प्रदेश १ मा बलबहादुर साम्सोहाङ र लछुमन तिवारी मन्त्री बन्ने पक्का

विराटनगर । माधव नेपाल समूह छोडेर एमालेमै रहेका प्रदेश १ का एमाले सांसदहरु बलबहादुर साम्सोहाङ र लछुमन तिवारी मन्त्री बन्ने पक्का भएको छ ।

दुवैवजनाको सपथ ग्रहण आजै हुने प्रदेश १ का एमाले सांसद तथा पूर्व राज्यमन्त्री राजकुमार ओझाले जानकारी दिए । उनका अनुसार आज तीन जना मन्त्री बनाउने विषयमा छलफल भइरहेको भएपनि दुई जनाको नाम टुंगो लागेको हो ।

संखुवासभाका सांसद तुलसी न्यौपाने, उदयपुरका बिमल कार्की र मोरङका जीवन घिमिरेलाई पनि मन्त्री बनाउनुपर्छ भन्ने दबाब बढेको कारण मुख्यमन्त्री भीम आचार्यले थप निर्णय लिन सकेका छैनन् । यद्यपि यो विषयमा पनि छलफल भइरहेको ओझाले बताए ।

प्रदेश प्रमुखको कार्यालयलले मुख्यमन्त्री कार्यालयबाट मन्त्रीहरुको सपथ गराउने तयारी गर्न भनेको जनाएको छ । बिहीबार नियुक्त भएका मुख्यमन्त्री भीम आचार्यलाई आजै मन्त्रीमण्डल विस्तार गर्नुपर्ने दबाब छ । मुख्यमन्त्रीका स्वकिय सचिव अनिल राजधामीले तीन जनाको सपथ गराउनेबारे छलफल भइरहेको भन्दै नामको अन्तिम टुंगो नलागेको बताए । एमाले कार्यकर्ताहरुले नेपाल समूहका मोरङकी सावित्रा रेग्मीले पनि सपथ लिने दाबी गरिरहेका छन् ।

शुक्रबार, ११ भदौ, २०७८, दिउँसोको ०४:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर