आयोग खारेजप्रति एमाले सांसदको आक्रोश, प्रदेशको नाम छिटो टुंग्याउन कांग्रेस सांसदको माग

विराटनगर । प्रदेश १ को प्रदेशसभामा बोल्ने एमाले सांसदहरुले शेरबहादुर देउवा सरकारको निर्णयप्रति आक्रोश व्यक्त गरेका छन् । सुकुमबासी आयोग खारेज गरेकोप्रति उनीहरुले आक्रोश व्यक्त गरेका हुन् ।

प्रदेशसभाको आज बसेको बैठकको शून्य समयमा बोल्दै सांसद अम्बिका थापाले जनतालाई भोटबैंक बनाउन खोजेको भन्दै आक्रोश व्यक्त गरिन् । सरकारले भूमि आयोग खारेज गर्ने निर्णयलाई विरोध गर्दै नवनिर्मित परमादेशबाट बनेको सरकारले भूमी आयोग खारेज गर्ने निर्णय गरेर गरीब जनतालाई भोट बैंक सम्झेको उनको आरोप थियो ।

‘भूमिहिन दलित, अव्यवस्थित बसोबास गर्ने गरिब जनताहरु आयोग गठन भएको १४ महिना बिति सक्दा गरिब जनताले लालपुर्जा पाउने अवस्थामा आयोग खारेज भयो,’ उनले भनिन्, निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा गठन भएको भूमि आयोग हो, होला यसका पात्रहरु फेर्नुपर्ने होला फेर्नुहोस् केही छैन तर यी गरिब जनता चाहिँ भोट बैँक मात्रै हुन् ?’

सबै पार्टीको घोषणापत्रमा भूमीहिन जनताको जग्गा फिर्ता गर्छौ भनेर उल्लेख भएको भए भूमि आयोग गठन खारेज भएसँगै जनता रुवाबासीको अवस्थामा रहेको बताइन् । ‘कम्फर्टेबल सरकारले किन जनतालाई दुख दिईरहेको छ ? गरिब जनतालाई किन बेवास्ता गरिरहेको छ?’ उनले भनिन्, ‘यो भूमि आयोग खारेज गर्ने हो भने सरकारले बनाएका सुरुङ मार्ग, अन्तराष्ट्रिय विमानस्थल साथै भएका संरचना भत्काउने, खारेज गर्ने हो कि होइन ?’

यस्तै प्रदेशसभा सदस्य बसन्ती कुमारी यादवले परमादेशबाट आएको संघीय सरकारले भ्रष्टाचारको आरोपित नेता विजयकुमार गच्छदारलाई १० लाख धरौटीमा रिहाई दिनु गलत भएको बताइन् । ‘सरकार फेरिएको केही समय पनि भएको छैन तर एक जना संचारकर्मीलाई हटाइएको छ,’ उनले भनिन्, ‘यो उदण्ड सरकार भयो ।’

कांग्रेस सांसद लिला सुब्बाले प्रदेश सरकारले प्रदेश नम्बर १ को नामकरण गर्न नसकेको बताएकी छिन् । सुब्बाले प्रदेश सरकार गठन भएको ४ वर्ष वितिसक्दा पनि प्रदशको नामाकरण हुन नसकेको बताएकी हुन । ‘कयौँ पटक प्रदेश १ को नाम राख्नुपर्छ भनेको छौँ, तर प्रदेश सरकार गठन भएको ४ वर्षमा पनि प्रदेश १ को नाम राख्न नसक्नु भनेको प्रदेश सरकारलाई अटेरी भन्नु पर्यो,’ उनले भनिन्, ‘या प्रदेश १ को सरकार हामी छौं भन्दै जे भन्दा पनि हुन्छ ?’

उनले प्रदेश १ सरकारले प्रदेशको नामाकरणबारे प्रस्ताव तत्काल ल्याउन माग राखेकी छिन् । प्रदेशको नाम नहुँदा कस्तो हुन्छ ? भन्ने प्रश्न गर्दै उनले भनिन्, ‘हामीलाई जनाताले सोध्छन् प्रदेश १ को नाम के राख्छ ? संचारकर्मीलाई खुलदुली हुन्छ प्रदेशेको नाम के हुने हो भनेर ।’

कांग्रेस सांसद सूयर्माराज राईले मोरङको उत्तरी क्षेत्रमा रहेको आमतोला सडक खण्डलाई वहुवर्षीय योजनामा बजेट विनियाजन गरेर निर्माण गर्न प्रदेश सरकारको ध्यानाकर्षण गरे ।

शुक्रबार, २२ साउन, २०७८, दिउँसोको ०४:५२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर