बहुमत कायम राख्छु : मुख्यमन्त्री आचार्य, दुई दिनमै एमाले सरकार अल्पमतमा : राजेन्द्र राई

नवनियुक्त प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य र नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईसँग गरिएको कुराकानी

एमालेकै बहुमत पुग्छ, पुर्याउन लागिपर्छु

नवनियुक्त मुख्यमन्त्री भीम आचार्यको सत्तारोहण त सजिलै भयो । तर, यो कति लामो जाला ? यसको उत्तर थाहा पाउन सम्भवतः केही दिन कुर्नुपर्नेछ । नेकपा एमाले विभाजित बनेर नेकपा (एकीकृत समाजवादी) पार्टीले कानूनी मान्यता पाएको भोलिपल्ट बिहीबार प्रदेश १ मा आचार्य मुख्यमन्त्री नियुक्त भए । सरकार टिक्ने–नटिक्ने दुविधा कायमै रहेका बेला मुख्यमन्त्री बनेका उनको योजना र प्राथमिकता के हुन् ? प्रदेश प्रमुखको कार्यालयमा सञ्चारकर्मीका प्रश्नमा उनले दिएका उत्तर यस्ता छन्  :

भीमप्रसाद आचार्य, मुख्यमन्त्री, प्रदेश नं. १

प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ । तपाईको प्राथामिकता के हुन्छ ?

महामारीको रूपमा फैलिएको कोभिड १९ ले अहिले देश आक्रन्त बनेको छ । फेरि पनि तेस्रो लहर आउने खतरा बढेको छ । कोभिड १९ को रोकथाम र नियन्त्रण मैले पहिलो प्राथमिकतामा राखेको छु । अहिले यहि कोभिड १९ को नियन्त्रणमा हामी लागि पर्नेछौं ।

मन्त्रीपरिषद बिस्तार कहिले गर्नुहुन्छ ?

अब सल्लाह गरेर छिट्टै नै मन्त्रीपरिषद पनि बिस्तार गर्नेछौं । मुख्यमन्त्री पदको सपथ लिइसकेको छु । अब चाँडै क्याबिनेट पनि बिस्तार गर्ने तयारीमा लागि पर्नेछौं । त्यसका लागि सरसल्लाह भइरहेका छन् । जतिसक्दो छिटो मन्त्रिपरिषद् विस्तार गर्ने मेरो योजना छ ।

तपाइँको पार्टीका केही सांसद नेकपा समाजवादीमा जानुभएको छ । कसरी बहुमत जुटाउनुहुन्छ ?

लोकतन्त्र, विकास र स्थायित्व पक्षधर दलहरुसँग कुरा गर्नेछौंं । लोकतन्त्र र गणतन्त्रको स्थायित्व चाहने पक्षधर दलहरुसँग पनि समन्वय र सहकार्य गरेर हामी अगाडि बढ्ने तयारीमा लागिपरेका छौं । त्योभन्दा पनि आफ्नै पार्टी एमालेभित्र संख्या (बहुमत) पु¥याउन लागिपर्नेछौं ।

विश्वासको मत कहिले लिनुहुन्छ ?

संविधानमा भएको व्यवस्था अनुसार विश्वासको मत लिनेछु ।

सरकार टिकाउन मन्त्रालय थप गर्ने चर्चा सत्य हो कि होइन ?

त्यसमा पछि अवस्था के सिर्जना हुन्छ, त्यसमा भर पर्ने हुन्छ । अहिले हाम्रो प्राथामकिता भनेको स्थिरता हो । प्राथामिकता भनेको लोकतन्त्र र गणतन्त्रको रक्षा हो । संघीयताको रक्षा गर्नु पनि छ । त्यसको निम्ति जे आवश्यकता हुन्छ, त्यस अनुसार अगाडि बढ्नेछु ।

……………………………………………………………………………………………………………………………………………………………………

‘दुई दिनमै सरकारले बहुमत गुमाउँछ’

राजेन्द्र राई, केन्द्रीय सदस्य, नेकपा (एकीकृत समाजवादी)

प्रदेश १ को सरकार परिवर्तनलाई कसरी लिनुभएको छ ?

प्रदेश सरकार परिवर्तन जसरी गरियो, त्यो संविधान र कानुन विपरित छ । दल विभाजन भइसकेपछि निर्वाचन आयोगले प्रदेशसभाका सांसदहरुलाई पार्टी छनौट गर्न २१ दिनको समय दिएको छ । त्यो अबधि भनेको चुनावपछिको मतगणनाको अबधि जस्तै हो । तर, मतगणना नसकिँदै विजयी घोषणा गरियो । विभाजित दलका सांसदहरुमध्ये को कता छन् भनेर संख्या गन्ने अवधिमा कुनै व्यक्तिलाई विजयी घोषणा गर्न कसरी मिल्छ ? त्यो मिल्दैन । त्यसैले यो संविधान र कानुनसम्मत छैन । विभाजित दलको हैसियत २१ दिनमा निक्र्यौल हुन्छ । त्यसपछि मात्र सरकारसँग बहुमत छ कि छैन भन्ने स्पष्ट हुन्छ । अहिले सरकारले बहुमत पुष्टि गर्नै सक्दैन भन्ने हाम्रो कुरा हो । त्यसैले यो गैरसंवैधानिक छ । कसैले यसलाई फोटो टाँस्ने अवसरको रुपमा लिएको देखियो । महिना वा २५ दिनका लागि भएपनि इतिहासमा मुख्यमन्त्रीको रुपमा नाम राख्ने, फोटो टाँस्ने सोचले हतारमा निर्णय लिइयो ।

तपाईंहरुसँगै रहनुभएका सांसदहरु सरकारको नेतृत्वमा पुग्नुभयो, अब तपाईँहरु कसरी बढ्नु हुन्छ ?

अबको २१ दिनको अवधिमा हिजो हामीसँगै रहेर संघर्ष गरेका साथीहरुसँग छलफल गर्छौं । सकेसम्म धेरै साथीहरुलाई नेकपा एकीकृत समाजवादीमा समावेश गराउनेछौं । दल छनौटका लागि निर्वाचन कार्यालयमा निवेदन दिने र सनाखत गर्ने काममा लाग्छौं । एमालेले सरकारको बहुमत गुमाउन पर्याप्त हुने संख्याले निर्वाचन कार्यालयमा आवेदन दिएपछि यो सरकार स्वतः विघटन हुन्छ । हामी कानुनी प्रक्रिया पूरा गरेर सरकारको राजीनामा माग्छौं । २१ दिनको अवधिमा राजीनामा नआए हामी अर्को ढंगबाट अघि बढ्छौं ।

नयाँ दल रोजेको औपचारिक जानकारी निर्वाचन आयोगलाई कहिले दिनुहुन्छ ? कति संख्या तपाईहरुसँग रहन्छ ?

भोलि वा पर्सिसम्ममा वर्तमान सरकार स्पष्ट अल्पमतमा पर्ने र गठबन्धन बहुमतमा भएको सन्देश दिनेगरी केही सांसदहरुले निर्वाचन आयोगमा आवेदन दिन्छौं । अबको २१ दिनभित्र दल रोज्न पाउने सुविधा भएकोले यो क्रम निरन्तर जारी राख्छौं ।

मुख्यमन्त्री भीम आचार्यले आफूसँग एमालेको बहुमत सुरक्षित रहने दाबी गर्नुभएको छ, अनि कसरी सरकार अल्पमतमा पर्छ ?

पार्टी नेतृत्वको गलत शैली र क्रियाकलापविरुद्ध उहाँ र हामी सँगसँगै संघर्षमा थियौं । आज उहाँ मुख्यमन्त्री बन्नुभएको छ । मुख्यमन्त्री त बन्नुभयो तर, सुविधाजन बहुमत छैन र पुग्दैन भन्ने कुरा उहाँलाई राम्रोसँग थाहा छ । त्यहि भएर पनि उहाँले हतार गर्नुभयो । यस्तो हतार गर्न हुन्नथ्यो । उहाँले हतार मात्र गर्नुभएन, मुख्यमन्त्री बन्नकै लागि संविधान र कानुन पनि उल्लंघन गर्र्नुभयो । मुख्यमन्त्री बनेपछि कसैलाई तानतुन पारेर, मन्त्री बनाइदिएर बहुमत जुटाउन सक्छु भन्ने लागेको हुनसक्छ । यसप्रकारको प्रयास उहाँले यसअघि पनि पटक पटक गर्नुभएकै थियो । तर, कहिल्यै सफल हुनुभएन । यसपटक पनि उहाँको गणित र अनुमान फेल खान्छ ।

यसअघि तपाईहरुसँग रहेका ८ सांसद एमाले संसदीय दलमा फर्किसके । अब तपाईहरुसँग कति संख्या रहन्छ ?

बिहीबारको बैठकमा सहभागी नभएका साथीहरुसँग लामो छलफल भएको छ । अन्तिम अवस्थासम्म सँगै हुनसक्छौं भनेर विश्वास गरेका साथीहरु त्यहाँँ जानुभएको छैन । त्यसैले बैठकमा अनुपस्थित भएका सबै हामी साथमै छौं । यो २१ दिनको अवधिमा त्यहाँ उपस्थित हुनुभएका ५ देखि ७ जना साथीहरुसँग हाम्रो कुराकानी भइरहेको छ । अन्तिमसम्ममा उहाँहरुले हामीलाई साथ दिने विश्वास छ ।

गबन्धनको सरकार बन्दा मुख्यमन्त्रीको रुपमा तपाईँको नाम चर्चामा सुन्न थालिएको छ । गठबन्धनभित्र त्यस प्रकारको छलफल बढेको हो ?

सातवटा प्रदेशमध्ये गठबन्धनमा रहेका दलहरु नेकपा माओवादी केन्द्रले तीन वटा प्रदेशमा नेतृत्व गरेको छ । केन्द्र सरकार र एउटा प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसले गरेको छ । बाँकी दुई प्रदेशमा नेकपा एकीकृत समाजवादीको नेतृत्वमा सरकार बन्नसक्छ भन्ने अनुमान सबैले गरेका छन् । त्यो स्वभाविक पनि हो । प्रदेश संसदीय दलका गठबन्धनका साथीहरुसँग मेरो कुराकानी भइरहेको छ । तर, केन्द्रमा भने यस विषयमा छलफल अगाडि बढेको छैन ।

बिहिबार, १० भदौ, २०७८, साँझको ०७:३३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर