सामाजिक विकास मन्त्रालयद्वारा १७ स्रष्टाको नाम सार्वजनिक गर्न ढिलाइ

साउन २४ गते छनौट समितिले सिफारिस गरेको नामावली मन्त्रालयले थन्क्याएर बसेपछि साहित्यकारहरुले असन्तुष्टि जनाएका छन्

विराटनगर । प्रदेश १ सरकारले प्रदेशका १७ जना स्रष्टालाई सम्मान गर्न सिफारिस गरिएका नामावलीलाई औपचारिक रुपमा सार्वजनिक गरेको छैन ।

प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षमै वितरण गर्नुपर्ने पुरस्कार वितरण गर्न सकेको थिएन । अघिल्लो आर्थिक वर्षको अन्त्यमा सूचना जारी गरी सामाजिक विकास मन्त्रालयले आवेदनको माग गरेको थियो । मन्त्रालयले परेका आवेदनमध्ये १७ जनालाई छनोट गर्नका लागि खेम नेपालीको संयोजकत्वमा समिति गठन गरेको थियो । उक्त समितिले सिफारिस गरेको १० दिनवितिसक्दा पनि मन्त्रालयले भने औपचारिक रुपमा नामावली सार्वजनिक गरेको छैन । ‘पुरस्कारका लागि सिफारिस गरेका नामहरु सार्वजनिक गर्न ढिलाई भएको हामीले महसुस गरेका छौं,’ छनौट समितिका संयोजक नेपालीले भने, ‘मन्त्रालयले छिटो नाम सार्वजनिक गरे राम्रो हुने थियो ।’  छनौट समितिले सिफारिस गरेको नामावली मन्त्रालयले थन्क्याएर बसेपछि केही साहित्यकारहरुले भने असन्तुष्टि जनाएका छन्

प्रदेश सरकारले सामाजिक विकास मन्त्रालयमार्फत वितरण गर्न लागेको ‘भाषाशास्त्री बालकृष्ण पोखरेल भाषा साहित्य पुरस्कार’बाट विराटनगरका साहित्यकार बलराम पोखरेललाई सम्मानित गर्न छनौट समितिले सिफारिस गरेको थियो ।

पोखरेललाई १ लाख रुपैयाँ राशीको पुरस्कारबाट पुरस्कृत गर्न लागिएको हो । यस्तै छनौट समितिले ५० हजार राशीको प्रदेश प्रतिभा पुरस्कारबाट गायक सत्यकला राई, गायक टिका चाम्लिङ, साहित्यकार माधव कल्पित, पत्रकार तथा साहित्यकार शंकर खरेल, साहित्यकार भानुभक्त कुभेण्डेली, साहित्यकार लक्ष्मण नेवटिया, साहित्यकार डम्बरु बल्लभ भण्डारी, कवि तथा साहित्यकार मन्जुश्री गिरी, साहित्यकार सरस्वती दुमी राई, नविन राई, प्रेम सुब्बा र राम दियालीलाई पुरस्कृत गर्न सिफारिस गरेको थियो । यस्तै २५ हजार राशीको नवोदित श्रष्टा पुरस्कारबाट कविता राई, खगेन्द्रा खुसी, रामभजन कामत, संजीव धिमाल र सुरेश पोर्तेललाई पुरस्कृत गर्न सिफारिस गरिएको जनाइएको छ ।

प्रदेश १ सरकार सामाजिक विकास मन्त्रालय, युवा तथा खेलकुद महाशाखाले गत असार १३ गते एक सूचना प्रकाशित गरी असार २१ गतेसम्ममा आवेदनको माग गरेको थियो । भानुजयन्तीको अवसर पारेर असार २९ गते वितरण हुने यि पुरस्कारहरु यस पटक भने कोभिड–१९ का कारण पछि सरेको हो । अघिल्ला २ वर्षभने सोही दिन पुरस्कार वितरण भएको थियो ।

सामाजिक विकास मन्त्रालय युवा तथा खेलकुद महाशाखाका प्रमुख फणिन्द्र खत्रीले अघिल्लो आर्थिक वर्षमै दिनुपर्ने पुरस्कार अहिले दिँदा रकम निकासामा समस्या देखिने भएकोले त्यसको प्राविधिक पक्ष मिल्ने वित्तिकै नाम र कार्यक्रम सार्वजनिक गरिने बताए । उनले राजनीतिक दबाब वा प्रभावका कारण समितिले सिफारिस गरेका नाममा फेरबदल नहुने पनि बताए । केही साहित्यकारहरुले भने पुरस्कार छनौट न्यायसंगत नभएको भन्दै मन्त्रीलाई नाम सार्वजनिक नगर्न दबाब दिइरहेको बताइएको छ ।

भदौ २, २०७८, साँझको ०६:४३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर