भीम आचार्यलाई प्रदेश १ को मुख्यमन्त्री बनाउने एमाले अध्यक्ष ओलीको प्रस्ताव !

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश १ को मुख्यमन्त्री बन्न भीम आचार्यलाई प्रस्ताव गरेको खुलेको छ ।

पार्टी भित्रको एकता जटिल बनिरहेका बेला ओलीले आफू सुरक्षित बन्नका लागि आचार्यलाई मुख्यमन्त्रीको प्रस्ताव गरेको स्रोतको दाबी छ । ओलीको यो प्रस्तावमा सहमति भए प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको पद धरापमा पर्ने निश्चित भएको छ ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई राष्ट्रपति विद्यादेवी भण्डारीको रोजाइमा मुख्यमन्त्री बनेको चर्चा छ । राष्ट्रपति भण्डारीको इच्छा विपरीत ओलीले आचार्यलाई मुख्यमन्त्री बनाउलान् या नबनाउलान् यो भने केही दिनमा छर्लङ्ग हुने भएको छ ।

ओलीले वागमती प्रदेशको मुख्यमन्त्री बनेर सरकार र पार्टी जोगाउन अष्टलक्ष्मी शाक्यलाई पनि प्रस्ताव गरेको बताइएको छ । त्यस्तै भीम रावललाई सुदूरपश्चिममा एमालेको सरकार बनाउने पहल थाल्न आग्रह गरेका छन् ।

नेपाल समूहमा रहेका नेता आचार्य, शाक्य र रावल केही समययता पार्टी अध्यक्ष केपी ओलीसँग नियमित संवादमा छन् । उनीहरुले आफूनिकट कतिपय जिल्ला अध्यक्ष र प्रदेशसभा सदस्यहरूलाई माधव नेपालले पार्टी विभाजन नगरी नछाड्ने संकेत देखिएको भन्दै त्यस्तो अवस्थामा एमालेमै बस्ने बताएका छन् ।

प्रदेश १ र वागमतीमा एमालेको बहुमतको सरकार छ । तर, माधव नेपाल पक्ष विभाजित हुँदा दुवै सरकार ढल्छन् । त्यसैले ओलीले माधव नेपाल पक्षकै नेताहरूलाई मुख्यमन्त्री बनाएर भए पनि पार्टी र सरकार जोगाउने रणनीति अख्तियार गरेको स्रोतले जनाएको छ ।

दुवै प्रदेशमा ओलीनिकट मुख्यमन्त्री छन् । शेरधन राई र डोरमणि पौडेलले पार्टी जोगाउने मूल्यमा जुनसुकै बेला मुख्यमन्त्री छाड्न तयार रहेको स्रोतको दावी छ । वागमतीका मुख्यमन्त्री पौडेलले त आफू पद छाडेर पार्टी जोगाउन तयार रहेको अष्टलक्ष्मी शाक्यसहितको बैठकमा बताइसकेका छन् ।

उता ओलीको कठोर आलोचक रहेकी एमाले उपाध्यक्ष शाक्य गत साता बालकोट पुगेर २ घण्टा छलफलल गरेकी छन् । ओलीले शाक्यलाई मुख्यमन्त्री बन्न प्रस्ताव गरेको तर उनले आफू अब मुख्यमन्त्री नबन्ने जवाफ दिएको बताइन्छ । भीम आचार्य र अष्टलक्ष्मी शाक्य दुवैजना संसदीय दलको चुनावमा पराजित भएपछि मुख्यमन्त्रीको दौडबाट बाहिरिएका थिए ।

– नेपालप्रेसबाट साभार

सोमबार, १८ साउन, २०७८, दिउँसोको ०४:२१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर