गणेश लम्साल
श्रृष्टिको सबैभन्दा चलाख र मत्वपूर्ण प्राणी मान्छे हो । र, श्रृष्टिमा भौतिक वा आध्यात्मिक तवरले मान्छेबाट जे–जति कार्यहरु हुन्छन्, त्यो सबै जीवित मान्छेकै कल्याण हेतु हुने गरेका छन् । राज्य र तीनका नियम कानून मान्छेद्वारा मान्छेकै लागि बनाइएका हुन् । भरपर्दो शान्ति सुरक्षा र दिगो विकास पनि मान्छेलाई नै आवश्यक परेको हो । प्रतिस्पर्धाका लागि मान्छेले नै मान्छेको आलोचना गर्ने, गल्ति औंल्याउने, सजाय दिने गरेको छ । तर, कल्पना गरांै त ! सृष्टिमा मान्छे नै रहेन भने के होला ? अथवा मान्छे नै संकटमा पर्दै गयो भने कसले कसका लागि गरिदेला ?
सन्दर्भ देशमा बढ्दो मानसिक समस्या र आत्महत्यासँग जोड्न खोजिएको हो । विश्वमा झैं नेपाल र यसका सबै प्रदेशहरुमा ‘दिन दुगुना रात चौगुना’ ले मानसिक समस्या बढिरहेको छ । चेतनामा विस्तार भएपनि अझै मानसिक स्वास्थ्य क्षेत्र राज्यको नजरमा उपेक्षित छ । अझैपनि भौतिक पूर्वाधार र दक्ष जनशक्तिको चरम अभाव छ । समाजमा मानसिक समस्या र बिरामीहरुको संख्या चौगुणाले बढ्दो भएपनि यसको उपचार र समाधानका उपायहरु अझंै हुनुपर्ने जति भइरहेका छैनन् । अझै मानसिक स्वास्थ्य समस्याबारे धेरै अन्धविश्वास र भ्रमहरु कायमै छन् । मानसिक रोग, विरामी र उसको परिवारलाई छिछिः दुुर्दुर गर्दै असहयोग गर्ने व्यवहार छदैछ । अझै मानसिक रोगलाई धामीझाँक्रीले मात्र निको पार्छन् । मानसिक रोग लागेपछि निको हुँदैन । मानसिक रोग लाग्नु भनेको जीवनभरि भ्रमणपूर्ण अवस्थाको पागल हुनु हो र उसले केही गर्न सक्दैनन् । मानसिक रोग लागेको बिरामीसँग बिहे गर्नु गराउनु हुँदैन आदि अनेकांै भ्रमहरु जीवितै छन् ।
‘डब्लुएचओ’का अनुसार विश्वमा हरेक वर्ष ८ लाख बढिले आत्महत्या गर्छन् । सफल आत्महत्या गर्नेहरुले २५ पटकसम्म प्रयास गर्ने गरेका छन् । आत्महत्याको कारणमा तीन गुणा बढी पुरुष जिम्मेवार छन् । तर, पुरुषभन्दा तीन गुणा बढी महिलाहरुले आत्महत्या गर्ने गरेका छन् । नेपालमा मात्र नभएर विश्वमा सडक दुर्घटना र दीर्घरोगबाट मानिसको मृत्यु हुने कारणपछिको तेस्रो कारण हो, आत्महत्या । जसले पृथ्वीमा मानिसको विनाश गराइरहेको छ ।
प्रहरीको तथ्याङ्क अनुसार नेपालमा दैनिक करिब २४ जनाले अर्थात् हरेक वर्ष करिब ८ हजारले आत्महत्या गर्ने गरेका छन् । प्रदेश १ मा गत वर्ष २०७७÷०७८ मा १ हजार ५१६ जनाले आत्महत्या गरेका छन् । सबैभन्दा बढी बिष सेवन गरेर अनि त्यसपछि झुण्डिएर आत्महत्या हुनेगरेको छ । पुरुषभन्दा तेब्बर बढी महिलाहरुले आत्महत्या गर्ने गरेका छन् । ८० प्रतिशत आत्महत्या डिप्रेसन, १० प्रतिशत कडाखाले मनोरोग र बाँकी अन्य कारणले हुने गरेको छ । आत्महत्या गर्ने दक्षिण एशियाका देशहरुमा नेपाल ७ आंै र महिलाले आत्महत्या गर्ने देशहरुमा नेपाल तेस्रो स्थानमा छ ।
मनोचिकित्सकहरुका अनुसार आत्महत्या चेतन वा भ्रमपूर्ण अवस्थामा हुनेगर्छ । जसमा निरासा, दुव्र्यसन, आर्थिक दुरावस्था, कार्यबोझ, आत्मसम्मानमा हानी, दिर्घ बिरामी, कुण्ठा आदि अनेकौ कारणहरु छन् । आत्महत्या गर्ने ९० प्रतिशतमा मानसिक रोग हुने गरेको छ । अझै समाजमा मानसिक रोगमा जस्तै आत्महत्याबारे पनि अनेकौ भ्रमहरु कायमै छन् । एकचोटी गर्नेले सधै आत्महत्या प्रयास गर्छ । आत्महत्याबारे कुरा गर्नु गराउनु हुदैन । मानसिक रोगीले मात्र आत्महत्या गर्छन् । चेतावनीबिना नै आत्महत्या हुन्छ । आत्महत्या सोचाइ भएकाहरुले अरुलाई पनि प्रेरित गर्छन्, आदि—इत्यादी ।
अर्कोतिर व्यक्ति, समाज र घरपरिवार नै आत्महत्याको उत्प्रेरक बन्ने अवस्था अन्त भएको छैन । अजै पनि ‘तँ किन नमरेकी (नमरेको) ?’ ‘उतै मरेर आएको भएपनि हुन्थ्यो नि ?’ ‘यसरी हैरानी दिएर बाँच्नुभन्दा त मरिदिए पनि हुन्थ्यो नि ?’ हरे दैव ! किन लिन काल पठाएनौ’ भन्नेदेखि, ‘मारिदिन्छु,’ ‘तँ धर्तीको बोझ बाँच्न काबिल छैनस्’ ‘ठिक्क प¥यो’ भन्नेजस्ता गालीगलौज र अभिव्यक्तिहरु कायमै छन् । हामीले अझै घर परिवार र समाजमा व्यक्तिलाई होच्याउने, घृणा गर्ने, असहयोग गर्ने आडम्बरी बानी, व्यवहार र बोलिचालीमा सुधार ल्याएका छैनांै । जसले व्यक्तिलाई आत्महत्या गर्न प्रेरित गरिरहको छ । अर्थात् हामी व्यक्ति नै आत्महत्याको उत्प्रेरक बनिरहेका छौं ।
हाम्रो समाजमा मानसिक स्वास्थ्य समस्यासँगै आत्महत्या बढ्दो भएपनि रोकथामका कार्ययोजना बनाइका छैनन् । संघ, प्रदेश सरकार र पालिकाहरुले यसबारे नीति निर्माण गर्न कुनै चासो दिएकै छैनन् । नागरिक समाज पनि यसबारे मौन प्रायः छ । ‘दिन दुगुना रात चौगुणा’ बढ्दो भएकोले र समय कोभिड महामारीको पनि भएकोले यो समस्या झन्झन् बढेर जाने निश्चित छ । जुन अहिले उपेक्षा गरेपनि भोलि राज्यले नै उत्तरदायी भएर जिम्मेवारी निर्वाह गर्नुपर्ने हुन्छ । यसैले अहिले सीमित व्यक्तिको मात्र समस्या हो भनेर सरकारहरुले चुप लागेर टुलुटुलु हेरिरहनु हुँदैन । समय छँदै आवश्यक नीति निर्माण गरेर भौतिक पूर्वाधार र दक्ष जनशक्ति उत्पादन गर्नुपर्दछ । मानसिक स्वास्थ्यलाई जनस्वास्थ्य समस्याका रुपमा प्राथमिकता दिएर रोकथामका लागि वडा तहसम्म पुर्याउनुपर्छ । जनजागरण पैदा गर्दै उपचार र पुनःस्र्थापनाको व्यवस्था मिलाउनुपर्छ । अनि गैरसरकारी क्षेत्रले पनि यो काम अस्पताल र प्रहरीको मात्र हो भनेर पन्छिन हुँदैन । बरु सबै सरोकारवालाहरु मिलेर मानसिक स्वास्थ्य समस्या र आत्महत्या रोकथामका लागि सामूहिक पहल थाल्नुपर्छ । आत्महत्या मृत्युको कारण नरसंहारमा परिणत भएर समाजमा मान्छे नै रहेनन् भने ! अनि, रहेकाहरु पनि सबै मनोरोगीहरु भए नि…..?