सुन्दरहरैंचामा खोप वितरण : मनपरी गरेको गुनासो

खोप कसको योजना र डिजाइनमा वितरण भइरहेको छ ? वडाध्यक्षहरुले प्रश्न गरेका छन्

विराटनगर । कोरोना भाइरस विरुद्धको खोपको प्रतिक्षा गरिरहेका सर्वसाधारणहरुको आवश्यकता अनुरुप खोप वितरण नगरी सुन्दरहरैंचा नगरपालिकाले मनोमानी गरेको आरोप लागेको छ ।

सर्वसाधारण नागरिकले मात्र होइन नगरपालिका वडाध्यक्षहरुले नै खोप वितरण कहाँ कसरी भइरहेको छ भन्ने विषय वडाको जानकारीमा आउन छेडेको टिप्पणी गरेका हुन् । सोमबार सुन्दरहरैंचा नगरपालिका १० का वडाध्यक्ष राजेश थापाले खोप कसको योजना र डिजाइनमा वितरण भइरहेको छ भन्ने प्रश्न गरेका छन् ।

नगरपालिकाबाट जथाभावी खोप वितरण भएको सूचना उनले सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेका हुन् । उनले लेखेका छन्, ‘सुन्दरहरैंचा नगरपालिकामा खोप कसको डिजाइनमा वितरण गरिन्छ, कार्यपालिका सदस्य र वडाध्यक्षलाई थाहा हुन नहुने ?’ वडाध्यक्ष थापाको यो भनाइबाट नगरपालिकाले खोप वितरणमा सबै वडा र क्षेत्रलाई समान व्यवहार नगरेको बुझ्न सकिन्छ ।

वडाध्यक्ष थापाले खोप वितरण गर्दा वडाहरुसँग नगरपालिका र स्वास्थ्य शाखाले समन्वय नगरी मनोमानी ढंगले काम गरिरहेको बताए । ‘कुन वडामा कति खोप आवश्यक छ, कहाँ कति कसरी वितरण गर्ने भन्ने विषयमा सामान्य छलफल गर्नुपर्नेमा वडाध्यक्षहरुलाई नै सूचना नदिई काम गर्दा जनतामा आशंकाहरु भएका छन्,’ थापाले भने ।

नगरपालिकाले एकै दिन खोप सम्बन्धी थरिथरी सूचना प्रकाशन गरेर भ्रम सिर्जना गर्ने प्रयत्न समेत गरेको पाइएको छ । आइतबार नगरपालिकाले साउन २२ गते ५५ वर्षभन्दा माथिका उमेर भएका नागरिकहरुलाई जनसन एण्ड जनसनको खोप लगाइने भएकोले त्यस उमेर समूहको तथ्यांक ३ दिन भित्र तयार पारेर बुझाउन सबै वडा कार्यालयहरुलाई पत्राचार गरेको थियो । त्यस अघि उसले साउन ११ गते वडा कार्यालयहरुको नाममा पत्राचार गरी साउन १२ र १३ गते पनि ५५ वर्षभन्दा माथिल्लो उमेर समूहका व्यक्तिहरुलाई नै खोप दिने सूचना जारी गरेको थियो । पटक पटक एउटै उमेर समूहलाई लक्षित गरेर खोप अभियान चलाइनुको पछाडि कतै खोप दुरुपयोग भएको त हैन भन्ने आशंका उत्पन्न भएको बताइएको छ ।

अर्कोतर्फ नगरपालिकाले २२ गतेका लागि खोप दिनुपर्ने व्यक्तिहरुको तथ्यांक माग गर्दै पत्र पठाएकोमा साँझतिर सोमबारपनि खोप लगाउने कार्यक्रम रहेको अर्को सूचना वडाहरुलाई पठायो । वैदेशिक रोजगारीमा जानुपर्ने, अध्ययनका लागि भारत जानुपर्ने, सहकारी संस्थाहरुमा कार्यरत जनशक्तिका लागि भन्दै नगरपालिकाले वडाहरुसँग सल्लाह र समन्वय नगरी खोप लगाउने कार्यक्रम तय ग¥यो । नगरपालिकाको यो कार्यले नगर प्रमुख शिवप्रसाद ढकालले नै खोप वितरणमा मनोमानी गरेको र हरेक पटकको खोप अभियान सञ्चालन गर्दासमेत सबै जेष्ठ नागरिकले खोप पाउन नसक्ने अवस्था सिर्जना भएको आरोप स्थानीयहरुले लगाएका छन् ।

सुन्दरहरैंचाका सर्वसाधारणले सामाजिक सञ्जालहरु मार्फत पटक पटक खोप दुरुपयोग भइरहेको सूचना सार्वजनिक गरेपनि नगरको राजनीतिक नेतृत्वहरुले त्यस विषयमा गम्भीर्यता देखाएका छैनन् । त्यतिमात्र होइन वडाध्यक्ष राजेश थापाले केही दिन अगाडि सामाजिक सञ्जालमै खोपमा अनियमितता भएको भन्दै प्रश्न उठाएका थिए । उनले लेखेका थिए ‘विराटनगर महानगरपालिकामा नगर प्रमुखले आफ्ना कार्यकर्तालाई खोप घरघरमा आफैं लगाउँदैहिडेको विभिनन संचार माध्यमबाट थाहा भयो, हाम्रो सुन्दरहरैंचा नगरपालिकामा पनि यो सुविधा केही साथीहरुले निजी क्लिनिकबाट प्राप्त गर्नुभएछ, बधाई छ ।’

वडाध्यक्ष थापाले कुन क्लिनिकबाट भनेर स्पष्ट उल्लेख नगरेपनि स्थानीय ‘सीता मेडिकल हल’बाट प्रमुख ढकालको योजनामा कांग्रेस कार्यकर्ताहरुलाई खोप लगाइदिने गरेको स्थानीयहरुको दावी छ । सीता मेडिकल हल नगरपालिकाका स्वास्थ्य शाखाका इन्चार्ज माधव रेग्मीले चलाउँछन् । उनैले खोप दुरुपयोग गरेको आशंका स्थानीयहरुले गरेका छन् । वडाध्यक्ष थापाको संकेत पनि उनीसँगै भएको बुझ्न सकिन्छ ।

स्वास्थ्य शाखाका इन्चार्ज रेग्मीले भने उक्त क्लिनिक आफ्नो नभएको दावी गरेका छन् । ‘त्यो मेडिकल हल मेरो होइन स्वच्छन्द रेग्मीको हो, त्यहाँ म पार्ट टाइम काम गर्छु,’ इन्चार्ज रेग्मीले भने ‘मेडिकल हलमा खोप हुनै सक्दैन र त्यो आरोपमा कुनै सत्यता नभएकोले खण्डन गर्छु ।’ उनले सुन्दरहरैंचामा खोप दुरुपयोग नभएको दाबी गर्दै भने ‘हाम्रोमा खोप दुरुपयोग भएको छैन, तर कुन कम्पनीको कति खोप आयो र कतिलाई लगाइयो भन्ने कुरा स्टोरकिपरसँग बुझ्नु पर्छ ।’

सोमबार, १८ साउन, २०७८, साँझको ०५:०८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर