विराटनगर । प्रदेश १ मा हालसम्म १ लाख ५२ हजार बढी जनसंख्याले कोरोनाविरुद्धको पुर्ण खोप लगाएका छन् ।
कोरोना संक्रमणको जोखिम उच्च भएसँगै प्रदेशका १४ वटै जिल्लाका १ लाख ५२ हजार ५ सय १६ जनाले कोभिड विरुद्धको दुवै डोज लगाएका हुन् । अहिलेसम्म ५२ हजार ८ सय ५५ जनाले भारतीय कम्पनीको कोेभिशिल्ड र ६४ हजार १ सय ८५ जनाले चिनिया कम्पनीको भेरोसेल खोपको दुवै डोज लगाएको स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ ।
निर्देशनालयका अनुसार प्रदेश १ मा खोपको पहिलो मात्र डोज लगाउनेको संख्या ६ लाख १० हजार ८ सय ९१ रहेको छ । जसमा सबैभन्दा बढी ३ लाख ७ हजार १ सय ८० जनाले कोभिशिल्डको पहिलोे मात्रा लगाएका छन् । बुधबार बेलुकासम्म ३ लाख ३ हजार ७ सय ११ जनाले भेरोसेल र ३५ हजार ४ सय ७६ जनाले जेनसेन खोपको पहिलो मात्रा लगाएको निर्देशनालयको तथ्याङ्क छ ।
प्रदेशमा हालसम्म ४.८१ प्रतिशत नागरिकले मात्रै खोपको दुबै डोज लगाएको निर्देशनालयका प्रमुख ज्ञानबहादुर बस्नेतले बताए । उनले सरकारी मापदण्ड अनुसार १४ वटै जिल्लाका नागरिकहरुलाई खोपको पहिलो र दोस्रो डोज दिईएको जानकारी दिए ।
‘यद्यपि कोभिशिल्डको पहिलो मात्रा लगाएका अधिकांश नागरिकहरुका लागि दोस्रो मात्राको प्रबन्ध गर्न सकिएको छैन्,’ उनले भने, ‘बढ्दो संक्रमण दरका कारण भारतमा आफै खोपको आन्तरिक खपत बढेको छ । त्यसकारण उताबाट खोप आयात गर्न सकिएको छैन् ।’ सरकारी तथ्याङ्क अनुसार प्रदेश १ को झापा जिल्लामा सबैभन्दा बढी ६३ हजार ११६ जनाले भेरोसेल खोपको पहिलो मात्रा लगाएका छन् ।
सुनसरीमा ५२ हजार ८९३, मोरङमा ३१ हजार ११०, इलाममा १६ हजार ५५९, खोटाङमा ११ हजार ९१४, धनकुटामा ११ हजार २७५, सङ्खुवासभामा १० हजार ९८७ र भोजपुरमा १० हजार ३५० जनाले भेरोसेलको पहिलो मात्रा लगाएको देखिएको छ । सबैभन्दा थोरै सोलुखुम्बुमा ४ हजार ९३० जनाले खोपको पहिलो डोज लगाएका छन् । हालसम्म ताप्लेजुङ्गका ४ हजार ६२, तेह्रथुमका ४ हजार ९ सय १६, पाँचथरका ७ हजार ३९३, ओखलढुङ्गाका ८ हजार २७७ र उदयपुरका ९ हजार ६२० जनाले भेरोसेलको पहिलो डोज लगाएका छन् ।
प्रदेश १ मा पहिलोपटक भने सरकारले भारतीय सहयोगको ४५ हजार ९ सय भाईल कोभिशिल्ड खोप आएको थियो । जसबाट ५२ हजार बढी नागरिकले कोभिशिल्डको दुवै मात्रा लगाएका थिए । तर, भारतबाट कोभिशिल्ड खोपको थप आपुर्ति सम्भव नहुने भएपछि सरकारले पहिलो डोजका लागि दोस्रोपटक वैदेशिक सहयोगको १४ हजार ५ सय भाईल भेरोसेल खोप प्रदेश १ पठाएको थियो ।
दोस्रोपटक चीनसँग प्रत्यक्ष सीमा जोडिएका संखुवासभा, सोेलुखुम्बु र ताप्लेजुङका स्थानीय तहहरुका लागि पनि सरकारले केन्द्रबाटै ३२ हजार ४ सय डोज खोप पठाएको विराटनगरस्थित प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रले जनाएको छ । त्यसमा पनि सबैभन्दा पहिले सोलुखुम्बुलाई ४ हजार डोज भेरोसेल खोप केन्द्रबाट सहयोग गरिएको आपुर्ति व्यवस्थापनको तथ्याङ्क छ ।
प्रदेश १ मा हालसम्म केन्द्रबाट आपुर्ति व्यवस्थापनलाई प्राप्त भएको भेरोसेल खोपको १ लाख ७८ हजार २ सय डोज प्रदेशभरिका जिल्लाहरुमा पठाईसकिएको छ । पहिलो मात्राका लागि साउन ८ गते प्राप्त भएको थप १६ हजार ९९६ भाईल खोप पनि आवश्यकता अनुसार प्रत्येक जिल्लाहरुमा पठाईसकिएको प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रका कोल्डचेन निरिक्षक चन्द्रकान्त ठाकुरले बताए ।
साउन ८ मै आएको ४ हजार ८ सय भाईल जेनसेन खोप पनि जिल्लाहरुलाई आपुर्ति गरिसकिएको छ । ‘दुवै खोपसँगै आएपनि विभिन्न जिल्लाहरुमा भण्डारणको समस्या भएकाले दुईपटक गरि १४ वटै जिल्लालाई आपुर्ति गरिसकेका छौं,’ उनले भने, ‘दोस्रो डोजका लागि भेरोसेलको थप आयात हप्ता दिनमा हुन्छ भन्ने जानकारी छ ।’
कोभिशिल्डको पहिलो डोज मात्र लगाएका नागरिकहरुका लागि पनि प्रदेश सरकारको आवश्यक पहल गरिरहेको जनाएको छ । पहिलो डोजमै सिमित भएका नागरिकहरुका लागि भने कोभिशिल्डकै तत्वहरु भएको ‘स्ट्रेजेनिका’ नामक अर्को खोप आयातको तयारी भईरहेको सरकारले जनाएको छ ।