पारस खड्काको सन्यास

सर्वाधिक सफल नेपाली खेलाडी, जसले मैदानमा इतिहास कोरे

विराटनगर । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा इतिहासकै सर्वाधिक सफल खेलाडी पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् ।

पारसले सामाजिक संजालमा संदेश राख्दै आफूले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएको सार्वजनिक गरेका हुन् । पारसले नेपाल क्रिकेट संघ ९क्यान० लाई पनि यसबारे औपचारिक रुपमा जानकारी दिइसकेका छन् । सन् २००४ मा मलेसियाविरुद्ध अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट डेब्यू गरेका पारसले २००८ देखि २०१९ सम्म कप्तानी गरेका गरेका थिए ।

नेपालका लागि झन्डै १७ वर्ष अन्तर्राष्ट्रिय क्रिकेट खेलेका उनले सफल अलराउन्डरको रुपमा आफूलाई स्थापित गरे । एसोसिएट क्रिकेटकै स्टारका रुपमा रहेका पारसले पछिल्लो समय विदेशी फ्रेन्चाइज लिगमा पनि खेलेका थिए । पारस नेपाली क्रिकेटका सर्वाधिक सफल कप्तान हुन् । उनको कप्तानीमा नेपालले पहिलो पटक २०१४ टि२० विश्वकप खेलेको थियो ।

सन् २०१८ मा नेपालले पहिलो पटक ऐतिहासिक ओडिआई मान्यता पाएको थियो । पारसको कप्तानीमा नेपालले २०१० मा पहिलो पटक डिभिजन पाँचको उपाधि जितेको थियो । उनको कप्तानीमा नेपालले डिभिजन ५ देखि ३ सम्म उपाधि जितेको छ ।

पारस ओडिआई र टि२० आई दुवैमा नेपालबाट पहिलो शतक प्रहार गर्ने खेलाडी हुन् । ओडिआईमा २०१९ मा यूएई र त्यसैवर्ष सिंगापुरविरुद्ध टि२० आईमा शतक प्रहार गरेका थिए । टि२० आईमा लक्ष्य पछ्याउँदा शतक प्रहार गर्ने उनी पहिलो कप्तान हुन् ।

पारसले नेपालबाट १० ओडिआई, ३३ टि२० आई, २ प्रथम श्रेणी, ४४ लिष्ट ए र ५६ टि२० क्रिकेट खेलेका छन् । नेपाली क्रिकेट अहिले जुन अवस्थामा छ त्यो पारसकै मुख्य योगदानको कारण हो । पारसले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिनुको मुख्य पाँच कारण यस प्रकार छन् ।

ढल्कँदो उमेर

पारसको उमेर विस्तारै ढल्किदै छ । उमेरले पारस ३४ वर्ष पुगे । कोरोनाका कारण यो वर्ष अष्ट्रेलियामा हुने भनिएको टि२० विश्वकप २०२२ मा सरेको छ । २०२२ मा हुनुपर्ने टि२० विश्वकप २०२१ मा हुँदैछ । २०२१ को विश्वकपको लागि नेपाल एसिया छनोटबाट खराब प्रदर्शन गर्दै बाहिरिएको थियो ।

वर्तमान अवस्थामा कुनैपनि खेलाडी सक्रिय रुपमा ३५–३६ वर्षको उमेरसम्म खेल्दै आएका छन् । त्यसपछि खेलाडीको उमेरको कारण फिटनेस र प्रदर्शनमा विस्तारै गिरावट आएको देखेका छौं । अर्को वर्ष ग्लोबल छनोटसम्म पारसको उमेर ३५ कट्नेछ । जसको कारण पनि पारसले सन्न्यास लिएका हुनसक्छ ।

युवा खेलाडीलाई मौका

पारसले सन्न्यास लिनुको अर्को कारण युवा खेलाडीलाई मौका दिनु हो । पारसले यो समय सन्न्यास दिँदा युवा खेलाडी २०२२ को ग्लोबल र २०२३ को एकदिवसिय विश्वकप छनोटको लागि तयार हुन्छन् । यी दुई प्रतियोगिता मुखैमा सन्न्यास लिनुभन्दा यस समयमा लिएमा युवा खेलाडीले बढी मौका पाउँछन् ।

खेलाडी एकै पटक स्टार बन्न सक्दैन । ठूला प्रतियोगतालाई खेलाडीमा खेलको अनुभव पनि धेरै हुनुपर्छ । खेलाडी जतिधेरै खेल खेल्दै जान्छन् त्यतिनै निखारिंदै जान्छन् । पारसले अहिले सन्न्यास लिँदा युवा खेलाडी तयार हुने मौका पाउँछन् ।

गत त्रिकोणात्मक टि२० आई सिरिजमा पारस विनानै नेपालले घरेलु मैदानमा नेदरल्यान्ड्स र मलेसियाविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको थियो । जसमा युवा खेलाडीको प्रदर्शन उत्कृष्ट थियो । युवा खेलाडीले नयाँ उत्साह, आशा र सम्भावना देखाएका छन् । जसको कारण पारसले अहिलेनै सन्न्यास लिन उपयुक्त ठानेका हुन् ।

क्यानसँग तितो सम्बन्ध

वर्तमान क्यानसँग पारसको सम्बन्ध राम्रो छैन । अध्यक्ष चतुरबहादुर चन्द सहित क्यानमा प्रमुख पदाधिकारीसँग पारसको बोलचाल नै छैन । क्यानको केन्द्रिय समितिमा छुम्बि लामालाई छाड्ने हो भने अन्यसँग पारसको निकै खराब सम्बन्ध छ । सम्बन्ध राम्रो नहुँदा काम गर्न कठिन प्रत्यक्ष अप्रत्यक्ष रुपमा कठिन पर्छनै ।

२०७६ असोज निर्वाचनमा चतुरबहादुर प्यानलनै विजयी भएपछि पारसले कप्तानी छाडेका थिए । आइसिसीले क्यानमाथि लगाएको निलम्बन फुकुवा भएको २४ घण्टा बित्न नपाउँदै पारसले असोज २७ मा कप्तानी पदबाट राजीनामा दिएका थिए । २०१४ देखिनै सुरु भएको आन्तरिक विवादले झन पछि झन इगो रुप लिँदा ब्रिगिएको थियो ।

आफूहरुलाई अख्तियार सम्म पुर्याएको र क्यान निलम्बन हुनु परेको भन्दै पारसप्रति त्यति राम्रो सकरात्मक नजर भने क्यानका पदाधिकारीसँग पनि छैन । पारसले मंगलबार विहान नै आफूले अब नेपालबाट नखेल्ने क्यानलाई पनि जानकारी दिइसकेका छन् । क्यानसँग बिग्रिदो सम्बन्धको कारण पारसले सन्न्यास लिन पुगेका हुन् । पारसको क्यानमा सम्बन्ध राम्रो भएको यतिचाँडो सन्न्यास भने पक्का लिने थिएनन् ।

क्यान नेतृत्वको तीव्र ईच्छा

पारस खुलेआम रुपमानै खेलाडी जीवनपछि क्यान नेतृत्वमा जाने बताउँदै आएका छन् । पारस अब खेलाडी भन्दापनि क्यान नेतृत्वको रुपमा काम गर्दै नेपाली क्रिकेट विकास गर्न चाहन्छन् । आफूहरु खेलेर मात्र क्रिकेट विकास नहुने र क्यानले पनि त्यहि अनुसार काम गर्नुपर्ने पारसले लगातार बताउँदै आएका छन् ।

क्यान पदाधिकारी बन्न जिल्ला प्रदेश हुँदै केन्द्रमा जानुपर्छ । त्यस तयारीको लागि पारसले सन्न्यास दिएका हुन् । खेलाडीसँगै क्यानको राजनीति गर्न मिल्दैन । खेलाडीबाट सन्न्यास लिएपछि उनलाई राजनीतिमा लाग्न बाटो खुल्छ । आफ्नो गुटलाई बलियो बनाउन सक्छन् ।

क्यान विधानले बाध्यता

पारसले सन्न्यास लिनुको मुख्य कारण क्यानको वर्तमान विधान हो । पारस क्यान नेतृत्वमा जान जान्छन् । त्यो सबैलाई थाहा भएको कुरा हो । तर विधान अनुसार कुनैपनि खेलाडी क्यान निर्वाचन हुँदै पदमा पुग्न सक्रिय खेलाडी जीवनबाट दुई वर्ष पहिला सन्न्यास लिई सकेको हुनुपर्छ । अर्थात खेलाडी जीवन दुई वर्षअघिनै छाडेको हुनुपर्छ ।

असोजमा क्यान नेतृत्वको दुई वर्ष पुग्दैछ । त्यसको दुई वर्षपछि पारस क्यान नेतृत्वमा आउन अहिलेनै खेलाडीबाट सन्न्यास लिइसकेको हुनुपर्छ । जसले गर्दा पारसले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका हुन् । अब पारस क्यानमा प्रवेश गर्न आफ्नो उपस्थिति बलियो बनाउन खुलेआम तयारीमा लाग्न पाउनेछन् । जिल्ला र प्रदेश क्रिकेट राजीतिमा पारस अब बढी सक्रिय हुने निश्चित छ ।

प्रदेश १ मा पारस केहि निकट छन् । अन्य प्रदेशमा ठूलो युद्धनै लड्नुपर्ने अवस्था छ । जसको कारण पारसले अहिले देखिनै तयारीमा लागेका हुन् । क्यान नेतृत्वले काम गर्न नसकेको भन्दै आलोचना खेप्दै आएको छ । यो अवस्थामा पारस नयाँ आशाका किरण जगाउन चाहन्छन् । पारस क्यानमा जादै नेपाली क्रिकेटको युद्ध स्तरमा विकास गर्न चाहन्छन् । क्यान विधानको कारण उनले सन्न्यास लिनु पर्ने बाध्यता भएको हो ।

मङ्गलबार, १९ साउन, २०७८, दिउँसोको १२:१९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर