जोगवनी बसेर नेपालमा माछा तस्करी गर्ने महिला पक्राउ, ८ सय किलो माछा पनि बरामद

विराटनगर । माछा तस्करीमा संलग्न एक जना महिलासहित मोरङ प्रहरीले अवैध माछा बरामद गरेको छ । भारतको जोगवनीबाट तस्करी गरेर ल्याउँदै गरेको अवस्थामा प्रहरीले विराटनगरमा मंगलबार बिहान आठ सय किलोग्राम माछा बरामद गरेको हो ।

प्रहरीको तस्करीको माछासहित भारत अररिया जोगवनीकी ३९ वर्षीय नीलम सहनी नियन्त्रणमा लिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । पक्राउ परेका सहनीले जोगवनीमा माछाको होलसेल पसल खोलेर नेपाल तिर तस्करी गर्दै आएकी छिन् ।

उनले तस्करीको माछा विराटनगर १६ दक्षिण गेट र दरैया नाका प्रयोग गर्ने गरेको स्रोतले जानकारी दिएको छ । सीमा नाकामा माछाको पसल समेत रहेको सहनी भारतको विभिन्न प्रान्तदेखि आयत गरेको माछा भरिया प्रयोग गरि नेपाल अवैध रूपमा भित्र्याउने गरेकी थिइन् ।

मोरङ प्रहरीको सादा पोशकमा खटिएको टोलीले सहनीको माछा नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर महानगरपालिका–१५ दक्षिण गेटबाट बिहान ८ बजेतिर माछा बरामद गरेको हो । प्रहरीले तस्करीमा प्रयोग भएको को २ ह २२४९ नम्बरको अटोसिटी पनि पक्राउ गरेको छ । बरामद गरेको माछा जिल्ला प्रहरी कार्यालय मोरङको दक्षिण साइटमा रहेको खाली मैदानमा खाडल खनेर नष्ट गरेको थियो भने पक्राउ परेको सहनी र नियन्त्रणमा लिएको सिटीलाई आवश्यक कारवाहीको लागि पशु सेवा क्वारेन्टीनमा पठाएको प्रवक्ता डिएसपी श्रेष्ठले जानकारी दिए ।

पक्राउ परेकी नीलम धेरै पहिलेदेखि भारतबाट नेपालतिर माछा तस्करी गर्ने धन्दामा संलग्न रहेको प्रहरीले जनाएको छ । उनले भारतबाट तस्करी गरेर ल्याइएका माछा यसअघि पनि बारम्बार प्रहरीले विराटनगरबाट बरामद गरिसकेको छ । यसअघि तस्करीको माछा बरामद गर्दा निलमले प्रहरीले मासिक रूपमा घुस रकम माग्ने गरेको आरोप लगाएकी थिइन् । प्रहरी माथि अपशब्द र लान्छना लगाएको आरोपमा दुई वर्ष अगाडी तस्करी गर्ने सहनीसहित पाँच जनालाई प्रहरीले ‘अभद्र व्यवहार’ को मुद्दा चलाएको थियो । त्यसेबला निलम जिल्ला प्रशासन कार्यालय मोरङमा पाँच हजार रुपैयाँ धरौटि तिरेर छुटेकी थिइन् ।

मङ्गलबार, १९ साउन, २०७८, साँझको ०७:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर