विराटनगर । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको टोलीले प्रदेश नं. १ का सभामुख प्रदिपकुमार भण्डारीलाई भेटेर प्रेसमैत्री कानून निर्माण गर्न ध्यानाकर्षण गराएको छ ।
मंगलबार नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष बिपुल पोखरेलको नेतृत्वमा गएको टोलीले सभामुख भण्डारीको ध्यानाकर्षण गराएको हो ।
संघीय सरकारले सरोकारवाला पक्षसँग परामर्श नगरी कानूनको कानून बनाउने प्रयास गर्दा विवाद भएको भन्दै महासंघले प्रदेशमा त्यो अवस्था आउन नदिन आग्रह गरेको छ । सातै प्रदेशका सरकार र संसदका प्रमुखसँग भेटेर प्रेसमैत्री कानून निर्माणमा ध्यानाकर्षण गराएको महासंघले जनाएको छ ।
भेटमा सभामुख भण्डारीले संसदमा सरकारले दर्ता गराएका सबै बिधेयकहरु गहन छलफल गरेर पारित गराउने गरेको र प्रेससँग सम्बन्धित बिधेयक दर्ता भएमा पत्रकार महासंघ र सरोकारवाला निकायहरुसँग पर्याप्त अन्तरक्रिया गर्ने प्रतिबद्धता जनाउनुभयो । प्रदेशसभामा पत्रकाहरुको सहयोग सकारात्मक रहेकोले आगामी दिनमा पनि सहकार्य बलियो बनाउने उहाँको भनाइ छ ।
प्रेससँग सम्बन्धित कानूनहरु निर्माणका लागि दर्ता भएका बिधेयकमा नेपाल पत्रकार महासघसँग छलफल गरेर मात्र अगाडि बढाउन सभामुखसँग टोलीले आग्रह गरेको थियो । टोलीमा महासंघका केन्द्रीय सचिब सितल महतो र रामप्रसाद दाहाल, प्रदेश १ का अध्यक्ष बिक्रम लुईटेल, महासचिब विवेक गौतमसहितको सहभागिता थियो ।