विराटनगर । प्रदेश १ का निवर्तमान मुख्यमन्त्री शेरधन राईले प्रदेशसभाको विषेश अधिवेशन बोलाएर प्रदेश नामाकरणको प्रकृया अघि बढाइने बताएका छन् ।
मुख्यमन्त्रीबाट राजीनामा गरेको भोलिपल्ट शुक्रबार उनले आफ्नै कार्यकालमा प्रदेशको नामाकरण गर्ने प्रयत्न सफल नभएको बताएका हुन् । एमालेकै नेतृत्वमा सरकार रहेकोले केही समयभित्रै नामाकरण प्रकृया अगाडि बढ्ने उनले बताए ।
निवर्तमान मुख्यमन्त्री राईले भने ‘मलाई एउटै मात्र अफसोच छ कि म वहाल रहेको बेलामा प्रदेशले नाम पाएन तर छिट्टै प्रदेश नामाकरणको प्रकृया अगाडि बढाउँछौं, प्रदेशसभाको विशेष अधिवेशन आव्हान गरेर नामाकरण टुंग्याउँने विश्वास दिलाउँछौं ।’ मुख्यमन्त्रीको अक्षमताको कारणले गर्दा प्रदेशले नाम नपाएको होइन भन्दै नेता राईले ‘मैले निर्णय गर्दा हुन्थ्यो भने म गर्थें तर दुई तिहाई चाहिन्थ्यो । नेकपा नामको पार्टीको स्वरुप कस्तो थियो मैले भनिरहनु पर्दैन ’ भने ।
आफूले नामाकरणको विषयमा छलफल गरेको भएपनि अन्य पार्टीहरुले तयारी नगरेको र आफ्नै दल एमालेमा पनि एकमत नभएका कारण नामाकरण टुंग्याउन नसकेको उनको भनाइ थियो । नेता राईले आफ्नो कार्यकालप्रति सन्तोष लागेको भन्दै भने ‘धेरै गर्न सकिन होला तर नराम्रो गरेको छैन, टाउको उठाएर हिड्न सक्ने अवस्था नै कायम छ ।’
पार्टीभित्रको बिग्रह र विखण्डन र टुटफुटका कारण कम क्षति होस् भनेर आफूले पदबाट राजीनामा दिएको भन्दै उनले सिंगो पार्टी पङ्तिलाई एकढिंका रहन आग्रहसमेत गरे । उनले भने ‘म ५ वर्षे कार्यकालका लागि नियुक्त भएको थिएँ तर हिजो अचानक मैले राजिनामा गर्न प¥र्यो ।’ अनपेक्षित रूपमा राजनीतिक बदलाव आएपछि राजिनामा गर्नु प¥यो ।’
आफ्नो कार्यकालमा संघीयता कार्यान्वयन भएको र विकास पूर्वाधारको राम्रो आधार तयार भएको उनले बताए । कोभिडका कारण सरकारले चाहेजसरी काम गर्न नसकेपनि सरकार चुप लागेर नबसकेको उनले बताए ।