नरोकिएको लागुऔषधको लत : साथीभाइले सिकाए, समाजले अपराधी ठहर्यायो

विराटनगर । प्रदेश १ को युवा पुस्ता लागुऔषध सेवनको भासमा फस्दै गएको छ । यही कुलतमा फसेका २० वर्षीय नवीन खड्का (नाम परिवर्तन) जिल्ला प्रहरी कार्यालय उदयपुरमा भेटिए । उनले चिउँडोमा झरेको मास्क मिलाउँदै भने, ‘साथीभाइले सिकाए, समाजले अपराधी ठह¥यायो ।’

यतिबेला भने नवीनलाई हिरासतबाट छुटेर घर फर्कँदा छरछिमेकले के भन्लान् भन्ने पिरले सताएको छ । जेठ ७ गते लागुऔषधसहित पक्राउ परेका नवीन साउन ८ गते शुक्रबार एक लाख रुपैयाँ धरौटीमा छुटेका थिए । तर समाजले आफू जस्ता बाटो बिराएकालाई सुध्रने मौका दिएर असल बन्ने प्रेरणा दिनुभन्दा पनि बिग्रिएको भन्दै अनेकथरि उपनाम दिँदा निराशा लाग्ने उनको गुनासो छ ।

सामान्य किसान परिवारमा हुर्केका सन्तानका लागि धेरै ठूलो सपना देख्न सम्भव थिएन । तर नवीनलाई उनका बुवाले सुनौलो भविष्यको अपेक्षासहित काठमाडौंमा कोठा भाडा लिएर पढ्न पठाएका थिए । उज्जवल भविष्यको सपना साकार पार्न काठमाडौं पुगेका उनी बिस्तारै कुलतमा फसे र चुरोट तान्दातान्दै लागुऔषध सेवनसम्म पुगे ।

अध्ययनका लागि काठमाडौं बस्ने उनी गत वर्ष कोरोना संक्रमणका कारण लकडाउन भएपछि उदयपुरस्थित घरमा बसिरहेका छन् । १७ महिने अनमी कोर्ष सकेर काम खोजिरहेका बेला आफू लागुऔषधको कुलतमा फसेको उनी बताउँछन् । उनी भन्छन्, ‘केटाकेटी हुँदा गाँउमा ठूलाबडाले चुरोट बिँडी खाएको देखेर सिको गर्दागर्दै चुरोट खान सिकियो । साथीभाइको लहैलहैमा लाग्दा लागुऔषधमा फसियो ।’

नवीन बुवासँग पढाइखर्चको बहानामा पैसा माग्दै साथीहरुसँग नसालु इन्जेक्सन (सुइ) लगाउने गरेको बताउँछन् । ‘साथीहरुले धेरै कर गर्थे, त्यही भएर सुइ लगाउन सिकियो,’ उनले भने, ’तर एकछिनको आनन्दले जिन्दगीभरको सजाय पाइन्छ भन्ने त्यसबेला विचारै गरिएन ।’

विराटनगरका १७ वर्षीय प्रकाश (नाम परिवर्तन) १२ कक्षामा अध्ययन गर्छन् । करिब एक वर्षदेखि लागुऔषध सेवन गर्ने उनी भर्खरै सुधारगृहबाट घर फर्किएका छन् । उनलाई बुवाले कक्षा ५ देखि काठमाडौंमा होस्टलमा राखेर पढाए । होस्टल र त्यहाँका साथीभाइ नै उनका लागि संसार थियो ।

सन्तानको उज्जवल भविष्यका लागि काठमाडौंमा पढ्न पठाएको छोरा कुलतमा फस्ला भन्ने प्रकाशका बुवा रमेश (नाम परिवर्तन) ले सपनामा पनि सोचेका थिएनन् । ‘साथीभाइको संगतले बाटो बिराउनल भन्ने डरले काठमाडौंमा पढ्न राखेका थियौं,’ रमेशले भने, ’१० कक्षा पास गरेपछि आफैंसँग राखेर पढाउन विराटनगर ल्यायौं तर हामीसँग कहिल्यै नजिक भएन । घर छोडेर कहिल्यै बाहिर जाँदैनथ्यो, खै कसरी लागुऔषध सेवन गर्न थाल्यो पत्तै पाइएन ।’

काठमाडौंमा बस्दा चुरोट र चिया भए पुग्ने प्रकाश विराटनगर फर्केपछि नसालु ट्याब्लेट सेवनकै लागि सीमानाका जोगबनी पुग्न थाले । ‘परिवारका सबै जना आ–आफ्नै काममा व्यस्त हुने भएकाले छोरा के गर्दैछ भन्ने उहाँहरूले थाहै पाउनुहुन्नथ्यो,’ उनले भने, ‘म घरमा कोही नभएको मौका छोपेर जोगबनी जान्थें ।’

सानैदेखि परिवारबाट टाढा होस्टल र स्कुलको पर्खालभित्र बाहेक बाहिरको संसारको अनुभव गर्न नपाएका प्रकाश एक्कासी विराटनगरमा साथीभाइसँग हेलमेल हुँदा सही र गलत छुटयाउन गाह्रो भएको सुनाउँछन् । ‘म घरमा नै परिवारसँग बस्न चाहन्थें तर स्कुलको विदा सकिना साथ मेरो इच्छा र खुशी विपरीत मलाई काठमाडौं पठाउनुहुन्थ्यो,’ उनी सुनाउँछन्, ‘यसले गर्दा म परिवारबाट टाढिँदै गएँ र कुलतमा फसें ।’

