारतीय पर्यटक भित्रिने गरेकोमा अहिले शुन्य रहेको छ ।’
कोरोनाका कारण होटलहरू खाली रहेकाले विरामी राख्ने आइसोलेसन केन्द्र बनाउन आफूहरू होटल दिन तयार रहेको विराटनगरस्थित इस्टर्न स्टार होटलका सञ्चालकसमेत रहनुभएका श्रेष्ठले बताउनुभयो । प्रदेशको राजधानी भएपछि विराटनगरका हरेक होटलमा महिनामा दुई–चारवटा सरकारी र गैरसरकारी संघसंस्थाका कार्यक्रम हुने गरेका । अहिले भने सबै रोकिएको छ ।
कोरोनाको क्रासको कारणले प्रदेशमा रहेको नेपाल ट्राभल एण्ड टुर्स व्यवसाय ठप्प रहेको नेपाल ट्राभल्स एण्ड टुर एसोसिएसनका प्रदेश–१ सचिव पुण्य भट्टराईले जानकारी दिनुभयो । प्रदेश सरकारमा दर्ता भएको ९२ र दर्ता नभएका करिब ४ सय ट्राभल्स अहिले ठप्प रहेको उहाँले बताउनुभयो । सरकारले पर्यटन क्षेत्रलाई डुब्नबाट जोगाउन प्याकेजमै राहत ल्याउनुपर्ने बताउँदै उहाँले यस्तै अवस्था रहिरहे पर्यटन क्षेत्र ध्वस्त हुने बताउनुभयो ।
प्रदेश १ का पर्यटकीय क्षेत्रहरु सुनसान छन् । धनकुटाको भेडेटार, हिले, तेह्रथुमको बसन्तपुर इलामको कन्याम, सुनसरीको कोशीटप्पु, तालतलैया, बर्जुताल, मोरङको बेतना, झापाको दोमुखालगायतका क्षेत्रहरु सुनसान छन् । पूर्वका चर्चित स्थानमा सञ्चालित होमस्टे र होटलहरु खाली छन् । भेडेटारमा दैनिक ५ हजार हाराहारी आन्तरिक र बाह्य पर्यटक आउने गरेकोमा एक सातायता होटल सुनसान भएको होटल एसोसिएशन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दालीले बताउनुभयो ।
हवाइ उडानमा कटौति
कोरोना भाइसको त्रासको कारणले आन्तरिक हवाइ यात्रा पनि प्रभावित बनेको छ । यात्रु घटेपनि विमान कम्पनीहरुले विराटनगरबाट काठमाडांैको उडान कटौती गर्न थालेका छन् ।
विराटनगरबाट काठमाडौं १७ वटा नियमित उठान हुने गरेकोमा अहिले १२ वटा मात्र नियमित उठान हुने गरेको नागरिक उड्डयन प्राधिकरण विराटनगरले जनाएको छ । अहिले भइरहेका उडानमा पनि यात्रु संख्या आधा मात्र रहेको विमान कम्पनीहरुले बताएका छन् । यात्रु कम भएपछि विमान कम्पनीहरुले हवाई भाडा घटनाएका छन् ।
यसअघि ४ हजार ७ सय न्युनतम् भाडा तोकेका हवाई कम्पनीले अहिले २४ सय न्युनतम् भाडा तोकेका छन् । शैक्षिक संस्था बन्द भएपछि काठमाडांैबाट विराटनगर हवाइ यात्रा गर्ने यात्रुको संख्या बिहीबार बढेपनि विराटनगरबाट काठमाडौं जाने यात्रु कम रहेको बुद्ध एयरका विराटनगर स्टेशन मेनेजर कौशल भण्डारीले जानकारी दिनुभयो ।
बुद्धले दैनिक ८ वटा उठान गर्दै आएकोमा अहिले घटाएर ६ वटा मात्र उठान गरिरहेको छ । भण्डारीले जानकारी दिनुभयो । ‘उडान कटौती भएर भाडा कम गरेपनि यात्रु नभएकोले समस्या रहेको छ’, उहाँले भन्नुभयो ‘विद्यार्थी घर आउने भएकोले बिहीबार केही यात्रु बढेपनि काठमाडौं जानेको संख्या कम छ, यस्तै अवस्था रहे केहि दिनमा ठप्प हुनेछ ।’
विराटनगर–काठमाडौं यति एयरलाइन्सले ५ वटा नियमित उठान गर्दै आएकोमा अहिले ४ वटा मात्र उठान गर्दै आएको छ । यस्तै नेपाल एयरलाईन्सले उडान बन्द गरेको छ । श्री एयरलाइन्सले ३ वटै उडान कायम राखेपनि यात्रुसंख्या कम रहेको जनाएको छ । विराटनगर काठमाडौं दैनिक १८ सय हाराहारीले हवाई यात्रा गर्दै आएकोमा त्यो संख्या अहिले हजार हाराहारीमा मात्र छ ।
यातायातमा पनि उस्तै समस्या
विराटनगरबाट छुट्ने लामो तथा छोटो दुरीको यातायत पनि कोरोना भाइरसको त्रासले प्रभावित भएको छ । विराटनगरबाट छुट्ने लामो र छोटो दुरीका करिब ३ सय ४० वटा सवारीसाधनमा यात्रुको चाप घटेको पूर्वी नेपाल यातायता संघका कोषाध्यक्ष राजु धमलाले जानकारी दिनुभयो । विराटनगरबाट काठमाडौ, भैरवा, धनगढी, सुर्खेतलगायतको विभिन्न स्थानमा छुट्ने लामो दुरीका ४० वटा सवारी साधन चल्ने गरेकोमा अहिले २० वटा मात्र चलिरहेको उहाँले जानकारी दिनुभयो ।
कोरोना भाइक्रसको डरको कारणले यात्रुहरू सवारी साधान चढन छोडेकोले इन्धनको पैसा उठाउन पनि मुस्किल भएको धमलाले बताउनुभयो । यस्तै विराटनगरबाट छुट्ने साना दुरीका २ सय ५० देखि ३ सयको संख्यामा रहेका सवारी साधनमध्ये मुस्किलले १ सय ५० जना चलिरहेका छन् । धमलाकै सूर्योदय प्रालिको २८ वटा सवारी साधनमध्ये अहिले १५ वटा मात्र चलेको छ ।
अहिले विशेष काम पर्ने यात्रुहरू र घर जाने यात्रुहरु मात्र पाइने गरेका छन् । केही दिनपछि यातायात क्षेत्र पनि पूर्ण रूपमा ठप्प हुने अवस्था आउनसक्ने धमालले बताउनुभयो ।
व्यवसायीहरूले सरकारसँग संकटकाल घोषणा गरी राहत प्याकेज ल्याउन माग गरेका छन् । बिजुली महसुल, बैंकको ब्याजलगायतमा सरकारले प्याकेजमै राहत दिनुपर्ने विराट व्यापार संघका अध्यक्ष सुजन थापाले बताउनुभयो । उहाँले बैंकको किस्ता बुझाउने समयसीमा बढाउन पनि माग गर्नुभयो । ‘कोराना भाइसरको क्रासले अहिले व्यापार व्यवसाय गिरावट आएको छ,’ उहाँले भन्नुभयो, ‘व्यापारमा मन्दी छायो ।’
अति आवश्यक खाद्यान्न सामाग्री बाहेक अन्य वस्तुहरू विक्री नहुँदा आर्थिक मन्दी देखिएको व्यवसायीको भनाइ छ ।