बन्धु पोखरेल
क.केपी शर्मा ओलीबिनाको पनि एमाले हुन्छ र ? यस्तो कल्पना गर्न पाइन्छ र ? थाहा छैन, ओलीभन्दा अघि एमाले ‘पोथी’ थियो, ओलीको जादुले लिंग परिवर्तन भो, अनि पो एमाले ‘भाले’ भो ।
ओलीले भित्रभित्रै माओवादीसँग ‘इलुइलु’ गरे, दुईतिहाई बनाए । फेरि उनैले माओवादीलाई लात्तीले हानेर बारीको पाटामा पु¥याए । ‘हामी यहाँ छौं’ छातीमा टँसाए, माइतीघरको सडकमा आखिर कसले बसाए !
ओलीले धरहरा ठडाए । रानीपोखरी बनाए । तुइन हटाए । रेल कुदाए । पानीजहाज चलाए । यता हेरे पनि उता हेरे पनि, जहाँ बसेर हेरे पनि विकासै विकासको मूल फुटाए । सिंहदरबार नगई बालुवाटारबाटै सरकार चलाए । ओलीले के गुमाए ? आखिर ३ करोड जनता ओली नै कमाए !
क.केपी शर्मा ओली के सर्वश्व हारेका जुवाडे हुन् र खिस्रिक्क पर्नुपर्ने ? के चाहिँ हारे उनले ? प्रतिनिधिसभा विघटन गरे, अदालतबाट हारे । फेरि गरे फेरि हारे । दुई पटक हारे । तेस्रो पटक ‘ट्राइ’ गर्न दिएको भए जित्थे कि क्यारे !
खुशी हुने तरिका के हो ओलीबाट जान्नुपर्छ । अर्कालाई गाली कसरी गर्ने हो त्यो पनि ओलीबाटै सिक्नुपर्छ । हेर्नुस् त क्षमता, ओलीले भनेपछि माधवकुमार नेपाल पनि प्रचण्डका मामुली कार्यकर्ता भए । अब मामुली कार्यकर्ताका पनि यदि कथंकदाचित कार्यकर्ता रहेछन् भने ती भुसुना कार्यकर्ता भएनन् ? अनि ती भुसुना कार्यकर्ता जति उफ्रेपाफ्रे पनि ओलीले ‘बाल’ देलान् त !
000
‘इतिहासले क. केपी शर्मा ओलीलाई भयानक दण्डित गर्नेछ’ भन्नै हुँदैन । वायुपुत्रहरुलाई छटपट सुरु भई हाल्छ । बोल्यो कि पोल्यो । म भन्छु, ‘ध्वंसको रचना गर्ने अहिले हैन, वैदिककालदेखि नै दण्डित भएका छन् ।’
जो कोहीले कर्मअनुसारको फल भोग्नैपर्छ । अहिले माधवकुमार नेपाल, झलनाथ खनालले जुन प्रकारले तिरिमिरीझ्याइँ देखे, सायद यो पनि कर्मकै फल हो ।
शास्त्रअनुसार, व्यक्ति सजाय भोगेपछि निष्पाप हुन्छ । खनाल र नेपाल क्रमशः निष्पाप हुने चरणमा छन् । पालो ओलीको पनि आएजस्तो छ । अब ओलीले तीन लोक चौंध भुवन देख्नेछन् ।
000
बाँदर दुई खुट्टाले उभिएर हिँड्न सक्ने, जंगलमा बस्ने हेर्दा मानिस जस्तै देखिने स्तनधारी जनावर हो । बाँदरका आनीबानी बारे नियालेर अध्ययन गर्दा यिनीहरूले पनि मानिसको उमेर समूहअनुसारकै व्यवहार प्रदर्शन गरिरहेका हुन्छन् ।
वयस्क हुनुअघिसम्म बाँदरको दिनचर्या खानु–खेल्नुमै बित्छ । उमेर पुगेपछि बाँदरहरू एकअर्कालाई तर्साउने, झुक्याउने, अचानक आक्रमण गर्ने तथा बलियो छु भनी हाँगा हल्लाई फुइँ गर्ने खेल पनि खेल्छन् ।
000
जब महाभारत युद्ध हुने नै भो । शल्य आफ्ना भाञ्जाहरूलाई सहयोग गर्न भनी मत्स्य देशतर्फ निक्लिए । तर, मत्स्य देश पुग्दानपुग्दै शल्य बाटोमै कौरवहरूको मिथ्याचारको यस्तो चंगुलमा परे कि उनी युद्धमा कौरव पक्षलाई समर्थन गर्न वचनबद्ध भए । शल्य मद्र देशका नरेश, नहकुल र सहदेवकी आमा माद्रीका भाइ थिए । जब युद्ध हुने अवस्था हुन्छ यस्ता मामा–माइजू को कता कसको चंगुलमा पर्छन् टुंगो हुन्न । तिनप्रति शेषमात्रै पनि क्षोभ गर्नु हुन्न ।
मान्नुस् यो आधुनिक युगको धर्मयुद्ध हो । फरक यति मात्रै हो कि यहाँ कुरुक्षेत्रमा झै कोही कृष्ण बनेर गीताका ऋचा पढ्न आउन्नन् । संग्राममा कति नारायणी सेना कता गए चिन्ता नगर्नुस् । आफूसँग नारायण चाहिँ कति बाँकी रहे त्यो ख्याल गर्नुस् । त्यसैले बजाउनुस् पाञ्चजन्य, उठाउनुस् गाण्डीव, साँध्नुस् निशाना । के को टिकिटिकी ट्याँस ।
(नेकपा एमालेको आन्तरिक विवादका सन्दर्भमा पत्रकार बन्धु पोखरेलले सामाजिक सञ्जालमा गरेका केहि टिप्पणीहरु ।)