पूर्वमा फैलँदो लागुऔषध ओसारपसार

प्रहरीका अनुसार पछिल्लो समय मोरङको विराटनगर, सुनसरीको धरान र इटहरी, झापाको विर्तामोड, उदयपुरको गाईघाट र कटारीलगायत क्षेत्रमा लागुऔषध कारोबार बढी हुने गरेको छ । चोरबाटो हुँदै जोगबनी र झापाको सीमानाका काँकडभिट्टाबाट लागुऔषध सेवनदेखि ओसारपसारसम्म हुने गरेको प्रहरी बताउँछ ।

चोरबाटो हुँदै जोगबनी पुगेर लागुऔषध कारोबारीसँग सम्पर्क गर्ने र किन्ने गरेको प्रकाश बताउँछन् । ‘साथीहरूसँग चोरबाटो भएर जोगबनी जान्छौं, त्यहाँ व्यापारीसँग सम्पर्क गरेपछि आफूलाई चाहिने लागुऔषध उनीहरूले दिन्छन्,’ प्रकाशले बताए, ‘कतिले त्यहीँ सेवन गर्छन्, कतिले लुकाएर नेपाल ल्याउँछन् ।’ भारतमा लागुऔषध नेपालभन्दा सस्तोमा पाइन्छ । नेपालमा किन्दा भारतको भन्दा दोब्बर पर्ने भएकाले सस्तोमा किन्न अधिकांश युवा भारत जाने गरेको जानकारी प्रकाशले दिए ।

पूर्वका युवामा ब्राउनसुगर वा नसालु सुइ र ट्याबलेट जस्ता लागुऔषधको कुलत बढ्दै जानुमा विभिन्न कारण रहेपनि एउटा कारण भने यस्ता नसालु औषधको बढ्दै गएको ओसारपसार पनि हो । लागुपदार्थ ओसारपसार गर्नेहरू पक्राउ पर्नेको संख्या र लागुपदार्थको बरामद मात्राले यस्तै बताउँछ ।

प्रदेश प्रहरी कार्यालय विराटनगरको तथ्यांक अनुसार प्रदेश १ मा गएका तीन वर्षमा २ हजार ४ सय ५ किलो ९५ ग्राम गाँजा, करिब ३३ ग्राम चरेस, साढे ३ किलो अफिम, ९ किलो २ सय साढे २१ ग्राम ब्राउनसुगर, १ लाख २० हजार २ सय ८२ विभिन्न क्याप्सुल, ५ हजार ७ सय ९८ एम्पुल नसा लाग्ने औषधी र ७ हजार १ सय १६ अन्य नसालु औषधी बरामद भएको छ । यस्तै लागुऔषध सम्बन्धी १ हजार ७ सय ९१ मुद्दा दर्ता भएका छन्। २ हजार ५ सय ५७ पुरुष र १ सय ३२ महिला पक्राउ परेका छन् ।

किन बढ्दैछ लागुऔषधको कुलत ?

सानो परिवार, आधुनिकता र प्रविधिललगायतमा आएको परिवर्तनले पारिवारिक तथा सामाजिक वातावरणसमेत फेरिँदा पछिल्लो समय युवामाझ लागुऔषधको दुव्र्यसन बढ्दै गएको डिआइजी अरुणकुमार बिसी बताउँछन् । अभिभावकले नै लागुऔषध प्रयोग गर्दा पनि छोराछोरीले त्यसको सिको गरेर कुलतमा पर्ने गरेको उनले बताए । ‘कतिपय परिवारका कुनै सदस्यले छोराछोरीकै सामुन्ने लागुऔषध सेवन गर्छन्,’ उनले भने, ’त्यस्तो अवस्थामा बच्चाले उसको नक्कल गर्छ र बालबालिका समेत यसको कुलत फस्न जान्छन् ।’

बालबालिकालाई दिएको पैसाको सही उपयोग भए नभएकोमा पनि अभिभावकले ध्यान दिन आवश्यक रहेको उनको भनाइ छ । छोराछोरीले गरेका गलत कामलाई अभिभावकले ढाकछोप गर्नु, उनीहरूलाई पर्याप्त समय नदिनु र भावना नबुझ्नु जस्ता कारणले पनि बालबालिका कुन बाटो हिँड्दैछन् भन्ने अभिभावकले थाहा नपाउने गरेको उनी बताउँछन् । ‘आफूले सोचेको काममा सफलता नमिल्दा पनि कतिपय लागुऔषधमा फस्ने गरेका छन्,’ उनले भने ।

नियन्त्रणका प्रयास

लागुऔषधको कुलतमा फसेकाहरूको पुनःस्थापनाका लागि धरानमा आसरा सुधार केन्द्र सञ्चालन गरिएको डिआइजी बिसीले जानकारी दिए । उनका अनुसार लागुऔषध नियन्त्रण ब्यूरो विराटनगर तथा काँकडभिट्टाले लागुऔषध नियन्त्रणसम्बन्धी विभिन्न प्रकारका कामकारबाही गरिरहेको छ । लागुऔषधसम्बन्धी सूचना संकलन तथा विश्लेषण समेत गर्ने गरेको उनले बताए ।

लागुऔषध नियन्त्रणका लागि विभिन्न माध्यमबाट जनचेतनामूलक कार्यक्रम आयोजना गर्ने गरेको प्रदेश प्रहरी प्रमुख डिआइजी बिसीले जानकारी दिए । उनका अनुसार पर्चा, पम्पलेट वितरण, स्कुल सम्पर्क कार्यक्रम, सडक नाटक, गाँजा फँडानीलगायत गतिविधिका साथै जनचेतनामूलक कार्यक्रमसमेत बेलाबेलामा हुने गरेको छ ।

शुक्रबार, २२ साउन, २०७८, बिहानको ११:३५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर