‘उच्च अदालत कस्तो, विराटनगर जस्तो’ले कति भयो सुधार ?

विराटनगर । व्यवस्थित, छिटो छरितो र सेवाग्राही मैत्री वातावरणले दुई वर्षअघि उच्च अदालत विराटनगरले सुरु गरेको ‘उच्च अदालत कस्तो, विराटनगर जस्तो’ भन्ने अभियानले अदालतको सेवा प्रवाहमा परिवर्तन आएको छ ।

सार्वजनिक सेवालाई प्रभावकारी र जनमैत्री बनाउनेतर्फ अदालत प्रशासन क्रियाशिल भएकै कारण सेवाग्राहीले अदालतबाट सजिलै सेवा पाउने वातावरण बनेको हो ।

उच्च अदालत विराटनगरबाट सेवाग्राहीले १० मिनेटमै पुरानो मिसिलको नक्कल पाउने वातावरण बनेको छ । अदालतका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठले भने ‘फैसला भएको मुद्दाको दर्ता मिति र नम्बर लिएर आउने सेवाग्राहीले नक्कलका लागि १० मिनेटभन्दा बढी समय कुर्न पर्दैन, यो काम हामीले कार्यान्वयनमा ल्याएका छौं ।’ पहिलेको जस्तो फैसलाको फायल खोज्न घण्टौं समय लाग्ने अवस्था अदालतको थोरै मिहेनतबाट सुधार गर्न सकेको मुख्य न्यायाधीश श्रेष्ठले बताए । यस्तै गत वर्षको साउनदेखि यता दर्ता भएका मुद्दाका सबै मिसिलहरु वेव साइडमा राख्ने काम अदालतले सुरु गरेको छ । यसबाट मिसिलहरुको सुरक्षा र इलेक्ट्रोनिक फायल व्यवस्थापन भर्ई सेवा प्रवाह सहज भएको छ । पुरानो ९ हजार भन्दा बढी मिसिलहरु पनि वेवसाइडमा राखिएको छ ।

मुख्य न्यायाधीश श्रेष्ठले अरु पुराना मुद्दाका मिसिलहरु पनि क्रमश वेवसाइडमा राख्दै जाने जानकारी दिए । अदालतले सेवाग्राहीको सुविधालाई ध्यानमा राखेर सुधार गरेको महत्वपूर्ण कार्य भनेको मुद्दा दर्ता हुनासाथ वादी तथा प्रतिवादीहरुलाई तत्काल एसएमएसमार्फत जानकारी पठाउने व्यवस्था हो ।

पुनरावेदन अदालतमा दर्ता भएको मुद्दाको बारेमा तत्काल एसएमएस पठाउने प्रविधि अवलम्बन गरेपछि एक वर्षमा २८ हजार जनालाई त्यस्तो एसएमएस पठाइसकिएको छ । प्रतिवादीले तत्काल आफूविरुद्ध दर्ता भएको मुद्दाको बारेमा जानकारी पाउने व्यवस्थाले सेवाग्राहीलाई लाभ पुगेको श्रेष्ठले बताए । भौतिकरुपमा उपस्थित भएर तारेक लिने प्रणालीमा सुधार ल्याउँदै अनलाइन तारेकको अभ्यास पनि अदालतले सुरु गरेको छ ।

अदालतको कुन इजलासमा कुन मुद्दा सुनुवाई भयो, त्यसको प्रक्रिया कहाँ पुग्यो, कुन मुद्दा हेर्न नमिल्ने भयो र कुन मुद्दा फैसला भयो भन्ने विषय अदालत परिसरमा राखिएको डिस्प्ले बोर्डमै देखिने व्यवस्था मिलाइएको छ । त्यसबाट अदालतभित्र हुने भिडभाड व्यवस्थापन गर्न र सर्वसाधारणले सहजै सूचना पाउने वातावरण बनेको छ ।

प्रशासनिक र सेवा प्रवाहमा सुधार गर्दै उच्च अदालत विराटनगरले न्यायाधीश र कर्मचारीहरुलाई स्वनियमन र आचारसंहितामा बस्ने र दैनिक कार्य सम्पादनमा जिम्मेवार बनाउनतर्फ ध्यान दिएको छ । जसले विगतको तुलनामा कार्यसम्पादन क्षमतामा सुधार भएको छ ।

पुराना मुद्दाहरुको संख्या घटाउने क्रममा अदालले २ वर्ष भन्दा पुराना मुद्दाको संख्या पहिलो पटक शून्य बनाएको छ । यसअघि उच्च अदालत विराटनगरमा २ वर्ष अवधि नाघेका मुद्दाको संख्या कहिल्यै शून्यमा आएको थिएन । अदालतले आगामी दिनमा १८ महिनाभित्रै मुद्दा फैसला गरिसक्ने लक्षसहित काम गरिरहेको जनाएको छ ।

गत वर्ष २ हजार १०८ थान मुद्दा फस्र्यौट भएको अदालतले जनाएको छ । कुल ३ हजार ६३१ मुद्दामध्ये ५८ प्रतिशत मुद्दा फैसला भएको अदालतले जनाएको छ । अदालतका ११ न्यायाधीशले एक वर्षमा २ हजार १०८ मुद्दा फैसला गरेका हुन् ।

मुद्दा फैसलामा पनि देशभरका उच्च अदालतहरुमध्ये विराटनगर पहिलो स्थानमा रहेको छ । साथै देशभरीमा सबैभन्दा धेरै मुद्दा फैसला गर्ने न्यायाधीशहरुमा उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश श्रेष्ठ र न्यायाधीश कृष्णकुमार अधिकारी दुई जना उत्कृष्ठ सूचिमा परेका छन् ।

शुक्रबार, ११ भदौ, २०७८, दिउँसोको ०१:४८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर