माओवादीद्वारा रंगेलीका मेयर दिलिप बगडीयालाई स्पष्टीकरण सोध्ने निर्णय

विराटनगर । नेकपा माओवादी केन्द्र मोरङ जिल्ला समितिको बैठकले जिल्ला सचिवालय सदस्य तथा रंगेली नगरपालिकाका मेयर तथा पार्टी इन्चार्ज दिलिप बगडियालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

माओवादीको आज बसेको जिल्ला समितिको बैठकले बगडियालाई पार्टी सचिवालय सदस्य भएर पार्टीकै तर्फबाट रंगेलीको प्रमुखमा निर्वाचित बगडियाले पार्टी हित विपरीत गतिविधि गरेको ठहर गरेको हो । उनले तीन जना वडाध्यक्षलाई एमाले ओली समूहमा प्रवेश गराएको, कतिपय पार्टी कार्यकर्तालाई एमालेमा प्रवेश गर्न दबाब दिएको र पार्टीको निर्देशन नमानी सम्पर्कमा नआएको भन्दै तीन दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन गरेको छ । चित्त बुझ्दो स्पष्टीकरण प्राप्त नभए पार्टीबाटै र रंगेली नगर प्रमुख पदबाट हटाउन पार्टीको प्रदेश तथा केन्द्रीय समितिमा सिफारिस गर्ने निर्णय गरेको नेकपा माओवादी मोरङका सचिव गणेश उप्रेती सुशीलले बताए ।

बगडियासँगै माओवादीका तर्फबाट निर्वाचित रंगेलीका तीन जना वडाअध्यक्षलाई पनि तीन दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ । तीनजना वडाध्यक्षहरुमा रामचन्द्र मण्डल, महानन्द मण्डल र कृष्ण खनाल रहेका छन् ।

शनिबार, २३ साउन, २०७८, साँझको ०५:४२ बजे

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर