अनन्तराज न्यौपाने
चार वर्षअघि असारे झरीका बेला स्थानीय आदर्श विद्यालयमा विराटनगर महानगरपालिकाको निर्वाचनको मतगणना भइरहेको थियो । हामी सञ्चारकर्मी, राजनीतिकर्मी, उम्मेदवार, निजामती कर्मचारी र सुरक्षाकर्मीसमेत एकै ठाउँ बसेर केही छिन गफिन्थ्यौँ, कहिले चिया पसलमा र कहिले चउरमा । त्यस्तै एकबेला महानगरको प्रमुखका उम्मेदवार भीम पराजुली साथै थिए । जमघटमा उनी पनि बारम्बार सरिक हुनेगर्थे ।
त्यहीबेला यस लेखकका मुखबाट प्वाक्क निस्कियो, ‘विराटनगरको मेयर जो–जो भए, तिनको राजनीतिक जीवन समाप्त भएको छ । राजनीतिक रूपमा फेरि उनीहरू कहिल्यै माथि उठ्न सकेनन् । यसअघिका उदाहरण हेरे हुन्छ ।’ ‘मबाट यस्तो हुँदैन दाई’, लेखकको भनाइलाई प्रतिवाद गर्दै पराजुलीले उत्तर दिए, ‘म सत्य, निष्ठा र निष्पक्षतापूर्वक काम गर्नेछु । भविष्यमा अगाडि बढ्नेछु ।’
२००८ सालमा विराटनगरका पहिलो मेयर पण्डित शोभाचन्द्र खनाल भए । त्यसपछि केशवप्रसाद कोइराला, मुन्सीकाजी भक्तबहादुर थापा, कृष्णबहादुर थापा, शान्ता पोखरेल, पण्डित शङ्करप्रसाद गौतम, भोलामान श्रेष्ठ, लीलामान डङ्गोल, रामकृष्ण भट्टराई, ध्रुवनारायण श्रेष्ठ, अशोक कोइराला, रमेशचन्द्र पौडेल हुँदै शाही कालमा प्रह्लाद साहसम्म विराटनगरका मेयर भए । तर, मेयरबाट अवकाश ग्रहण गरेपछि कसैको पनि राजनीतिक उत्थान हुन सकेन ।
मेयर पराजुलीले आफू चुनिएको एक महिनापछि पहिलो पत्रकार सम्मेलन गरे । जानेबित्तिकै उनले गरेको काम सभाकक्षको मरम्मत र जीर्णोद्धार थियो । उनले त्यही चिटिक्क पारिएको सभाकक्षमा पत्रकार सम्मेलन गरे । तर, सभाकक्ष मर्मत गर्दा आर्थिक ऐन उल्लङ्घन गरिएको थियो । काम फुटाएर कोटेसनमा दिइएको थियो । पत्रकारहरूले यसबारे प्रश्न उठाए, मेयर निरुत्तर भए । यसबारे समाचारहरू पनि आए । त्यही कार्यक्रममा उनले घोषणा गरे, ‘महानगरले सम्पादन गरेका विकास–निर्माणका कामको जानकारी दिन हरेक महिना पत्रकार सम्मेलन गरिनेछ ।’
तर, दुःखको कुरा, उनको अर्को महिना र अर्को पत्रकार सम्मेलन कहिल्यै आएन । पहिलो पत्रकार सम्मेलनमै मेयर साबले झुठ बोलेका थिए ।
मूलतः यस लेखमा चर्चा गर्न खोजिएको विषय गतहप्ता मुनालपथमा साँझ छिप्पिएपछि भएको खोप काण्ड र यसपछि प्रमुख पराजुलीले ओकलेको सफेद झुठको हो । संसारले नै लोकसमाजले भनेको कुरा पत्याउँछ र मान्छ । लोकबाट र समाजबाट कोही अलग हुन सक्दैन । मुनालपथको लोकसमाजमा त्यहाँ प्रमुख पराजुलीको उपस्थिति र संलग्नता थिएन भनेर भन्ने आज पनि कोही छैन । त्यति मात्र होइन त्यहाँ साक्षात् प्रमुख पराजुलीलाई देख्नेहरू थुप्रै छन् । उनका एक सहयोगीउपर कसैले दुव्र्यवहारसमेत गरेको छ ।
