अन्तरकलेज फुटबलको उपाधि निहारिकालाई

विराटनगर । विराटनगरमा जारी अन्तरकलेज लिगकम नकआउट फुटबल प्रतियोगितामा निहारिका कलेजले उपाधि जितेको छ ।

विराट बुद्ध स्पोर्टिङ क्लबको आयोजनमा विराटनगरमा जारी प्रतियोगिताको बिहीबार भएको फाइनलमा निहारिकलाई ग्रिनल्याण्ड कलेजलाई पराजित गर्दै उपाधि जितेको हो ।

निहारिकाले ग्रिनल्याण्डलाई ३–१ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो । जितसँगै नगद १ लाख ११ हजार रुपैयाँका साथै शिल्ड प्राप्त गरेको छ ग्रिनल्याण्ड उपविजेता हुँदै नगद ७५ हजार रुपैयाँमै चित्त बुझाएको छ ।

प्रतिष्पर्धात्मक रहेको खेलमा निहारिकाले पाएको अवसरलाई सदुपयोग गर्न सफल भयो भने ग्रिनल्याण्डले पाएका केही अवसर चुकाउँदा हार व्यहोर्नु प¥यो । खेलको ११ औं मिनेटमा निहारिकाका पृथ्वी चौधरीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि लामो समय दुवै टोलीले गोलका धेरै प्रयास गर्दै ६३ औं मिनेटमा निहारिकाका रविन राईले गोल थपे लगत्तै पुनः रविन राईले गोल थप्दै गोल संख्या बढाए । ७२ औं मिनेटमा एकमात्र सान्तवना गोल ग्रिनल्याण्डका लागि संजय धिमालले गरेका थिए । खेलको म्यान अफ दि म्याच निहारिकाका सूर्य थापा भए । उनले नगद ३ हजार १ सय रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी निहारिकाका रविन राईले नगद १५ हजार रुपैयाँका साथ १ वर्षको ५ लाख रुपैयाँको बिमा, उत्कृष्ट गोलरक्षक निहारिकाका प्रमोजय चौधरीले नगद १० हजार रुपैयाँसहित २ लाख ५० हजार रुपैयाँको १ वर्षको लागि बिमा प्राप्त गरे । उत्कृष्ट डिफेन्स निहारिकाका झमक मगर र उत्कृष्ट मिडफिल्ड ग्रिनल्याण्डका मनिष थापाले जनही नगद १० हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिता अनुशासित टिमको पुरस्कार पथरीको रेडस्टार माविले प्राप्त गरेको छ । कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, एन्फाका सह–महासचिव वसन्त अर्याल, विराट गोल्डकप ट्रष्टका अध्यक्ष सन्तोष बानियाँ, क्लबका अध्यक्ष रोहित कोइरालाले खेलाडीलाई पुरस्कार प्रदान गर्नुभएको थियो । प्रतियोगितामा विराटनगरका ग्रिनल्याण्ड, निहारिका, हिमालय दर्शन, कान्तिपुर, कोसी मल्टिपल, पथरीको रेडस्टार मावि, रंगेलीको जनप्रिय मावि र दुहबीको महेन्द्र मेमोरियल एकेडेमीको सहभागिता रहेको थियो ।

बिहिबार, ०६ चैत, २०७६, साँझको ०७:४४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर