मुख्यमन्त्री फेर्नु संविधानविपरीत रहेको विपक्षीको प्रतिक्रिया

संविधानभन्दा बाहिर गएर प्रदेश प्रमुख सोमनाथ प्यासी अधिकारीले पार्टीको काम गरेको आरोप

विराटनगर । नेकपा एमाले विभाजित भइसकेको बेला प्रदेश १ को मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएर तत्कालै मुख्यमन्त्रीमा भीम आचार्य नियुक्ति गर्नु संविधान विपरित भएको विपक्षी गठनबन्धनले जनाएको छ ।

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले संविधानको धारण १६८ (१) अनुसार भीम आचार्यको नेतृत्वमा सरकार गठन हुनै नसक्ने बताए । ‘दल विभाजन भएको छ, दलसम्बन्धी ऐनमा २१ दिनभित्रमा नयाँ दल रोज्न पाउने व्यवस्था छ, यो अवस्थामा हतारहतार गरेर नाटकीय ढंगले मुख्यमन्त्री गराउन खोज्ने काम असंवैधानिक छ,’ आङ्बोले भने, ‘हामी यस कदमको विरुद्धमा सशक्त प्रतिवाद गर्छाैं ।’

नेकपा एकीकृत समाजवादी पार्टीका नेता तथा प्रदेशसभा सदस्य राजेन्द्र राईले आफूहरुको पक्षमा १० भन्दा बढी सांसद रहेको भन्दै भीम आचार्य एमालेको बहुमतप्राप्त दलको नेताको रुपमा सपथ लिनु असंवैधानिक भएको बताए । आचार्यले फोटो टाँस्नकै लागि हतारमा मुख्यमन्त्री बनेको उनको भनाइ छ । ‘उहाँलाई फोटो झुण्ड्याउने रहर थियो, २०÷२५ दिनमा यो सरकार परितर्वन हुन्छ,’ उनले भने, ‘हामीले नयाँ दलमा सहभागी हुने सांसदहरुको निवेदन दर्ता गरेसँगै राजीनामा माग गर्नेछौं ।’

दुई दिनभित्र गठबन्धनको बहुमत देखिने र एमालेको अल्पमत देखिनेगरी कदम चाल्ने राईले बताए । भीम आचार्यले बहुमत आफूसँगै रहने दावी गरेको विषयमा टिप्पणी गर्दै राईले एमालेको ओली समूहकै कतिपय सांसदहरु आफूसँग आउनेगरी कुराकानी भइरहेको बताए ।

प्रदेश १ को विपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले प्रदेश प्रमुखले किर्ते गरेको आरोप लगाए । संविधानभन्दा बाहिर गएर प्रदेश प्रमुख सोमनाथ प्यासी अधिकारीले पार्टी कार्यकर्ताको रुपमा काम गरेको उनको भनाइ छ ।

‘प्रदेश प्रमुखले नियुक्ति गरको कुरा किर्ते हो । संविधानभन्दा बाहिर गएर पार्टीको काम गर्नुभएको छ । प्रदेश प्रमुखको भूमिका निभाउनुपर्नेमा संविधान र दलसम्बन्धी ऐन नपढी नियुक्ति गर्नुभयो,’ कार्कीले भने, ‘नयाँ दल दर्ता भएको जानकारी हुनुपर्ने हो । दल विभाजन भएको भनेको देशैभरीका लागि हो । बहुमतको लागि ४७ जना सांसद चाहिन्छ भन्ने हेक्का उहाँले राख्नुभएन ।’ कार्कीले आफ्नो दलले आधिकारिक धारणा भोली बैठक बसेर दिने भन्दै अल्पमतमा रहेका मुख्यमन्त्रीको नियुक्त बदर हुनुपर्ने बताए ।

विपक्षी गठबन्धनले नेकपा एकीकृत समाजवादीमा जाने सांसदको संख्या स्पष्ट भएलगत्तै संयुक्त बैठक राखेर एउटै धारणा निर्माण गरी अघि बढ्ने तयारी गरेको छ । जसका लागि नेपाली कांग्रेस संसदीय दलका नेता राजिव कोइराला, नेकपा माअ‍ोवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईबीच बिहीबार नै छलफल भएको छ ।

बिहिबार, १० भदौ, २०७८, साँझको ०५:४७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर