विराटनगर । सत्ता गठबन्धनमा माधव नेपाल पक्ष सरकारमा सहभागी हुने सम्भावना बढेसँगै प्रदेश नम्बर १ बाट माओवादीका तर्फबाट संघीय मन्त्री बन्ने सम्भावना कमजोर बनेको छ ।
माओवादी र कांग्रेसको भागमा पर्ने भनिएका केही मन्त्रालय माधव नेपाल पक्षलाई दिनुपर्ने भएका कारण माओवादी नेताहरु मन्त्री बन्ने सम्भावना कमजोर बनेको हो । यो सम्भावनासँगै मन्त्री बन्ने लाइनमा लागेका प्रदेश १ का नेताहरु सुरेशकुमार राई (हिमाल), सुदन किराती (निर्माण), शिवकुमार मण्डल (सुरज) र अमनलाल मोदी निराश हुनुपर्ने देखिएको छ ।
माओवादी पार्टीका एक जना उच्चस्तरका नेताले दिएको जानकारी अनुसार माधव नेपालसमूह माओवादीको भागमा ६ वटा मन्त्रालय पर्ने सम्भावना छ । यसअघि नै अर्थमन्त्रीमा जनार्दन शर्मा (प्रभाकर) र उर्जा तथा जलस्रोतमन्त्रीमा पम्फा भुषाल नियुक्त भइसकेका छन् । अब रहेका ४ वटा मन्त्रीहरुमा मधेशबाट मातृका यादव, थारुबाट सन्तकुमार थारु र हरिशरण चौधरी, दलितबाट अन्जना विसंखे र महेश्वर गहतराजको सम्भावना छ । बाँकी रहेको १ मन्त्रालयमा शीर्षस्थ नेताको तर्फबाट देबेन्द्र पौडेललाई मन्त्री बनाउनु पर्ने बाध्यता प्रचण्डसँग रहेको स्रोतको दाबी छ ।
‘१ नम्बर प्रदेशबाट मन्त्री बन्ने सम्भावना अहिले कमजोर बनेको छ,’ ती नेताले भने, ‘माधव नेपाल पक्ष सरकारमा नगएको खण्डमा रहने १ मन्त्रालयमा सुरेश राई (हिमाल) र सुदन किरातीमध्ये एक जना पठाउने सम्भावना देखिन्छ ।’ मण्डल यसअघि आपूर्तिमन्त्री भएका थिए । उदयपुर–२ बाट निर्वाचित सुरेश राई हाल पार्टीका प्रदेश सचिव तथा केन्द्रीय सदस्य छन् । यस्तै सुदन किराती भोजपुरबाट निर्वाचित सांसद तथा केन्द्रीय सदस्य हुन् । पार्टीमा नवउदयमान युवा नेताको परिचय बनाएका सुदनलाई मन्त्री बनाउनुपर्ने पार्टीभित्रै तिब्र दबाब छ । यस्तै मोरङ क्षेत्र नम्बर ४ बाट कांग्रेस नेता महेश आचार्यलाई पराजित गर्दै निर्वाचन जितेका अमनलाल मोदी सो समुदायका चर्चित युवा नेता हुन् । उनलाई पनि मन्त्री बनाउनुपर्ने माग गर्दै सामाजिक संजाल फेसबुकमा अभियान चलिरहेको छ ।
यस्तै मधेश आन्दोलनका साथै अप्ठ्यारो अवस्थामा पनि प्रचण्डको साथमा रहेर सशक्त प्रतिवादमा उत्रिएका स्पष्ट र खरो व्यक्तित्वको रुपमा परिचय बनाएका मोरङ क्षेत्र नम्बर ५ बाट निर्वाचित पूर्वमन्त्री मण्डलको पक्षमा पनि कार्यकर्ताले मन्त्री बनाउनुपर्ने माग गर्दै उल्लेख्य माहोल बनाइरहेका छन् ।