अब आज दुनियाँले एक्लो भीम पराजुली र उनका केही सीमित सहयोगीले भनेको मान्नु कि लोकसमाज र समस्त टोलबासीले भनेको कुरा पत्याउनु ? दुनियाँदारलाई सकस परेको अवस्था छ । मेयर पराजुली खोपकाण्डमा पहिलो पटक विवादमा आएका होइनन् । यसअघि पनि विराटनगरका केही अर्बपति व्यवसायीलाई मेयर साबले आफ्नै घरमा बोलाएर र केही अर्बपतिका घरमै पुगेर खोप वितरण गरेको तथ्य सार्वजनिक भएकै हो । आखिर विराटनगर भन्नु एउटा कचौराजत्रो छ । एता ट्वाङ्ग पा¥यो भने उता ट्वाङ्ग सुनिएरै छाड्छ । विराटनगरको समाजमा कसैले केही ढाँट्न सक्तैन । एक दिन झुठको पर्दा उघ्रिएरै छाड्छ । आखिर कत्रो छ र विराटनगर ?
तर, हरेक महानगरवासीलाई आफूले मत दिएर विश्वासपूर्वक जिताएका मेयर के गर्दैछन् भन्ने चासो छ र यस्तो चासो हुनु पनि पर्छ । हो– उनको प्रेम, उनको उठबस, उनको सङ्गत र उनको हिमचिम अब महानगरका मध्यम, निम्नमध्यम र निम्न स्तरका नागरिकसित छैन । अब उनी सम्भ्रान्त र धनाढ्य वर्गसितमात्र रमाउँछन् र हिमचिम जनाउँछन् । तर, जनताले त्यसको पनि हिसाब गरिरहेको हुन्छ । मेयर साब ! कसका खर्चमा आइपिएल हेर्न बारम्बार जान्छन् र कसले कोभिड कहरका बेला पनि राजस्थानको श्याम खाटु लगेको हुन्छ भन्ने हिसाब जनताले राख्छन् । र, यस्तो हिसाब राखिनु पनि पर्छ । किनकि जसरी यो सिङ्गो मुलुकका अगुवा राष्ट्रपति र प्रधानमन्त्री हुन्, त्यस्तै प्रदेशका अगुवा मुख्यमन्त्री र मन्त्रीहरू हुन्, त्यसैगरी महानगरका सरकार प्रमुख मेयर हुन् । सरकार प्रमुखका हरेक कार्यक्रम, हरेक भ्रमण र हरेक भेटघाट पारदर्शी हुनुपर्छ । तिनलाई जनतामा सुसूचित गरिनुपर्छ । झुठको खेती गर्न पाइन्न । जनताले हिसाब गरिरहेको हुन्छ ।
लेखकको विश्लेषण छ, मूलतः मुनालपथ काण्डमा परिपक्वताको कमी थियो । जाबो २०–३० जनालाई खोप हान्नु थियो भने कुनै कार्यालय, अस्पताल वा महानगरमै दिउँसो पालैपालो बोलाएर सुटुक्क दिएको भए भइहाल्थ्यो । कसैले चालै पाउँदैनथ्यो । जग हँसाउने गरी रात छिप्पिएपछि गर्नुपर्ने कर्म नै थिएन, त्यो । जे भयो भइहाल्यो । तर, भएपछि झुठको खेती गर्नु जरुरी थिएन ।
कुनै पनि शहरको मेयर बुज्रुक लाई बनाउनु पर्ने थियो तर बिराटनगर बासीको दुर्भाग्य केटाकेटीलाई मेयर बनाए ।
पिंध नभएको लोटा ।